विदेशीका लागि नेपाली भूमि असुरक्षित !

212

               -निमकान्त पाण्डे

नेपालबाट हराएका पाकिस्तानी पूर्वसैनिकको अवस्था अझै किन अज्ञात ?

नेपालबाट हराएका पाकिस्तानी पूर्वसैनिक मोहम्मद हबिब जहिरको अवस्था अझै किन अज्ञात ?

गत वर्षको चैत २५ गते नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी विमानस्थलबाट एक पाकिस्तानी पूर्वलेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जहिर गायब भए । उनी हराएको डेढ महिना बितिसक्दा पनि उनको अवस्था के छ भन्ने कुरा अहिलेसम्म कुनै जानकारी सार्वजनिक हुन सकेको छैन । तर, उनी हराउनेबित्तिकै पाकिस्तानको रक्षा मन्त्रालयले हबिबलाई भारतले अपहरण गरेको दाबी गरेको छ । यता, भारतले भने आफूले हबिबबारे केही थाहा नपाएको जनाएको छ । आखिर के हो त यस घटनाको पहेली ?
को हुन् मोहम्मद हबिब ?
मोहम्मद हबीब जाहिर पाकिस्तानी पूर्वलेफ्टिनेन्ट कर्णेल हुन् । उनले सन् २०१४ मा पाकिस्तानी सैनिकबाट अवकाश पाएका थिए । पाकिस्तानी रक्षा मन्त्रालयका अनुसार केही समयअघि उनले अनलाइनमा आफ्नो बायोडाटा पोस्ट गरेका थिए । उनलाई ब्रिटेनको मोबाइल नम्बर र एक वेबसाइटबाट सम्पर्क भएको तथा उक्त वेबसाइट भारतमा होस्ट गरिएको पाइएको पनि पाकिस्तानी रक्षा मन्त्रालयको दाबी छ ।
उनलाई प्रतिमहिना ३ हजार ५ सयदेखि ८ हजार ५ सय अमेरिकी डलर पारिश्रमिकको प्रस्ताव गरी ६ अप्रिल, २०१७ मा काठमाडौंमा अन्तरवार्ताका लागि बोलाइएको पनि पाकिस्तानी रक्षा मन्त्रालयले जनाएको छ । ओमान हुँदै ६ अप्रिलमा ओमान एअरलाइन्सबाट काठमाडौं आएका उनी सोही दिन बुद्ध एयरबाट लुम्बिनी पुगेको जनाइएको छ । लुम्बिनी पुगेर उनले पछिल्लो पटक आफ्नी पत्नीसँग कुरा गरेको पनि पाकिस्तानी रक्षा मन्त्रालयको दाबी छ । त्यसपछि उनको मोबाइल नम्बर लगातार स्वीच अफ भएको थियो ।

पाकिस्तानले भारतलाई किन लगायो अपहरणको आरोप ?
रिटायर्ड भारतीय जलसैनिक कुलभूषण जाधवलाई पाकिस्तानमा समात्ने टोलीमा पाकिस्तानी सैनिक मोहम्मद पनि सामेल थिए । पाकिस्तानी सेनाले जाधवलाई पाकिस्ताको बलुचिस्तानबाट पक्राउ गरेको थियो । जाधवले सो क्षेत्रमा रहेर आतंकवादी गतिविधिलाई बढावा दिएको भन्दै पाकिस्तानले समातेको हो । जाधव पक्राउ परेको विषयलाई लिएर भारतीय पक्षले गम्भीर असहमति जाहेर गर्दै आएको थियो । भारतले जाधवले आतंकवादी गतिविधिलाई बढावा नदिएको दाबी गर्दै आएको छ ।
यता, पाकिस्तानले भने भारतले बदलाको भावनाबाट आफ्नो सैनिकलाई अपहरण गरेको आरोप लगाएको छ । पाकिस्तानले भारतीय गुप्तचर संस्था ‘रअ’ले नै हबिबलाई अपहरण गरेको दाबी गरेको छ । हबिब बेपत्ता भएको दोस्रो दिन पाकिस्तानको सैनिक अदालतले जाधवलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
भारतीय मिडियाका अनुसार आफ्नो सैनिक अधिकृत हराएका कारणले उनी हराएको दुई दिनभित्रै पाकिस्तानले हतारमा जाधवलाई मृत्युदण्ड सुनाएको हो । तर, पाकिस्तानी मिडियाले भने भारतले सो मृत्युदण्डको सम्भावना देखेका कारणले नै पाकिस्तानी उच्च सैनिक अधिकृतलाई अपहरण गरेको आरोप लगाएका छन् ।

