मोदी २१औं शताब्दीको हिटलर बन्दै

230

हुकुमबहादुर सिंह

भारतीय प्रधानमन्त्री मोदी अहिले भारतमा २१औं शताब्दीको हिटलर बन्दै छन् । उनी आफैँ अमानवीयता र दमनका प्रायोजक बन्दै गएका छन् । हालै उनले नेपाली मूलका भारतीय नागरिकमाथि जे जस्ता दमनकारी कार्यहरु सञ्चालन गर्दै छन्, त्यसले एकपटक फेरि विश्वका सामु भारतको विस्तारवादी चरित्र र प्रवृत्ति छर्लङ्ग बन्दै गएको छ । केही वर्ष पहिले नेपालमाथि उसले नाकाबन्दी लगाएर एउटा चरम तानाशाहाको रुपमा आफूलाई नेपाली जनताको नजरमा प्रस्तुत गरेको सर्वविदित छ । अहिले उसले भारतमा बसिरहेका नेपालीमूलका भारतीय नागरिक गोर्खालीमाथि नाकाबन्दी लगाएर चरम दमन र आतंक फैलाएको छ ।
भारतको बाक्लो आवादी भएका गोर्खालीले दशकौदेखि माग्दै आएको गोर्खाल्याण्डको मागमा निर्वाचनको समयमा प्रतिबद्धता गरेको भारतीय जनता पार्टी, जसको सर्वेसर्वा नेता मोदी हुन्, उनले निर्वाचनमा गरेको वाचालाई भूलिरहेको छ र दार्जिलिंग, सिक्किमलगायत गोर्खाली बसोबास गर्ने क्षेत्रहरुमाथि नाकाबन्दी लगाएर विश्वको तानाशाह हिटलर बन्न खोज्दै छन् । भारतमा धार्मिक असहिष्णुताको नमुना बनेको भारतीय जनता पार्टीका प्रधानमन्त्री मोदीले हालसालै प्यालेष्टाइनका जनताप्रति भारतले देखाएको समर्थनका विरुद्ध इजरायलसित सम्बन्ध बढाउन इजरायलको भ्रमण गरेका छन् । यो उनको अमेरिकी साम्रज्यवादसितको आत्मसमर्पण हो । तर आफ्नै देशभित्रका नेपालीमूलका भारतीय नागरिकमाथि अन्यायपूर्ण नाकाबन्दीले र भारतमा बसोबास गर्ने करोडौं मुस्लिममाथिको दमनले के स्पष्टसित प्रमाणित गर्दै गएको छ भने मोदी एउटा धार्मिक तानाशाह भएका छन् र उनले जाति र धर्मका नाममा भारतीय नागरिकमाथि अन्याय र अत्याचार गर्दै छन् । गोर्खाल्याण्डको माग गर्दै आएका गोर्खालीमाथिको दमन यसको एउटा उदाहरण हो ।
यसको साथै भारतीय शासकवर्गले विगतमा नेपालसित उसले गरेका असमान सन्धि समझौताहरुको परिणाम अहिले पनि भारतीय फौजमा हजारौंको संख्यामा नेपालीहरु गोर्खालीको नाममा भारतीय सेनामा कार्यरत छन् । करिब २०० वर्ष भएको भारत र बेलायतमा गोर्खा फौजको नातामा भारतमा उनीहरु काम गरिहेका छन् । यति लामो समयको अन्तरालमा आखिरमा गोर्खाहरुले भारतको सुरक्षाबापत के पाएका छन् ? केवल अपमान र तिरस्कार हो । अहिले मोदी सत्तामा आएपछि यो प्रक्रिया झन् गहन रुपमा बढेको छ ।
तर अचम्मको कुरा नेपाल सरकार मौन छ । यद्यपि नेपालको जनस्तरमा यसको विरोध नभएको होइन । यहा“ के उल्लेख गर्न आवश्यक होला भने मोदी एउटा तानाशाहा भएर नेपालमाथि करिब नौ महिना नाकाबन्दी गरे । अहिले उनै नेपालीमाथि जो भारतमा बस्दै आएका छन्, एउटा अमानवीय यातना दिएका छन् । गोर्खालीहरु भारतीय सेनामा छन्, जसलाई उनले नेपालका मित्रराष्ट्रहरु चीन र पाकिस्तानका विरुद्धको उसको युद्धमा प्रयोग गर्ने गरेका छन् । पहिलो तथा दोस्रो विश्वयुद्धमा बेलायतको पक्षमा लडेका नेपाली गोर्खाहरु अहिले चीन र पाकिस्तानसितको भारतको युद्धमा प्रयोग गर्ने गरेको छ । जो नेपालको परराष्ट्र नीतिको बर्खिलाप छ र यसको विरोध गरिनु पर्दछ । भारतको दार्जिलिंग लगायत पर्वतीय क्षेत्रका आधीकारिक मालिक नेपाली नै हुन् । मोदीको खोक्रो राष्ट्र एक दिन नांगो भएर जब भारतीय जनताको बीचमा ल्याइन्छ अनि भारतीय जनता पार्टी फेरि जनविहीन भएर उही पुरानो अवस्थामा फर्कने निश्चित छ । मोदी २१औं शताब्दीको हिटलर हुन् भन्ने आधारहरु बलिया छन् ।

[email protected]

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here