हुकुमबहादुर सिंह
नेपालका माओवादीहरु अहिले मूलतः चार चिरामा बाँडिएका छन्, माओवादी केन्द्र, क्रान्तिकारी माओवादी, नेकपा र नयाँ शक्ति । स्थानीय निर्वाचनमा तिनीहरुले फरकफरक नीति लिए, तैपनि स्थानीय निर्वाचनमा तिनीहरुले लिएको नीतिका आधारमा दुई कित्तामा बाँड्न सकिन्छ– पहिलो संसद्वादी कित्ता र दोस्रो संसदीय व्यवस्थाविरोधी कित्ता । पहिलो कित्ता जसमा माओवादी केन्द्र र नया“ शक्ति पर्दछन्, उनीहरुको जोड नेपालको संविधान २०७२को कार्यान्वयनमा रहेको छ । दोस्रो कित्ता जसमा क्रान्तिकारी माओवादी र नेकपा पर्दछ, उनीहरुले आफूलाई वर्तमान संविधानको खारेजी प्रमुख मुद्दा बनाएका छन् । यद्यपि ती दुईमध्ये क्रान्तिकारी माओवादीले वर्तमान निर्वाचनलाई उपयोग गर्ने नीति लियो भने नेकपाले निर्वाचनको खारेजी । तर निर्वाचनमा जुन नीति लिएता पनि समग्र माओवादीहरु वर्तमान निर्वाचनबाट त्यति उत्साहित देखिने अवस्था निर्वाचन परिणामले देखाएन । त्यसकारण पहिलो र दोस्रो निर्वाचनलगत्तै ती सबै आ–आफ्नो समीक्षामा व्यस्त देखिएका छन् । क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक सकिएको छ । माओवादी केन्द्रको केन्द्रीय विस्तारित बैठक चलिरहेको छ । नेकपा र नया“ शक्तिका बैठकहरु हुनेवाला छन् ।
क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले एक मतले क्रान्तिको आवश्यकता र औचित्यतामाथि बहस गर्दै केही महत्वपूर्ण निर्णहरु गरेको छ । जसमा राष्ट्रिय सम्मेलनका लागि गम्भीरतापूर्वक तयारी र नेपालमा क्रान्तिकारीहरुको एकता र धु्रवीकरणका लागि आह्वानसमेत गरेको छ । उसले स्पष्ट किटानीका साथ के भनेको छ भने माओवादी केन्द, नया“ शक्ति, मसाल क्रमशः प्रतिक्रियावादी क्याम्पतर्फ अग्रसर हु“दै गएको तर तिनीहरुभित्र अझै पनि धेरै क्रान्तिकारी विचार राख्नेहरु विद्यमान रहेको अवस्थामा यो क्रान्तिकारी धु्रवीकरणको आवश्यकता देखेको छ र तीबाहेक नेकपा र अन्य ससाना कम्युनिष्ट समूहहरुबीच पार्टी एकताको आवश्यकता औंल्याएको छ । त्यसैले उसको केन्द्रीय समितिको बैठकले निम्न बु“दाहरु–माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्त मान्ने, नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादमा जाने प्रक्रियालाई मान्ने, बल प्रयोगको सिद्धान्त मान्ने, वर्तमान संविधानको खारेजीको समर्थन गर्ने, कुनै पनि प्रतिक्रियावादी सरकारमा नजाने आदि । अर्कोतिर माओवादी केन्द्र पूरै अस्तव्यस्ताको अवस्थामा छ । यद्यपि उसले आफ्नो एजेण्डाको विजय भयो भनेर कार्यकर्तालाई अलमल्याउने प्रयास त गर्दै छ, त्यतिले पनि नपुगेर त्यसका अध्यक्षले पार्टी भंग गर्ने चेतावनीसमेत गरेका छन् । चार हजारसम्मको केन्द्रीय समिति बनाएर माओवादी केन्द्र घोषणा गर्न बाध्य भएका प्रचण्ड अहिले त्यसको स्थानीय निर्वाचनमा खासै प्रभावकारिता नदेखिएको निचोडमा पुगेका छन् । सिद्धान्त, विचार र राजनीतिलाई निर्वाचनमा जितिन्छ कि भनेर खिचडी बनाएका दाहलले आफ्नो सैद्धान्तिक र वैचारिक गद्दारीलाई कारण नबनाई पार्टी भंग गर्ने चेतावनी दिएर केन्द्रीय समितिका सदस्यलाई डर देखाएर आफनो विरोधमा चुँ समेत बोल्न नदिने नीति अख्तियारीमा लागेका छन् । उनै दाहालको वरिपरि घुमेर आफ्नो नेतृत्व कायम रहन सक्ने बुझेका माकेका केन्द्रीय सदस्यहरु दाहलको कुनै पनि प्रस्तावको विरोध गर्ने अवस्थामा छैनन् । खासगरी बादल–गुरुङ–पम्फा पार्टीमा भित्राएर पनि खासै फरक नपरेको उनको ठम्याइ देखिएको छ । एकताको भ¥याङ चढेर केन्द्रीय, पोलिट ब्युरो आदिमा पुगेकाहरु कतै पार्टी भंग गरिदिए भने के हुने होला भन्ने चिन्तामा पुगेकाहरु अब दाहलको चाकडी र अन्य नेताको चाप्लुसी गर्न थालेका छन् ।
नेकपा र नया“ शक्तिका बैठकहरुले के ल्याउने हुन् हेर्न बाँकी छ । यद्यपि नया“ शक्तिका बैठकले के ल्याउने छ, त्यो करिबकरिब स्पष्टै भएको कुरा हो र उसका प्रतिगमनकारी यात्रा सहज बनिसकेको छ । नेकपाले थवांगमा नेपाली कांग्रेससित तालमेल गरेर निर्वाचनमा भाग लिएको अवस्थाको मूल्यांकन कसरी गर्ने हो र भावी क्रान्तिको मार्ग कसरी निर्धारण गर्ने हो, त्यो पनि उसको बैठकले तय गर्ने नै छ । एउटा के निश्चित हो भने अब सबै माओवादीहरुले संसदीय व्यवस्थाको मार्गतर्फ झन्झन् वशीभूत गराउँदै लैजान्छन् कि क्रान्तिकारी माओवादीले अगाडि सारेका भावी क्रान्तिका लागि एकता र धु्रवीकरणका आधारहरुलाई सकारात्मक तरिकाले गम्भीरताका साथ आ–आफ्नो स्थानबाट प्रतिक्रिया दिन्छन्, त्यसमा क्रान्तिको निरन्तरता अन्तर्निहित छ । -जनधारणा साप्ताहिक















