मिलेर निर्वाचनमा भाग लिऊँ, जनताबाटै जनताका शत्रुलाई समाप्त पारौँ

                                 उपेन्द्र यादव

 

अब मधेशमा निर्वाचन हुने भयो, होइन ?

हुन्छ । अब निर्वाचन कसैले चाहेर पनि रोक्न सक्दैन । कोही पनि भ्रममा नपरे हुन्छ ।

आज कता हुनुहुन्छ ?
म विराटनगरमा छु । जनता चुनावको तयारीका लागि जोडतोडले तातिरहेका छन् । मैले त देशव्यापी रुपमा उत्साह देखेको छु । धेरै राम्रो रौनक छ । जनता जागरुक छन् । जताततै निर्वाचनको माहोल बनेको छ ।

तपाईंले यसरी भनिरहँदा राजपा निर्वाचनमा भाग नलिने भयो नि ?
जनताले के भन्छन्, त्यो मुख्य कुरा हो । को आए ? को आएनन् भनेर जनतालाई सोच्ने फुर्सद छैन । केही अलमल नभएको होइन, तर एकदमै उत्साहका साथ आफ्नो जनप्रतिनिधि छान्न जनता यतिबेला लालयित छन् । जनता ज्यादै आशावान् छन् ।

संविधान संशोधन नभईकन तपाईं निर्वाचनमा जानु भनेको धोका दिनु हो रे त ? राजपाको तपाईंमाथि गम्भीर आरोप छ नि ?
जनता के भन्छन् ? जनता निर्वाचन भनिरहेका छन् । मसँग जनता हाम्रो अधिकार किन उपयोग गर्न दिँदैनन् भनिरहेका छन् नि । अर्को कुरा संशोधनको प्रक्रिया सरकारले प्रयास गरेकै हो । हामीसँग दुई तिहाइ छैन । जुन दिन दुई तिहाइ पुग्छ, त्यो दिन संशोधन गरौँला नि ।

तर स्थानीय तहको संख्या थपिएन नि ?
संविधान संशोधन र स्थानीय तहको संख्या थप्नुपर्छ भन्ने म नै हुँ । संविधान सबैले मान्य बनाउनको लागि पुनर्लेखन गर्नुपर्छ भनेर मैले भनेको हुँ । पहिलो चरणको निर्वाचनपछि संख्या थप्ने सरकारको निर्णयलाई अदालतले रोकेको छ । संशोधन अझै सम्भव छ । तर गर्न सकेको खण्डमा ।

तराईमा मोर्चाका कार्यकर्ताले तपाईंलाई कालो झण्डा देखाएका छन्, तपाईं मधेशमा नआउनुस् भनेर चुनौती दिएका छन् ?
राजपाको मुख्य क्षेत्र सर्लाहीमा छिर्न नदिने, सभा बिथोल्ने कार्यमा मोर्चा उभिएको छ । त्यहाँका जनताले निर्वाचनविरोधीलाई कुटेर लखेटेका छन् । त्यसपछि विशाल जनताको बीचमा कार्यक्रम भयो । मोर्चाका व्यापक जनलहर, जनता हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । यसलाई के भन्ने ?

उसो भए दुई नम्बर प्रदेशमा जनता मतदान गर्छन् त ?
राजपाका केही कार्यकर्ताबाहेक सबै जनता निर्वाचनमा भाग लिन्छन् । केन्द्रबाट जसलाई उचालिएको छ, त्यस्ता कार्यकर्ताबाहेक कति हाम्रो पार्टीमा आएर टिकट मागिरहेका छन्, कति काँग्रेस, एमालेतिर लागेर टिकट मागिरहेका छन् । राजपाको आन्तरिक द्वन्द्वको कलह हो । त्यसको नेतृत्वले उग्र नारा दिएर जनतालाई झुक्याउने काम गर्नुभएन नि ।

मधेश आन्दोलनका धेरै माग पूरा नहुँदै तपाईंले किन निर्वाचनमा भाग लिनु भएको त ?
आज पहिलेका कुरा स्मरण गराउन चाहन्छु । मधेशमा जनविद्रोह भइरहेको बेला हाल राजपाका वरिष्ठ नेता सत्तामा थिए । दोस्रो जनआन्दोलनका बेला राजाको मन्त्रिपरिषदमा थिए । उनीहरु जनताको आन्दोलन दबाउने काममा थिए । जनआन्दोलनको प्रतिकारमा थिए । पुरानो रायमाझी आयोग हेर्दा हुन्छ, मल्लिक आयोगको रिपोर्ट हेर्नुस् । कतिपय अपराधीहरू राजपामा छन् । तिनले आन्दोलनका कुरा गर्न मसँग कमसेकम सुहाउँदैन । मधेश विद्रोहमा ४३ जना सहिद हुँदासम्म उहाँहरू मन्त्रिमण्डलमा हुनुहुन्थ्यो । दमन गर्ने उनै थिए । मधेश आन्दोलनको रक्षा र थप अधिकारको लागि लडिरहेका छौँ । धेरै कुरा गर्न बाँकी छ । हामीले छोडेका छैनौँ ।