भारत–पाकिस्तानको द्वन्द्वको अर्को रुप
दक्षिण एशियामा पर्ने छिमेकी राष्ट्रहरु भारत र पाकिस्तानको विगतदेखि नै सम्बन्ध सुमधुर छैन । समयसमयमा यी दुई देशको सिमानामा हिंसात्मक झडपहरु हुने गरेका छन् । एकअर्कोको देशमा आतंकवादी गतिविधिलाई बढाउन भूमिका खेलेको भन्दै दुवै देश आरोपप्रत्यारोपमा उत्रने गरेका छन् । भारत–पाकिस्तानको विवाद संयुक्त राष्ट्र संघसम्म पुग्ने गरेको छ । यी दुई देशबीच काश्मिरका लागि विवाद हुँदै आएको त ससारलाई थाहा नै छ, तर पछिल्लो समय विवादको अर्को रुपमा आफ्ना सैनिकको पक्राउको विषय बनेको छ ।
पाकिस्तानमा भारतीय नौसैनिक जाधव पक्राउ पर्नु र यता नेपालबाट पाकिस्तानी पूर्वसैनिक हबिब हराएको कुरा दुवै देशले प्रतिष्ठाको विषय बनाएका छन् । दुवै देशका मिडिया पनि यो विवादमा सामेल भएका छन् । भारत–पाकिस्तानको द्वन्द्वकै कारण यस क्षेत्रमा पटकपटक तनाव हुँदै आएको छ । दक्षिण एशियाका राष्ट्र मिलेर बनेको दक्षिण एशियाली सहयोग संगठन (सार्क) ले पनि यो विषयमा समाधान निकाल्न कुनै पहल थालेको छैन । अझ यी दुई देशकै विवादका कारण सार्कको बैठक पनि अवरुद्ध हुँदै आएको छ । हालै मात्र पाकिस्तानमा हुने निर्धारण गरिएको सार्क सम्मेलन पनि भारतको बहिष्कारकै कारण स्थगित भएको छ ।

हबिबको बारेमा पत्ता लगाउन के गर्दै छ नेपाल प्रहरी ?
पाकिस्तानी पूर्वसैनिक हबिब हराएको विषयमा नेपाल प्रहरी नै अन्योलमा रहेको देखिएको छ । साथै, प्रहरीले यस घटनामा कुनै कारबाही प्रक्रिया अघि नबढाएको देखिन्छ । नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालसँग उक्त घटनाको छानबिनबारे जिज्ञासा राख्दा उनले सो घटनाबारे रुपन्देही प्रहरीले हेरिरहेको जानकारी दिए । रुपन्देही प्रहरी प्रमुखलाई सोध्दा उनले अञ्चल प्रहरी प्रमुखलाई थाहा हुने जनाए । अञ्चल प्रहरी प्रमुख एसएसपी दीपककुमार थापाले उक्त विषयबारे प्रहरी विशेष ब्युरो प्रमुख डीआईजी हेमन्त पाललाई थाहा हुने उल्लेख गरे । डीआईजी पालसँग यसबारेमा बुझ्दा उनले आफ्नो ब्युरोले आतंकवादसम्बन्धी विषय मात्र हेर्ने, मान्छे हराएको विषयमा जिल्ला प्रहरीसँग नै बुझ्नुपर्ने जनाए ।

