प्रतिक्रियावाद र अवसरवादको घाँटी जोडिएको निर्वाचन हुकुम बहादुर सिंह

246

नेपालको वर्तमान अवस्थाको संसदीय व्यवस्थाको मेरुदण्ड–नेपालको संविधान २०७२लाई कार्यान्वयन गर्ने उद्देश्यका साथ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वमा दिल्लीको पनि आशीर्वादप्राप्त नेपाली कांग्रेसको खासगरी शेरबहादुर देउवाको सरकारले यही २०७४ वैशाख ३१ गते पहिलो चरणका लागि स्थानीय निर्वाचन गर्दै छ । यो निर्वाचनले नेपालको राजनीतिक इतिहासमा अत्यन्तै महत्व राख्दछ किनभने नेपाली जनताले करीब २० वर्षपछि स्थानीय स्तरमा आ–आफ्ना प्रतिनिधि निर्वाचित गर्ने एउटा अवसर पाएका छन् । यसरी यस्तो आवधिक निर्वाचनद्वारा नेपालको सिंहदरबारमा रहेको विकास तथा अन्य सामाजिक, आर्थिक तथा राजनीतिक अधिकारलाई आ–आफ्नो गाउँटोलमै संवैधानिक रूपले नै स्थापित गर्न पाउनु अत्यन्तै सुनौलो अवसर हो । फेरि यो स्थानीय निर्वाचनद्वारा गरिने प्रतिनिधि छनोट नेपालका विगतमा निर्वाचित गरिएका स्थानीय संस्था (गाविस र नपा)भन्दा कैयौं गुणा अधिकार सम्पन्न र स्वतन्त्र छन् । फेरि यसको महत्व यस अर्थमा पनि छ कि यसले नेपालभित्रको लामो संक्रमणकालको अन्त्य गरी देशमा एउटा दीर्घकालीन स्थायित्वको परिकल्पना पनि गरेको छ ।

यसरी रूपमा यो निर्वाचनको माथि उल्लेखित अनेकौं सकारात्मक पक्षहरू हुँदाहुँदै पनि सारमा यसको मूल आधार भनेको यो संसदीय प्रजातन्त्रलाई सुदृढ गर्न ल्याइएको नेपालको संविधान २०७२ अन्तर्गतको निर्वाचन हो । अहिले उम्मेदवारी दिने क्रममा नै संसदीय प्रजातन्त्रअन्तर्गतको निर्वाचन कस्तो हुँदोरहेछ भन्ने नेपालका २०, २२ वर्ष उमेरका लाखौं युवाहरूलाई अहिलेको स्थानीय निर्वाचनले स्पष्टै देखाइदिएको छ । जनयुद्धको नेतृत्व गरेर स्वयम् त्यसैबाट त्रसित प्रचण्ड र बाबुरामहरू र जनयुद्धका कैयौं उपलब्धिहरूलाई मूल्यहीन प्रमाणित गर्न न्वारनदेखिको बल लगाइरहेका एमाले अध्यक्ष केपी ओली मात्रै नभई जनयुद्धलाई दबाउन जनयुद्ध सञ्चालन गरेका माओवादीका नेता तथा कार्यकर्ताहरूको टाउकोको मूल्य तोक्ने वर्तमान सरकारका हस्ती शेरबहादुर देउवाहरू र तत्कालीन राजतन्त्रको वर्तमानमा दलीय प्रतिनिधित्व गर्न अगाडि आएको राप्रपा आदि बीचको चुनावी तालमेल देख्दा त नेपालको राजनीतिमा यति छोटो समयमा नै यो संसदीय व्यवस्थाले राजनीतिक दलहरूको आ–आफ्नो हैसियत …‘सिद्धान्त’भन्दा सरकार र सत्ता माथि भन्ने कुराको वास्तविकता प्रमाणित गरेको छ । हुन त ‘सिद्धान्त’भन्दा सरकार र सत्ता माथि भन्ने कुराको वास्तविकता त विगतमा सरकार बनाउँदा र भत्काउँदा गरिएका गठबन्धनहरूले नै देखाएका थिए । तर यो चुनावले त यसलाई अझ छर्लङ्ग पारिदिएको छ । जनयुद्धको नेतृत्व गरेर स्वयम् त्यसैबाट त्रसित प्रचण्ड र उनको दल– नेकपा(माओवादी केन्द्र)का लागि हर हथकण्डा प्रयोग गरेर चुनावले तहसनहस पार्न थालेको उसको हैसियत जसरी पनि बचाउनु छ । यस निम्ति उसले नेपाली कांग्रेससित चुनावी तालमेल मात्रै गरेको छैन, एमाले र राप्रपासित पनि विभिन्न स्थानमा चुनावी तालमेल गरेर भावी सरकार र सत्ताको रसास्वादन गरिरहन चाहन्छ । केही ठाउँमा त कांग्रेस, एमाले र माओवादी तीनै पार्टी मिली निर्विरोध निर्वाचनको घोषणा गरी एकताको विजय जुलुससमेत निकालेको पनि देखिएको छ भने कुनै जिल्लामा त वाम तालमेलको नाममा एमालेको चुनाव चिह्नमा आफ्ना कार्यकर्ताका लागि भोट माग्दै हिँड्ने राजमोको नगरपालिका उम्मेदवार पनि भेट्टाइयो । सिद्धान्तका मामलामा कसैसित सम्झौता नगर्ने उद्घोष गरेर जिन्दगी विताएका र ‘जबज’का कट्टर आलोचक मोहविक्रम स्वयम् पनि ‘सिद्धान्त’भन्दा सरकार र सत्ता माथि भन्ने कुराको वास्तविकता प्रमाणित गरेर देखाइदिन बाध्य भएका छन्  ।

