मदनकृष्ण र यशोदाको सफल जोडी

430

भनिन्छ, जीवन सुखदुःखको संगम हो । जीवनमा सुखका पल पनि आउँछन् अनि दुःखका क्षण पनि । त्यही सुखका पल साट्न र दुःखका क्षण सामना गर्न सम्बन्धहरु बनेका हुन्छन् । ती सम्बन्धहरुमा पनि सबैभन्दा माथिको सम्बन्ध हो जीवनसाथीको सम्बन्ध । कुनै एउटा दम्पतीको जीवन तबमात्र सफल हुन्छ, जब सम्बन्धमा विश्वास, समझदारी र सहयोग रहन्छ । त्यस्तै गुणहरुले गर्दा सफल बनेको एउटा जोडी कलाकार मदनकृष्ण श्रेष्ठ र उहाँकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको हो ।
नेपालको हास्यव्यंग्य क्षेत्रका अत्यन्त चर्चित र सम्माननीय नाम हो मदनकृष्ण । हास्य कलाकारको हिसाबले हामी सोच्छौं उहाँको जीवन त सधैं खुशीयाली नै होला । तर, जीवन न हो यहाँ सबै प्रकारका भाव छन् र त्यही भावमय जीवन आफ्नो जीवनसंगिनीसँग बिताउँदै छन् मदनकृष्ण । उहाँकी श्रीमतीलाई केही समयअघि क्यान्सरको लक्षण देखियो । तर, उहाँको साथ र मायाका कारण क्यान्सर जस्तो रोग पनि पराजित बनेको छ ।


एकअर्कासँग जोडिएको जीवनको ४३औं वसन्त पार गरिसकेको यो जोडीले अन्तरजातीय प्रेमविवाह गरेको थियो । नेवार परिवारका मदनकृष्णले बाहुन जातकी यशोदा सुवेदीसँग प्रेम विवाह गर्नुभयो । विवाहको क्षण सम्झँदै उहाँ भन्नुहुन्छ, ‘मेरो परिवार विवाहका लागि राजी थिएन । त्यसैले मैले कसैलाई थाहा पनि दिएको थिइनँ । त्यो समयमा विवाहको सामान किन्न म असनमा थिएँ । त्यहीबेला मेरो फुपुको छोरा दाइ त्यही भेट भयो । उहाँले केको किनमेल भन्नुभयो । मैले ढाँटेर भोलि अफिसबाट पिकनिकका लागि गोदावरी जाने भनिएको छ । त्यसैको तयारीका लागि किनमेल गर्न आएका भनेँ । उनले भने, ‘मलाई सबै थाहा छ । पिकनिक होइन । तिमीले विवाहका लागि सामान किन्दै छौ । घरमा बुबालाई पनि यो कुरा थाहा भइसक्यो । दाइको कुरा सुनेर म कालोनिलो भएँ । मेरो अनुहारको रंग उड्यो । कपडा लिन घर जानुपर्ने थियो तर म जान पाइनँ । त्यो बेलामा तुरुन्तै कपडा किन्न वा सिलाउन सकिँदैनथ्यो । त्यसैले एउटा साथीको सर्ट अर्को साथीको टाइ लगाएर सूर्यविनायकमा गएर विवाह गरेँ ।’
विवाह गरिसकेपछि भने केही महिनाको अन्तरालमा घरमा बुबाले बोलाउनुभयो । ससुरालीतर्फ भने त्यसको ३ वर्षपछि मात्र बोलाएको उहाँले बताउनुभयो । वैवाहिक जीवनमा कहिलेकाहीँ पतिपत्नीबीच सामान्य मनमुटाव जसको पनि हुनसक्ने उहाँहरु बताउनुहुन्छ । तर, बोलचालै नहुने गरी मनमुटाव भने कहिले पनि नभएको यो जोडीको भनाइ छ । एक पटक अरुको श्रीमान्श्रीमती झगडा गरेर नबोलेको सुनेपछि कस्तो होला भनेर यो दम्पतीले पनि ३ दिन नबोल्ने निर्णय ग¥यो । त्यो क्षण सम्झँदै मदनकृष्ण भन्छन्, ‘हामीले पनि कस्तो होला भनेर फुर्किएर नबोल्ने निर्णय ग¥यौं । तर साह्रै गाह्रो भयो त्यो ३ दिन । एक अर्कालाई हेर्छौं, बोल्न मिलेको छैन । कहिले बोलौं जस्तो हुने । उकुसमुकुस हुने । हासे पनि लुकेर हाँस्ने । आँखामा आँशु आउने । अनि ३ दिन भएपछि त अब सधैं बोल्ने भनेर बोल्यौं ।’
एकअर्काको आनीबानीप्रति कहिले पनि दुवै जनालाई गुनासो नरहेको यो दम्पतीले बतायो । मदनकृष्णले भने, ‘शंका गर्नुपर्ने कुरा खासै केही पनि थिएन । म सानैदेखि आध्यात्मिक थिएँ । जीवनलाई शालीन ढंगले जिउनुपर्छ भन्ने ठान्थे । साथीहरु पनि त्यस्ता थिएनन् । एकअर्कालाई शंका गर्नुपर्ने अविश्वास गर्नुपर्ने अवस्था कहिल्यै आएन । जाँडरक्सी पिउने बानी पनि भएन । बरु कहिलेकाहीँ पिइदिए हुन्थ्यो जस्तो पो लाग्दो रहेछ उनलाई ।’
यस दम्पतीको एक छोरा र एक छोरी छन् । छोरा अहिले नेपालमा हुनुहुन्छ भने छोरी अमेरिकामा रहेको र केही समयपछि नेपाल फर्किने मनदकृष्णले बताउनुभयो । जीवनलाई जटिल होइन, सरलताका साथ बिताउनुपर्ने यो जोडीको बुझाइ छ ।
अहिले वैवाहिक जीवनमा छोटो समयमा नै फाटो आउने गरेको छ । त्यस्तो हुनुमा एकअर्कासँगको असमझदारी नै प्रमुख कारण हो भन्ने यो दम्पतीको बुझाइ छ । त्यसकारण एकअर्कालाई विश्वास गरेर अघि बढ्न सके दम्पतीको सम्बन्ध सफल हुनसक्ने उहाँहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here