हुकुमबहादुर सिंह
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रस्तावक भएर शेरबहादुर देउवा नेपालको ४०औं प्रधानमन्त्री बनेका छन् । नेपाली जनताले प्रचण्ड नेतृत्वको कांग्रेस सरकारको नौटङ्की देखिसकेका छन् र अब कांग्रेस सरकारको नेतृत्वमा प्रचण्डको सहभागिता कस्तो होला हेर्न पर्ने भएको छ । हुन त प्रचण्डले आफ्नो कार्यकाल सफल त भनेका छन् तर क्रान्तिकारी माओवादीहरूका लागि र देशभक्त तथा राष्ट्रवादी नेपालीका लागि उनको कार्यकाल एउटा बद्नामीपूर्ण भएर बित्यो भन्ने आधार उनले छाडेर गएका छन् । दशवर्षे जनयुद्धका नायक हुँ भन्नेले दिल्लीसित २५बुँदे सम्झौता गरेर एमालेका केपी ओलीलाई जनताको नजरमा देशभक्त देखाउन सफल भएका भनेछन् । साथै एमाले र उनका माओवादी जनयुद्धका सहकर्मीबाट उनलाई लम्पसारवादीको विश्लेषण पनि भिराइयो । नेपालको वैदेशिक नीतिलाई उनले २५ बुँदेमार्फत भूटानको हैसियतमा झार्ने काम गरे भन्ने आरोप पनि उनीमाथि लागेको छ । शेरबहादुरको सल्लाहमा उनले प्रहरी महानिरीक्षक नियुक्तिमा ज्यादै बद्नामी कमाए र त्यसबाट बच्नका लागि उनकै सल्लाहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका विरुद्ध महाअभियोग दर्ता पनि गराए । त्यतिले मात्रै नपुगेर उनले चितवनको भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेणू दाहाललाई मेयरको उम्मेदवार उठाएको र त्यसबापत उनले शेरबहादुरलाई काफी रकम दिएको आरोप पनि उनीमाथि लागेको छ । त्यसलाई लिएर त्यहाँ उनले नराम्रो हारबाट जोगिन जे जस्तो क्रियाकलाप गर्न लगाए, त्यसले प्रचण्डलाई जनताको नजरमा झन् बद्नाम बनाएको छ । यसरी प्रचण्डको बद्नामी गराउन शेरबहादुरको निकै ठूलो भूमिका रह्यो भन्ने स्पष्ट छ । यद्यपि प्रचण्डले ती सबैलाई अनदेखि गरिरहेका छन् र भन्दै छन्, ‘मेरो यो १० महीने कार्यकाल सफल भयो ।’
शेरबहादुर देउवा जो अहिले प्रधानमन्त्री भएका छन्, एउटा असफल र बद्नाम नेतामा उनको नाम इतिहासमा दर्ज भएको छ । विगतमा बद्नामी कमाएका केपी ओलीले अहिले प्रधानमन्त्री भएर विगतका उनका अन्तर्राष्ट्रिय दागलाई धोइपखाली गर्न केही हदसम्म सफल बनेका छन् र शेरबहादुर देउवाले पनि यो समयलाई उनका विगतका गलत (पजेरो, संसद् किनबेच, प्रजातन्त्रलाई दरबारमा लगेर बुझाउने आदि) कामबाट ओलीले जस्तै केही राम्रा काम गरेर चोखिन सक्छन् वा झन् बद्नाम हुनेछन् ? हेर्न बाँकी छ । उनी प्रधानमन्त्री भएपछि नेपालका राजनीतिक विश्लेषकहरू भन्ने गर्दछन्, शेरबहादुर विगतका माओवादी द्वन्द्वका बीजारोपक हुन् र उनका त्यो चरित्र अझै छ किनभने उनले अहिले पनि प्रचण्डमार्फत नेपाल प्रहरीमा र सर्वोच्चमा जेजस्ता गलत काम गर्न लगाए र स्वयम् उनी र प्रचण्ड दुवै बद्नाम भएका छन्, त्यसले पनि के देखाउँछ भने उनको कार्यकाल नेपालमा पुनः द्वन्द्व बढ्न जाने परिरिस्थति निर्माण त हुने छैन ? गम्भीर प्रश्न उब्जिएको छ । भ्रष्टाचार बढ्नेछ भन्नेमा आम सहमति जस्तै छ । उनको कार्यकालमा सामाजिक फासिवाद मौलाउने सम्भावना बलियो छ ।
जुन समयमा जे मन लाग्यो त्यही गर्ने बानी परेका शेरबहादुरले अब के गर्ने हुन् हेर्न धेरै समय पर्खनु पर्दैन । उनका लागि संविधान, कानुन, नीतिनियम गौण हुन जान्छ । पैसा र पद सबै भन्ने त उनले नेपालमा भित्राएको पजेरी संस्कृति अहिले पनि ताजै छ । साथै शेरबहादुरले आफूलाई दलाई लामासित एउटै सेमिनारमा फोटो खिचाएर तर त्यसबारे झुट बोलेर चीनको विश्वासपात्र बन्नबाट आफूलाई असफल गराइसकेका छन् । हेरुँ उनी कसरी अब एउटा परिपक्व नेता बन्नेछन् वा प्रचण्डलाई बद्नाम गराएर आफू बद्नामीबाट जोगिने नेता ?
तर प्रचण्डले माथि उल्लेखित अनेकौं बद्नामी कमाएता पनि उनले देश र जनताका लागि दुईटा राम्रा काम गरेर गएका छन् ः प्रथम फाष्ट ट्रयाक नेपाली सेनालाई दिएका छन् र द्वितीय चीनसित भारतको असन्तुष्टिबीच पनि वान वेल्ट वान रोडमा सम्झौता गरेका छन् । विश्लेषकहरू भन्ने गर्दछन् ः प्रचण्डले यही गरेर नै दिल्लीको आशीर्वाद शेरबहादुरतर्फ छिट्टै जान दबाब झेल्नु परेको कारण यति छिट्टै प्रधानमन्त्रीबाट राजीनामा दिए भनिएको छ । जे होस् प्रचण्डको यो कार्यकाल उनले भनेझैं देश र जनतका लागि सफल आम धारणा के छ भने सफल कम बद्नामी बढ्ता बन्न गएको छ ।













