स्पेन अन्तिम १६ मा पुग्याे

1

एजेन्सी । स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा पुगेको छ।

योसँगै स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको हो। लस एन्जलसमा  भएको खेलमा स्पेनले सुरुदेखि नै बल आफ्नो नियन्त्रणमा राख्दै अस्ट्रियामाथि दबाब बनाएको थियो।

पहिलो गोलका लागि भने उसले ३६ मिनेट कुर्नुपर्‍यो। मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई अग्रता दिलाए।

दोस्रो हाफमा स्पेन झन् आक्रामक देखियो। ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै अग्रता २-० बनाए।

८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३-० को सहज जित निकाल्यो। प्रतियोगितामा ओयार्जाबालको यो चौथो गोल हो।

स्पेनले पहिलो हाफमै अर्को गोल गरेको थियो। तर भिएआर जाँचपछि फाउल ठहर गर्दै गोल रद्द गरिएको थियो।

अस्ट्रियाका गोलकिपर अलेक्जान्डर श्लागरले केही उत्कृष्ट बचाउ गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। अस्ट्रियाले खेलमा केही अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।

सन् २०१० मा विश्वकप जितेपछि स्पेनले विश्वकपको नकआउट चरणमा जित निकाल्न सकेको थिएन। त्यसयता २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ र २०२२ मा अन्तिम १६ बाटै बाहिरिएको थियो। यसपटक भने उसले त्यो खराब शृंखला अन्त्य गरेको छ।

यो जितसँगै स्पेन विश्वकप २०२६ मा लगातार चार खेलसम्म गोल नखाने टोली पनि बनेको छ। अब स्पेनले क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here