काठमाडौैं/ भारतको बंगाल सरकारले दार्जिलिङ्गवासी नेपाली भाषीहरूमाथि नाङ्गो दमनचक्र चलाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तमासे बनिरहेका छन् । दार्जिलिङ्गवासी नेपाली भाषीहरूले आफ्नो भाषाको पहिचानको लागि चलाइरहेको आन्दोलनलाई थप उत्तेजित बनाउन बंगाल सरकारले दार्जिलिङ्गमा प्रशारण भइरहेका नेपाली भाषाका टेलिभिजनहरूलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको नाङ्गो रूप यहाँसम्म देखिएको छ कि टेलिभिजनका कार्यालयहरूमा बंगला सरकारले तालाबन्दी गरेको छ ।
विगत लामो समयदेखि खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीहरूको अभाव दार्जिलिङ्गमा सृजना गरिएको छ । बंगाल सरकारले खाद्यान्न निर्यात बन्द गरेको छ । यो स्थितिले गर्दा दार्जिलिङ्गका नेपाली भाषीहरू ठूलो संकटको अवस्थाबीच गुज्रिन बाध्य भइरहेका छन् । उता सिक्किममा बस्ने नेपालीहरूले पनि दार्जिलिङ्गवासी नेपालीहरूको भाषा रक्षाको आन्दोलनबाट सुरु भएको गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाएका छन् । भारत सरकारले सिक्किममा समेत खाद्यान्न निर्यातमा रोक लगाएको छ । विश्वकै उत्कृष्ट प्रजातान्त्रिक मुलुक भनेर दावी गर्दै आएका भारतीय शासकहरूले नेपाली भाषीहरूमाथि देखाएको यस्तो नाङ्गो दमनले नेपाली जनमानसमा समेत आक्रोश पैदा गराइरहेको छ ।
यसैबीच नेपालका वामपन्थी दलहरूले दार्जिलिङ्गका नेपाली भाषीहरूले चलाइरहेको गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन जनाएको पाइएको छ । यसक्रममा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले प्रेस विज्ञप्ति जारी गरेर गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेको छ । उता बंगाल सरकारले दार्जिलिङ्गको आन्दोलनलाई नेत्रविक्रम चन्दको सहयोग रहेको भन्दै आरोपसमेत लगाएको समाचार भारतीय सञ्चारहरूमा आइरहेको छ ।
-जनधारणा साप्ताहिक


















