राज्यलक्ष्मी शाक्य
सडकलाई विकासको पहिलो पूर्वाधारको रुपमा लिने गरिन्छ । सडकको विकास गर्न सके मात्र अन्य पूर्वाधारहरुको निर्माणमा सहजता हुन्छ । सडक कुनै पनि सहरको सुन्दरता पनि हो । सडकले नै सहरको सुन्दरताको मापन गरिन्छ । कुनै पनि स्थानमा जाँदा हामी त्यहाँको बाटोघाटोलाई पनि महत्व दिन्छौं । फराकिलो, खाल्डाखुल्डीरहित, जाममुक्त र बोटबिरुवासहितको सडकले सहरलाई सुन्दर बनाइरहेको हुन्छ । सडकले त्यस सहरका बासिन्दाको जीवनशैलीलाई पनि संकेत गरेको हुन्छ । सडकले कुनै पनि सहर कत्तिको विकास भएको छ भन्ने कुराको पनि पुष्टि गर्दछ । तर, नेपालमा भने सडकको अवस्था दयनीय नै छ । अझ काठमाडौंको सडकको अवस्थालाई हेर्ने हो भने त यसलाई देशकै राजधानी भन्न पनि सुहाउँदैन । खाल्डाखुल्डी, ढलको अव्यवस्था, धूँवा र धूलोका कारण काठमाडौं एशियाकै कुरुप सहर बन्न पुगेको छ ।
काठमाडौंका सडक बर्खायाममा त झन् दयनीय नै बन्ने गरेका छन् । बर्खायाममा यहाँका सडक कुनै खहरे खोलाभन्दा कम हुँदैनन् । सडकमा नाली वा ढलको राम्रो व्यवस्था नभएका कारण पानी जम्न गई सडक हो कि पोखरी भनेर छुट्याउन नसकिने अवस्था छ । सडककै दुरवस्थाका कारण अहिले दैनिक दुर्घटनाको संख्या बढ्न थालेको छ । पछिल्लो समय त विभिन्न नाममा सडक खन्ने काम भएको छ । विकासका लागि सडक त खन्नैपर्छ, त्यसमा पंक्तिकारको पनि विमति छैन । तर, सडक खनिसकेपछि छिटोभन्दा छिटो पुनर्निर्माण गर्न जरुरी छ । एक त सडकको निर्माण नै राम्रोसँग हुँदैन । जसले गर्दा सडक निर्माण वा कालोपत्र भएको केही अवधिभित्र सडकको अवस्था पुरानै स्वरुपमा फर्किन्छ । दोस्रो कुरा सडक निर्माण भइसकेपछि विभिन्न बहानामा फेरि सडक खन्ने काम हुन्छ र काम सकिएपछि सडकको पुनर्निर्माण पनि हुँदैन । जसले गर्दा सडक मान्छेलाई ट्रयापमा पार्ने एम्बुस जस्ता देखिन्छन् । यसले गर्दा कैयौं दुःखद घटनाहरु घट्ने गरेका छन् । केही समयअघि मात्र माछोपोखरी क्षेत्रमा एक बालिकाको नालीमा डुबेर मृत्यु भयो भने एक स्कुले छात्रा ढलमा बगेर पनि बालबाल बचिन् ।
सडकमा यस्ता दुर्घटना भएपछि मात्र सरकार तात्ने गरेको छ । काठमाडौंमा भएका पछिल्ला यी घटनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् । तर, त्यो कत्तिको कार्यान्वयन हुने हो भन्नेमा नै शंका छ । किनभने सडकमा पैदलयात्रा सर्वसाधारणले नै गर्ने हुन् । नेताका परिवार कमै मात्र सडकमा पैदलयात्रा गर्नुपर्छ । त्यसकारण उनीहरु यस्ता समस्यालाई महत्व दिँदैनन् । प्रधानमन्त्रीले सडकको खाल्डाखुल्डी पुर्न त निर्देशन दिए तर सडकमा ढल तथा नालीको दुरवस्था ज्यूँका त्यूँ छ । कतिपयको घरमा सडकमा जमेको पानी पस्ने गरेको छ । त्यस्तै, धूलोधुवाँका कारण सर्वसाधारणको स्वास्थ्य दिनप्रतिदिन बिगँ्रदै गएको छ । यसतर्फ पनि सरकारी निकायको ध्यान जान आवश्यक छ ।
सरकारको प्रवृत्ति कुनै दुर्घटना भए मात्र समस्या समाधान गर्न ताते जस्तो देखिन्छ । नत्र सरकार कानमा तेल हालेर सुतेको अवस्था छ । सडकको खाल्डाखुल्डी पुर्न आएको निर्देशन पनि त्यही प्रवृत्ति हो । हरेक बर्खायाममा काठमाडौंका सडकको अवस्था कस्तो हुन्छ भन्ने सरकारी निकायका जिम्मेवार व्यक्तिलाई थाहा हुने कुरा नै हो । थाहा छ भने यस्ता दुर्घटना हुनुभन्दा अघि नै किन समस्याको समाधान गरिँदैन ? के जनताको ज्यानको कुनै मूल्य छैन ? सरकार जनताप्रति जिम्मेवार बन्नुपर्दैन ? यदि त्यस्तो हो भने जनताले आखिर किन सरकारलाई कर तिरिरहने भन्ने प्रश्न अगाडि आउँछ । त्यसकारण सरकारले आगामी दिनमा जनताप्रतिको जिम्मेवारी प्रस्तुत गर्न आवश्यक छ ।
-जनधारणा साप्ताहिक
[email protected]














