काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले बुधबारबाट फोरजी (एलटीई) सेवा सुरु गरेको छ । काठमाडौं उपत्यकाबाट कम्पनीले सो सेवा सुरु गरेको हो । यो सेवा उपत्यकालगायत नगरकोट, बनेपा र धुलिखेलका उपभोक्ताले पनि उपभोग गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।
सो क्षेत्रमा फोरजी चल्ने नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोबाइल भएका एनसेलका सबै ग्राहकले फोरजी सेवाको लाभ लिन सक्नेछन् । प्रविधि तटस्थताको अनुमति पाएपछि कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा उपलब्ध गराउन लागेको हो ।
पुरानो सिमकार्ड भएका एनसेलका ग्राहकले फोरजी सेवा सञ्चालनका लागि एनसेल सेण्टरबाट फोरजी चल्ने सिम (युसिम)सँग निःशुल्क रूपमा साट्न सक्नेछन् । नयाँ ग्राहकले भने सोझै फोरजी सिम नै प्राप्त गर्नेछन् । प्रविधि तटस्थताका माध्यमबाट देश र जनतामा आउने बृहत् सकारात्मक प्रभावबाट आफूहरू उत्साहित भएको एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सको भनाइ छ ।
‘यसबाट डिजिटल नेपालको निर्माणको यात्रामा हामीलाई अघि बढाएको छ,’ उनले भने, ‘प्रविधि तटस्थताकाको उच्चतम सदुपयोग गर्दै डिजिटल नेपालको राष्ट्रिय लक्ष्य प्राप्त गर्न योगदान पु¥याउन हामी कटिबद्ध छांै,’ उनले भने ।
एक महीनाअघि नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रविधि तटस्थताको अनुमति पाएको एनसेलले आगामी ७ महीनासम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा पु¥याउने लक्ष्य लिएको छ । यसका लागि कम्पनीले विभिन्न ४० शहरमा फोरजी सेवा सुचारु गर्ने योजनासहित नेटवर्क परीक्षण कार्य गरिरहेको छ ।
फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा एनसेलले फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिन सम्मका लागि १ जीबी डाटा निःशुल्क पाउनेछन् । त्यसका साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिनसम्म निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन् । त्यसबाहेक कम्पनीले चाँडै नै डिभाइस सर्भिस बण्डलिङमा आकर्षक अफर तथा निःशुल्क रूपमा अनलिमिटेड फिल्ममा पहुँच दिनेजस्ता रोचक योजनासमेत ल्याउने जानकारी दिएको छ ।
हाल एनसेलले १ करोड ५० लाखभन्दा बढी ग्राहकलाई मोबाइल सेवा र ६० लाखभन्दा बढी ग्राहकलाई मोबाइल इण्टरनेट सेवा प्रदान गर्दै आएको छ । एनसेलले सन् २०१० देखि नै फोरजी÷एलटीई सञ्चालनका लागि फ्रिक्वेन्सीको माग गर्दै आएको थियो । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले भने गएको पुस १७ बाट नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ । खरीद विक्रीमा लाग्ने लाभकरमा देखिएको विवादका कारण एनसेलको फोरजी सेवा ढिलो गरी सञ्चालनमा आएको हो ।
यसैबीच, निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनी खरीदविक्रीमा लाग्ने सम्पूर्ण कर चुक्ता गरिसकेको बताएको छ ।
एनसेलले ठूला करदाता कार्यालयको निर्देशनबमोजिम आइतवार विक्रेताका तर्फबाट थप अग्रिम करबापत १३ अर्ब ६० करोड रूपैयाँ दाखिला गरेको थियो । यससँगै करको विषय टुंगिएको कम्पनीको भनाइ छ । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here