ओबोर परियोजना आसियानका लागि प्रेरणादायी ः राष्ट्रपति रोड्रिगो

315

मनिला । चिनियाँ राष्ट्रपतिले हालै प्रस्ताव गरेको वान बेल्ट वान रोड (ओबोर) परियोजना दक्षिणपूर्वी राष्ट्रहरूको संगठन (आसियान) लाई निकै लाभकारी हुने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बताएका छन् ।

आसियानका सबै सदस्य राष्ट्रहरूलाई आर्थिक रूपमा एक ढिक्का हुन ओबोर नै प्रेरणाको स्रोत बन्ने उल्लेख गर्दै उनले विश्वव्यापी व्यापारिक र वाणिज्य मैदानमा प्रवेश गरी समग्र आसियान क्षेत्रले यथेष्ट उपलब्धि प्राप्त गर्ने दिशामा ओबोर नै एक मात्र माध्यम हो भन्नेमा आफू विश्वस्त रहेको समेत राष्ट्रपति रोड्रिगोको कथन छ ।

चीनको राजधानी बेइजिङमा गत १४ र १५ मेका दिन आयोजित बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (ओबोर) सम्मेलनमा सहभागी भई बेइजिङबाट स्वदेश फर्केकै दिन दक्षिणपूर्वी फिलिपिन्सको दाभाओ नगरमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति रोड्रिगोले उक्त कुरा बताएका हुन् ।

गतवर्षको जून महिनामा कार्यभार सम्हालेका राष्ट्रपति रोड्रिगोको यो दोस्रो पटकको औपचारिक चीन भ्रमण हो ।

‘ओबोरले आसियान सदस्य राष्ट्रका गार्हस्थ्य उत्पादनहरूलाई विस्तारित विश्व बजारसम्म पुग्न बाटो सहज पार्नेछ । अब आसियान राष्ट्रले आ–आफ्ना औद्योगिक उत्पादनहरू जति बढाए पनि हुन्छ, बजारको खाँचो पर्ने छैन, केबल यस परियोजनाबाट अधिकतम लाभ मात्र लिन सक्नुपर्छ । आसियानका लागि यो एक अथाह लाभकारी परियोजनाको शुरुवात हो,’ ओबोरको खुलेर प्रशंसा गर्दै राष्ट्रपति डुटेर्टेले भने ।

‘मुलुकको राजनीतिक स्थिरता, सुरक्षा र शान्ति यी तीन आधारभूत तत्वहरूको संयुक्त पीठमा मात्र समृद्धि र विकासले यात्रा गर्छ । आसियान सदस्य राष्ट्रहरूमा केही छिटपुटका घटना बाहेक राजनीतिक स्थिरता, सुरक्षा र शान्तिजस्ता प्रमुख तत्वहरू बिद्यमान रहेकै हुँदा समृद्धि र विकासको गतिलाई तीव्र पारौं, ओबोर जस्तो स्थायी र सुनौलो अवसरबाट मनग्ये लाभ उठाऔं,’ राष्ट्रपति डुटेर्टेले आह्वान गरे ।

आसियान सदस्य राष्ट्रहरूमा ब्रुनाइ, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम समेत १० वटा रहेका छन् । फिलिपिन्स आसियान बैठकको यस वर्षको अध्यक्ष राष्ट्र हो । अर्को सुखद संयोग  आफ्नो स्वतन्त्रता र स्वाधीनताको ५०औं वर्ष टेकेको उपलक्ष्यमा फिलिपिन्सले यसै वर्ष स्वतन्त्रताको स्वर्ण महोत्सव मनाउँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here