महन्थ ठाकुरले मधेशका जनता निर्वाचनमा भाग लिन तयार छैनन् भनेर भन्नु भएको छ नि ?
मैले अघि पनि भनेँ, उहाँकै गाउँमा जनताले कुटेर लखेटेको होइन । सभा त बिथोल्न नसक्नेले निर्वाचनलाई के बिथोल्ने कुरा गर्ने ? त्यहाँका जनता नै उहाँहरूलाई लखेट्नेमा छन् । म दुई दिन बसेँ । मोर्चाका नेताले गलत गरे भनेर भनेका छन् । प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि निर्वाचनमा जानुपर्छ भनेका छन् । यदि जनताको निर्वाचनमा नजाने भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि किन मतदान गरेको भनेर भनिरहेका छन् । सत्ताको लागि प्रधानमन्त्रीका लागि भोट हाल्न जाने ? जनताले आफ्ना प्रतिनिधि छान्नको लागि भाग लिन्छौं भन्दा लिन नदिने ? सच्चा मधेशी को हो ? यो दोधारे चरित्र किन भनेर जनताले सोधेको बेला उनीहरू उत्तर दिनसक्छन् ?

मधेश आन्दोलनको उपलब्धि निर्वाचन मात्रै हो त ?
यतिमात्रै होइन । लोकतन्त्र हो । गणतन्त्र हो । निर्वाचनको माध्यमबाट अधिकारको अनुभूति गर्ने यही निर्वाचन हो ।

तपाईं त संविधान नमानेको नेता हो नि ?
म त अहिले पनि मान्दिनँ ।

संविधान नमान्ने तर निर्वाचनमा जाने, यो त अलिक नमिलेजस्तो भएन ?
म निरन्तर भनिरहेको छु । संविधानको स्वीकार्यता बढाउँ भनेर । यो भएन भनेर । जति प्राप्त छ नि त्यो आजसम्मको जनताको उपलब्धि हो । यति सकियो भनेर निर्वाचनमा जाने भनेको हुँ । एकैचोटि सबै पाइएन त के गर्नु ? बाँकी अधिकारको लागि जिन्दगीभर लडिरहने छु । स्थानीय तहको निर्वाचन मात्रै संविधानको कार्यान्वयन होइन । अर्को कुरा, मैले जुनबेला त्यो भनेको थिएँ, त्यो बेला संसद्मा विधेयक पेश गरिएको थिएन । आज भएको छ । त्यसलाई पास गर्न भूमिका खेल्नुपर्छ । बहुमत जुटाएर पारित गर्नुपर्ने हुन्छ । त्यो अहिले हामीसँग नभएको स्थिति जो छ, त्यसलाई बुझ्न्प¥यो नि । अहिले संशोधन मधेशका मुद्दाहरूलाई राजपाका नेताहरूलाई धेरै नै काँटछाँट गरेर अघि बढाएका छन् । हामीले अलग विधेयक पेश गरेका छौं । हामीले राज्य पुनःसंरचना हुनुपर्छ भनेका छौँ । हामीले बहुभाषिक नीति भनेका थियाँै । उहाँहरुले भाषा आयोगमा लिएर छोड्नु भएको छ । आयोगले सुझाव दिएर मधेशले के पाउने हो ? त्यसैले अहिलेको विधेयक अधुरो छ । वैशाख ९ गते उहाँले सम्झौता गर्नुभयो । यसरी हेर्दा उहाँहरुले आन्दोलन स्थगित गर्नुभएको हो । एकै चरणको निर्वाचनलाई दुई चरणमा सार्नुपर्छ भन्ने पनि उहाँहरु नै हो । मनोनयन दर्ताको समय र मिति किन सार्न लगाउनु भएको हो ? निर्वाचन आयोगमा गएपछि दल दर्ता भएन । चुनाव चिह्न छाता भन्नुभयो, अर्काको चुनाव चिह्न छाता उहाँहरुले मागेर मिल्छ ? यति नपाएपछि क्रान्तिकारी पल्टेर कसैले मान्छ ?

त्यसो भए निर्वाचन जसरी भए पनि हुन्छ ?
अरे जनताको चाहना र आवश्यकता के हो ? त्यो बुझ्नुपर्छ । जनताको विरुद्धमा कसैले जानु हुँदैन । मेरो त आग्रह छ मिलेर निर्वाचनमा भाग लिऊँ । जनताबाटै जनताका शत्रुलाई समाप्त पारौँ । त्यसपछि हामीले भनेको पाइन्छ । बाँकी अधिकार प्राप्तका लागि लडिरहनुपर्छ ।

तपाईंको पार्टीले सबै जिल्लामा उम्मेदवारी छनोट गर्नुभयो ?
प्रायः जिल्लामा सकियो, केहीमा बाँकी छ । तत्काल त्यो पनि पूरा हुन्छ ।
–प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here