छिमेकी मुलुक भारतको गुजरातमा नन्द र भाउजुबीच बिहे हुन्छ । यो भारतको अनौठो प्रथा हो । त्यहाँ बेहुला बेहुलीबीच बिहे हुनुअघि बेहुलीको बिहे बेहुलाकी बहिनीसँग गराइन्छ । बेहुलाले तबसम्म बेहुलीलाई लिएर जान पाउँदैन जबसम्म उसकी बहिनीले हुनेवाला भाउजुलाई घरधन्दा अर्थात् बुहार्तनको सबै कुरा सिकाउँदिनन् ।
यो प्रचलन एक हिसाबले वैज्ञानिक रहेछ । गाउँलेहरुका अनुसार बेहुलीको नयाँ जिन्दगी सुरु गर्न तथा नयाँ घरमा भिज्नका लागि उनका नन्दहरुको ठूलो योगदान हुन्छ ।
नन्दले नयाँ घरको बारेमा भाउजुलाई भन्नेछन् र सुरुवाती दिनमै नन्द भाउजुबीच मित्रता हुन्छ । यसले अन्ततः बेहुलीलाई कर्मघरमा निकै सजिलो हुन्छ । उनलाई लोग्नेको घरको चालचलन, संस्कार, नातागोता आदिको बारेमा बुझ्ने मौका प्राप्त हुन्छ ।
त्यस गाउँमा बिहेको दिन अर्को रोचक परम्परा पनि छ । बिहे अवधिभर बेहुलाकी बहिनीले आफ्नो शिरमा चामल भरिएको अम्खोरा राख्छिन् । यसरी चामल भरिएको अम्खोरा शिरमा राख्दा आफ्नो दाजुमाथि कुनै दुष्ट नजर नपर्ने मान्यता छ । यो गाउँमा उल्टो दाइजो प्रथा छ । दुलहीका घरवालाले होइन, दुलाहापट्टिकाले दाइजो दिनुपर्दछ ।
जनधारणा साप्ताहिक


















