हवाई इन्धनबाट, सौर्य ऊर्जाबाट उड्ने जहाजको बारेमा त हामीले सुनेकै छौं । अब सुर्तीबाट उड्ने जहाजको पनि चर्चा आउन थालेको छ ।
हो, विश्वमा पहिलोपटक सुर्तीबाट जहाज उडाइँदै छ । वास्तवमा सुर्तीको काँचो पातबाट तयार पारिने बायोडिजेलको सहायताले हवाई जहाजको व्यावसायिक उडान भरिँदै छ । यो मामिलामा सबैभन्दा अगाडि छ दक्षिण अफ्रिकी एयरवेज । सो एयरवेजले गत वर्ष जुलाईमा परीक्षण उडानको रूपमा तीन सय यात्रु बोकेको एक जेट विमानलाई जोहानेसबर्गबाट केपटाउनसम्म १२८० किलोमिटर उडाएको थियो । उक्त विमानमा तीन सय यात्रु थिए भने विमानमा सुर्तीको बायोडिजेल प्रयोग गरिएको थियो ।
त्यहाँ सुर्तीको सोलरिस प्रजातिको बिरुवाबाट बायोडिजेल उत्पादन गर्ने गरिएको छ । यो प्रजातिमा निकोटिनको मात्रा निकै कम हुन्छ । साउथ अफ्रिकन एयरलाइन्सले यहीँ वर्षबाट टोब्याको बायोफ्यूलको प्रयोग गर्न सुरु गर्नेवाला छ । सुरुवातमा चाहिँ हवाई इन्धनमै बायोडिजेलको केही हिस्सा मिलाएर प्रयोग गरिनेछ । विस्तारै हवाई इन्धनको मात्रा कम गरी बायोडिजेलको मात्रा बढाइनेछ ।

