यसरी नेपालको राजनीतिमा यो निर्वाचनले नेपालको विभिन्न आन्दोलनमा सहीद भएकाहरूका लक्ष्य र उद्देश्यविरुद्ध नेपालको दशवर्षे जनयुद्ध र जनआन्दोलनहरूमा सहीद हुनबाट बचेका टाठाबाठाहरूले अहिले आएर देश र दुनियाँलाई अचम्मै पार्ने गरि आ–आफ्ना मन मिलाएका छन् । जनयुद्धको दौरानमा टाउकाको मूल्य तोक्ने र टाउको लुकाउन सफल भएकाहरूको मन मिलेको छ । जबज गीता पाठ गर्ने र नागार्जुनको चाकरी गर्नेहरूको मन मिलेको छ । नेपालको संयुक्त जनआन्दोलमा कांग्रेस र वाम तालमेलभन्दा पुष्पलाललाई गद्दार देख्ने र सिद्धान्तभन्दा अलग केही छैन र जबजका कट्टर आलोचकले त मन मात्रै मिलाएनन्, उसैको चुनाव चिह्नमा भोट माग्दै सरकार र सत्ता माथि आफ्नो उपस्थिति देखाउन ठीक ठानेका छन् । उठेपछि जे जसरी पनि चुनाव जित्नैपर्ने सपना देखेका तत्तत् दलका उम्मेदवारहरू त झन् अंकमाल नै गर्दै छन् । तर ती पार्टीका स्थानीय कार्यकर्ताको मन अझै मिल्न सकेको देखिएको भने छैन । यद्यपि उनीहरूमाथि पार्टीको अनुशासनको डण्डा बर्सिन थालेका छन् । गाईलाई भोट हाल्न ओलीको डण्डा, रुखमा भोट हाल्न प्रचण्डरूपी आदेश, जबजको चुनावचिह्न सूर्य चिह्नमा आफ्नो पार्टीका कार्यकर्ताका लागि भोट माग्ने आदि सबैको आखिर बात त कुर्सी नै रहे छ भन्ने स्पष्ट भएको छ । रुखले हसियॉ हथौडालाई भोट माग्ने, हसियॉ हथौडाले रुखलाई । सूर्यले गाईलाई  र गाइले सूर्यलाई । सूर्यले गिलासलाई आफ्नै सूर्य चिह्न दिएर समर्थन । यी सब नौटङ्की आखिर केका लागि ? नेपालको संविधान २०७२लाई कार्यान्वयन गर्ने उद्देश्य प्राप्तिका लागि जो क्रान्तिकारीहरूका लागि नेपालको वर्तमान अवस्थाको संसदीय व्यवस्थाको एउटा मेरुदण्ड हो ।

के यी सबै संयोगको कुरा मात्रै हुन त ? माओवादीभित्रका केही नेताहरू जसमा अझै क्रान्तिप्रतिको मोह छ, उनीहरू प्रचण्डलाई खुशी बनाइराख्न आफ्ना कार्यकर्तालाई यही भन्ने गर्दछन् । तर, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणमा यो कुनै संयोगवश भए गरिएको नभई वर्तमान विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा प्रतिक्रियावाद र अवसरवादका बीचमा हुने ‘सुमधुर’ सम्बन्धको एक अति आवश्यक कडी हो र नेपालमा अहिले हुन गइरहेको  यो नीर्वाचनमा भएको प्रतिक्रियावाद र अवसरवादका बीचकोे ‘सुमधुर’ सम्बन्ध हो । निर्वाचनमा भएको प्रतिक्रियावाद र अवसरवादका बीचकोे सुमधुर सम्बन्धबाट बाँकी क्रान्तिकारीले के शिक्षा लिनु आवश्यक छ भने क्रान्तिको सफलताका निम्ति वर्गदुश्मनका विरुद्ध मात्रै होइन्, त्योसित घॉटी जोड्ने अवसरवादका विरुद्ध पनि भीषण लडॉई लडनु पर्दछ । क्रान्तिलाई धोका दिएर चुनावीबाटोबाट सत्तामा पुग्ने आशामा रहेका प्रचण्ड र बाबुरामहरूका लागि यो चुनावले गतिलो झापड दिने स्पष्ट छ । क्रान्तिकारीहरू त स्पष्ट छन् कि जनताको भलो संसदीय व्यवस्था र यस अन्तर्गत गरिने कुनै पनि चुनावबाट हुन सक्दैन । क्रान्तिकारीका लागि त्यस्ता चुनावको उपयोग वा बहिष्कार दुवै क्रान्तिको हितमा गरिन्छन् नकि अवसरवादी र प्रतिक्रियावादीहरूले भने जस्तै चुनाव नै सबथोक हो, जित नै सबथोक हो भन्ने रणनीतिलाई अवलम्वन गरेर   । के चाहिँ स्पष्ट हो भने यो निर्वाचनले नेपालभित्र र बाहिरका सबै प्रतिक्रियावादीहरू र अवसरवादीहरूको घांटी जोडिदिएको छ । क्रान्तिकारीहरू र अवसरवादीहरूबीचको राजनीतिक ध्रुवीकरणलाई तेज पारेको छ ।

 

hukumsingh2012@yahoo.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here