अब प्रहरी प्रशासनमा हुकुमवाद चल्न पाउने छैन

349

मेरो काममा अवरोध गर्ने कसैलाई पनि बाँकी राख्दिन

जनार्दन शर्मा गृहमन्त्री   ‘मेरो काममा दवाव आयो भने मैले जानेको छु’ 

शेर बहादुर देउवाको नेतृत्वले तिनवटै तहको निर्वाचन गर्न सक्छ ?

यस्तो कुनै प्रश्न नगर्दा हुन्छ । दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएको छ । बाँकी निर्वाचनहरू सम्पन्न हुने कुरामा दुईमत छैन । चुनाव गराउन बिल्कुल सम्भव छ, प्रधानमन्त्री देउवासँग टिम छ, टिमको सहयोगबाट उहाँले चुनाव गराउन अवश्य सक्नुहुन्छ । आगामी मंसिरभित्र सबै निकायको निर्वाचन गर्ने तयारीमा सरकार अग्रसर भएर लागिरहेको कुरा तपाईको सञ्चारमाध्यममार्फत जानकारी गराउन चाहन्छु ।

संविधान कार्यान्वयनको लागि लागि परेको भन्नु हुन्छ तर मधेशवादी दलहरूलाई सँगै निर्वाचनमा लिएर जानसक्नु भएन नि ?
तपाईले मधेसवादी दलहरू भनेर भन्नुभएको राजपालाई होला ! तपाईले देख्नुभएकै छ राजपा पनि निर्वाचनको मैदानमा छ । राजपाका कैयौ नेताहरू स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा उत्रिनुभएको छ । त्यसैले स्थानीय तहको चुनावमा राजपाको सहभागिता छैन भन्न मिल्दैन । राजपाका नेताहरूकै इच्छा बमोजिम सरकारले तेस्रो चरणको निर्वाचनको मिति सार्वजनिक गरेको हो । तेस्रो चरणको पनि सार्वजनिक भइसकेको छ। यसमा पनि उहाँहरूको सहमतिबाटै समझदारी भएको हो ।

त्यसो भए अब संविधान संशोधन हुन्छ ?
मैले भन्दाखेरी संशोधन नै हुन्छ भन्नु ठीक नहोला, संशोधनका लागि हाम्रो तर्पmबाट प्रयत्न अवश्य हुन्छ । प्रतिपक्षलाई पनि मनाउनुपर्ने अवस्था छ । हामी प्रयास गर्छौं । सरकार निरन्तर प्रयत्नशील छ ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा केही फरक पाउनुभयो ?
सुरक्षाका दृष्टिकोणले अवश्य फरक भयो । पहिलो निर्वाचनबाट केही सिक्दै फरक स्थितिमा निर्वाचन गर्नुपर्ने भएका कारण अवश्य फरक रह्यो भन्न सकिन्छ । हामीले सुरक्षा व्यवस्था पनि फरक तरिकाले व्यवस्थित गरेका छौं । पहिलो चरणको निर्वाचन र दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था पनि फरक छ ।

नेपाली सेनाको स्थान कस्तो रह्यो ?
सरकारले दिएको जिम्मेवारीअनुसार नेपाली सेना बाहिरी घेरामा रहेर निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने काममा खटेको हो । सेनाको स्थान महत्वपूर्ण सुरक्षा शक्तिको रूपमा रहेको छ ।

नेपाल प्रहरीलाई परिस्कृत गर्नेभन्दै केही महत्वकांक्षी योजना अघि सार्नु भएको छ, अब कस्तो बन्छ प्रहरी प्रशासन ?
नेपाल प्रहरीभित्र सिपाही, हवल्दार र तल्लो स्तरका अफिसरहरूलाई कार्यबोझ भएको र त्यसमा पनि सेवासुविधा कम भएको स्थिति छ । उनीहरूको मनोबल कसरी बढाउन सकिन्छ भन्नेमा हामी गम्भीर छौँ । सिपाहीहरूमा आएको निराशालाई उत्साहमा परिणत गर्नका लागि प्रयास गर्दैछु । सेवा सुविधा र उत्साहका साथ प्रहरी निकायलाई जनताको भलाइमा समर्पित गर्न जागरुक गराउने र उपल्लो निकायमा भएको गुटगत क्रियाकलापलाई निरुत्साहित पार्ने योजनामा म क्रियाशील छु । प्रहरीमा राजनीतिकरण भएको देखेको छु, त्यसको अन्त्य गर्ने, अपराधलाई अन्त्य गर्ने र जनताको सुरक्षा दिने वातावरण मिलाउनु मेरो पहिलो प्रयत्न हुनेछ । यस्ता प्रयत्नहरू कत्तिको सफल हुन्छन् त्यो फरक पाटो हो, जहाँसम्म मेरो कार्यकालको सवाल छ, म इमान्दार भएर काम गर्नेछु ।

