राज्यलक्ष्मी शाक्य
नेपालमा धेरै क्षेत्रमा महिलाको पनि पुरुष समान सहभागिताको लागि आवाज उठ्ने गरेको छ । हालै मात्र महिला संघसंगठनहरूले संसद्मा ३३ प्रतिशत महिलाको उपस्थिति हुनुपर्ने माग राख्दै आएका छन् । यद्यपि, महिलाका लागि आरक्षण तथा विभिन्न उत्साहजनक महिलालक्षित कार्यक्रम पनि हुँदै आएका छन् । केही परिवर्तन नभएको होइन । तर पनि महिलाको अवस्थामा भने उल्लेख्य परिवर्तन आएको छैन । यही क्रममा अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने समाचार सार्वजनिक भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले त्यसका लागि पहल गर्ने भएको छ । महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो ।
आधाभन्दा बढी जनसंख्या रहेको महिलाको लागि छुट्टै बैंक स्थापना गर्ने प्रयास हुनु सकारात्मक कुरा हो । किनभने जबसम्म आर्थिक क्षेत्रमा पनि पुरुषसमान महिलाको योगदान हुँदैन, तबसम्म देशमा आर्थिक समृद्धि सम्भव छैन भन्ने कुरामा कसैको पनि दुईमत छैन । यदि हामी देशको साँच्चै विकास गर्न चाहन्छौं भने ठूलो संख्याको महिला जनशक्तिलाई अब आर्थिक क्षेत्रमा ल्याउनैपर्छ । यो तथ्यलाई सत्तासीन तथा प्रमुख राजनीतिक दलहरूले मनन गर्नैपर्छ । विकास भन्ने कुरा कुनै जादूबाट हुने होइन । त्यो यहाँकै जनशक्तिबाट हुने हो र त्यो जनशक्तिलाई परिचालन गर्न जरुरी छ ।
महिला बैंक स्थापनाका लागि आईएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघले जनाएको छ । महिलामा वित्तीय पहुँच बढाउन तथा उद्यमशीलता विकास गर्न महिला बैंकको अवधारणा अघि सारिएको महासंघको भनाइ छ । वास्तवमा उद्यमशील महिलाका लागि अहिले ठूलो कठिनाइ छ । महिला भएकै कारण कर्जा नपाउने, विश्वास नगर्ने, विभिन्न क्षेत्रमा असहयोग हुने जस्ता समस्या भोग्नुपरेको अवस्था छ । जसले गर्दा उद्यमी महिला बारम्बार निरुत्साहित हुनुपर्ने अवस्था छ । यो अवस्थामा वित्तीय क्षेत्रमा महिलाको पहुँच बढाउन नेपालमा ‘महिला बैंकिङ’को अवधारणा अघि सारिनुलाई उत्साहको रूपमा लिनुपर्छ । महिला बैंक स्थापना गर्नमा हाम्रा छिमेकी देशहरू सफल भइसकेका छन् । पाकिस्तान, बंगलादेश, भारतलगायत दक्षिण एसियाली मुलुकमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना गरिसकिएको छ । तर, ती देशको नजिकै बसेर पनि हामीले त्यसतर्फ ध्यान दिन सकेका रहेनछौं । महासंघले विद्यमान वाणिज्य बैंकहरू र सरकारसँग समेत सहकार्य गरेर महिला बैंक स्थापना गर्ने तयारी गरेको छ । यसको मोडालिटी कस्तो हुने र पुँजीको बारेमा पनि छलफल हुँदै गरेको जानकारी बाहिर
आएको छ ।
तर, नेपालमा महिला बैंकको अवधारणा ढिलै भए पनि चर्चामा आएको छ । कर्जाको क्षेत्रमा महिलाले थुप्रै असुविधान भोग्नुपरिरहेको अवस्था छ । त्यसकारण पनि जतिसक्दो चाँडो महिला बैंक स्थापना गर्न अपरिहार्य छ । देशमा अहिले महिला राष्ट्रपति, महिला सभामुख र महिला नै उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहेको छ । महिला नेतृत्वको रहेको महासंघले नै यस्तो अवधारणा ल्याएको छ । त्यसकारण यसलाई कार्यान्वयन गर्नमा पनि तदारुकता देखाउन आवश्यक छ । समग्र महिलालाई उद्यमशील बनाउनका लागि वातावरण सृजना गर्नेमा महिला बैंकको ठूलो भूमिका रहने महसुस गर्न सकिन्छ । -जनधारणा साप्ताहिक
[email protected]