नेपालको कूटनीतिक अक्षमता
नेपालको भूमिबाट कुनै पनि विदेशी नागरिक हराउनु नेपालको सुरक्षा व्यवस्थालाई ठूलो चुनौती हो । नेपालको भूमिबाट पटकपटक विदेशी नागरिक हराउने गरेका छन् । तर, तिनीहरुको अवस्था पत्ता लगाउन नेपाली पक्षले त्यति चासो नदिएको देखिन्छ । सिमाना जोडिएको भारत र अर्को छिमेकी राष्ट्र पाकिस्तानको विवादमा नेपालले सधैं नै तटस्थताको नीति अँगालेको छ । तर, त्यो व्यवहारमा कार्यान्वयन गर्न भने नेपालले कमजोरी देखाउँदै आएको छ । आफ्नो भूमिबाट हराएको विदेशी नागरिकको अवस्था पत्ता लगाउन नेपालले चासो देखाउनुपर्ने हो, तर त्यस मामिलामा नेपाल चुक्दै आएको छ ।
पाकिस्तानी पूर्वसैनिक नेपालबाट हराउनु र नेपाली सुरक्षा संयन्त्रले उक्त घटनाप्रति लापरबाही देखाउनु नेपालको कूटनीतिक अक्षमता हो वा कसैको दवावको प्रभाव हो ? पछि रहश्य खुल्दै जाला नै । परन्तु यी दुई देशको द्वन्द्व बढाउन नेपालको भूमि प्रयोग हुनु दुर्भाग्यपूर्ण हो । छिमेकी देशहरुका विभिन्न आतंकवादी संघसंगठन तथा जासुसी संस्थाले आफ्नो उद्देश्यमा सफल हुन नेपालको भूमि प्रयोग गर्नु भनेको चिन्ताजनक अवस्था हो । आखिर किन सरकार यस विषयमा गम्भीर हुन सकेको छैन ? कुनै पनि मुलुकबीच द्वन्द्वका लागि नेपालको भूमि प्रयोग हुनु भनेको अन्तर्राष्ट्रिय रुपमा नै नेपालका लागि लज्जाजनक हो । यस्तो अवस्थाले नेपालको सार्वभौमसत्ता नै खतरामा पर्ने सम्भावना छ ।

नेपाल र नेपालीप्रति खतराको घण्टी
भारत र पाकिस्तानको यो लडाइँमा नेपाली भूमि प्रयोग भएबाट नेपाल पनि द्धन्दमा मुछिएको स्पस्टै भएको छ । नेपालबाट पाकिस्तानी पूर्वसैनिक हराउनु र उनको अवस्था अझैसम्म पत्ता नलाग्नुले नेपालको कूटनीतिक अक्षमतालाई उजागर गरेको सुरक्षाविद्हरु स्वीकार्दछन् । पाकिस्तानले हबिबलाई भारतले अपहरण गरेको आरोप लगाउँदै गर्दा यदि त्यो भोलि सत्य ठहर भएमा भारतले हबिबलाई आफ्नै भूमिबाट पक्राउ गरेको दाबी गर्न सक्छ । यस्तो अवस्थामा नेपालले आफ्नो भनाइ राख्ने सन्दर्भमा ठूलो दबाब आउन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
छिमेकी दुई देशबीचको लडाइँमा नेपालले आफ्नो भनाइ स्पष्टसाथ राख्न नसक्ने हो र यस्तै उदासीनता देखाउने हो भने नेपाल र नेपालीमाथि कुनै पनि नराम्रो घटना घट्न सक्छ । उदाहरणका लागि केही समयअघि मात्र अफगानिस्तानमा आतंकवादी संगठन तालिबानले नेपालीमाथि गरेको हमलालाई सम्झन सकिन्छ । अफगानिस्तानको युद्धसँग कुनै सम्बन्ध नरहे पनि निर्दोष नेपालीले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै यस घटनामा पनि नेपालले आफ्नो कूटनीतिक परिपक्वता नदेखाउने हो भने विभिन्न देशमा रहेका नेपालीमाथि कुनै संकट नआउला भन्न सकिन्न । अझ इस्लास्मिक आतंकवादी संगठनबाट नेपाल ‘डेञ्जर जोन’ मा रहेको पनि सुरक्षाविद्हरुको भनाइ छ ।

नेपालले आफ्नो भूमिका प्रष्ट पार्न जरुरी
नेपाल एक तटस्थ नीति अँगालेको राष्ट्र हो भन्ने व्यवहारमा नै देखाउन नेपालले कूटनीतिक परिपक्वता देखाउन जरुरी छ । त्यसका लागि सर्वप्रथम त नेपालभित्र आउने हरेक राष्ट्रका नागरिक सुरक्षित रहेको पुष्टि गर्न शान्तिसुरक्षाको अवस्थामा तत्कालै सुधार गर्नु आवश्यक छ । त्यस्तै, नेपालको भूमिलाई आतंकवाद र अवाञ्छित क्रियाकलापका लागि प्रयोग हुनबाट मुक्त पार्न पनि त्यत्तिकै आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here