काठमाडौं/ धादिङको खनियावास गाउँपालिका–५ का वडा अध्यक्षका उम्मेदवार रण बहादुर तामाङको छोरालाई पेस्तोलसहित पक्राउ गरेर मुद्दा चलाउन खोजेपछि एसपी शरद खत्री प्रहरी प्रधान कार्यालय तानिएका छन् । वैशाख २९ गते कांग्रेस उम्मेदवार रणबहादुरको छोरा युल छिरिङ तामाङको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङको साथमा पेस्तोल र तीन राउण्ड गोली फेला परेपछि प्रहरी उनलाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।
युल तामाङ र उनका साथी जय कुमार तामाङलाई हात हतियार खरखजाना मुद्दा चलाउने तयारी गरेपछि गृहमन्त्री विमलेन्द्र निधीको आदेशले खत्रीलाई हेड्क्वार्टर तानिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए ।
युल तामाङ पक्राउ परेपछी रातोपाटीसँग कुरा गर्दै एसपी खत्रीले उनीमाथी हातहतियार तथा खरखजाना मुद्दा चलाइने बताएका थिए ।
एसपी खत्री प्रहरी प्रधान कार्यालय तानिएसँगै कामु प्रमुख जिल्ला अधिकारी उमेश ढकालले युल तामाङलाई उन्मुक्ति दिने तयारी गरेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । सह–सचिवको दरबन्दी भएपनी उपसचिव ढकाललाई गृहमन्त्री निधीले धादिङको कामु प्रजिअ बनाएर पठाएका थिए ।
एसपी खत्रीलाई तान्नुको कारणबारे प्रतिक्रिया लिनका लागी सम्पर्क गर्दा प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल सम्पर्कमा आउन नचाहेको रातो पार्टीले जनाएको छ ।

