प्रहरीको सरुवा बढुवामा मनोमानी हुँदैन त अब ?
नेपाली जनताका कोही छोरा छन्, कोही छोरी छन्, कोही काका छन्, कोही भतिजा होलान् । त्यसको आधारमा केही दवाव आउलान् । तर त्यसको कानुनी उपचार हुने तरिकाले म अघि बढ्ने छु । विधिवत व्यवस्था कानुन हो, कानुन बनाइयो भने नेपाल प्रहरीमा मात्र होइन कुनै पनि ठाउँमा सोर्सफोर्स लाग्दैन । अन्याय परें भन्ने कसैलाई लाग्यो भने कानुनी उपचार खोज्न पाउने बाटो खुला रहने छ । अब प्रहरी प्रशासनमा हुकुमवाद चल्न पाउने छैन । गृह प्रशासनको गरिमा पनि अवश्य स्वच्छ हुनेछ ।

सबैभन्दा भ्रष्ट प्रशासन भनेको प्रहरी प्रशासन हो भन्छन्, अहिले पनि धेरै पूर्व हाकिमहरू जेलमा परेका छन् नि ?
अब यस्तो हुँदैन । पारदर्शी तरिकाले काम हुन्छ । म यसमा पूर्ण सजग छु ।

जसले गल्ती गर्छन् त्यस्ता व्यक्ति कारबाहीमा पर्छन् हैन र ?
जरुर । तर गल्ती नै गर्दैनन् भने किन कारबाही गर्नु ? मलाई विश्वास छ अब प्रहरीबाट त्यो खालको गल्ती हुन पाउने छैन ।

सशस्त्र प्रहरी र गुप्तचर निकायलाई प्रभावकारी बनाउने योजना अघि सार्नु भएको छ नि ?
हो, मैले थालेको छु । सम्भव देखेरै थालेको छु । सुधार नगरेर राज्यले सकारात्मक बाटो लिदैन । सुधार गरेरै अघि जाने हो । सबै सुरक्षा निकायलाई सुधार गर्न जरुरी छ ।

जनार्दन शर्मा मुलुकको काम गर्ने व्यक्ति हो, कुनै पनि दवावमा नपरी काम गर्न सक्छ भन्ने जनतालाई विश्वास दिलाउन तपाई सक्नुहुन्छ ?
म त्यही प्रयत्नमा छु, म कसैको दवावमा परेर काम गर्दिन । आफ्नो मुलुकको शान्ति, स्थायित्व र विकासको काममा लागेको व्यक्तिलाई जनताले विश्वास गर्नु स्वाभाविक हुन्छ । प्रधानमन्त्रीले पनि त्यस्तो व्यक्तिलाई सहयोग गर्न सजिलो हुन्छ । प्रधानमन्त्रीलाई सफल बनाउनको लागि र जनतालाई केही राहत उपलब्ध गराउन कटिबद्ध भएर लाग्ने हो भने देशमा परिवर्तन भएको महसुस जनताले गर्नेछन् । म एक सिपाई हुँ । मैले मुलुकको भलाइको लागि ड्युटी गरिरहेको छु । सबैले सहयोग गर्नुहुनेछ । कतैबाट मेरो काममा बाधा अवरोध गरेको खण्डमा म त्यसको उपचार मैले खोज्नैपर्छ । जनताले सही र गलत छुट्याउन सक्छन् ।

सुधारका कार्यक्रम लागु गर्न कति समय लाग्छ ?
मसँग त्यस्तो कुनै जादुको छडि छैन् । धेरै सुधार गर्नुछ । महत्वपूर्ण सुधारका योजना अहिले अघि सारेको छु । गृह मन्त्रालय र विज्ञहरूसँग छलफल गरेर सुधारका काम ल्याएको छु । म मात्रैले गर्ने होईन यसमा सबैको साथ सहयोग र हौसलाको खाँचो छ । मुख्यतः जनताको साथ चाहिन्छ । धेरै काम छन् । केही ऐनहरू पनि संशोधन गर्नु आवश्यक छ ।
–प्रस्तुति ऋषि धमला

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here