एमालेको जीत र माओवादी केन्द्रको हारलाई विश्लेषण गर्दा

241

चन्द्रप्रकाश बानियाँ 

न अघि लाग्ने अङ्गलाई टाउको भन्न मिल्छ न पछि लाग्नेलाई पुच्छर भन्न मिल्छ । उसको ठाम सर्ने प्रक्रियालाई पाइलो सारेको भन्न पनि मिल्दैन । गड्यौंलाको शारीरिक बनोट अनौैंठो हुन्छ र उसको गति पनि विचित्रको हुन्छ । प्रत्येक मुभमेन्टको प्रारम्भमा उसले आफ्नो शरीरको गन्तव्याभिमुख टुप्पोे अलिकता माथि उठाउँछ । कुनै अवरोधको आभास नभएपछि टेकाउँछ, शरीरलाई अलिकता तन्काउँछ र अघि सर्छ । उसले हरेक पाइलैपिच्छे टाउको उठाएर छामछुम गर्नुको कारण दृष्टिविहीनताको बाध्यता हो । निष्पट्ट अन्धकारमै गन्तव्यको यात्रा तय गर्नुपर्ने भएको हुनाले त्यस्तो अनौठो अभ्यास गर्दछ । हो, मानिसले पनि हरेक पटक कदम उठाउनुपूर्व अघिल्तिरको बाटोको निरीक्षण परीक्षण गर्दछ । सभ्यासभ्यको जायजा लिएर मात्र मान्छेले पाइलो सार्छ । दुई चरणमा स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ । हार्नेजित्ने दुवैथरीले निर्वाचन परिणामको लेखाजोखा गरिभ्याएका छन । मिटिङ गर्न अल्छी मान्ने र गर्नैपर्ने खण्ड उपस्थित भइहाल्यो भने विना एजेण्डा मिटिङ थाल्ने नेपाली काँग्रेसको पुरानै परम्परा हो । हो, यसपटक पनि निकै ढिलो गरेर नेपाली काँग्रेसको समीक्षा बैठक सम्पन्न भएको छ । सन्दर्भ निर्वाचनकै भएको हुनाले पूर्व परिणामको समीक्षा गरिए होला, भविष्यको लागि योजना बनाइयो होला । मिटिङपछि काँग्रेसवृत्तबाट सार्वजनिक भएको निष्कर्ष भने आश्चर्यलाग्दो रह्यो । देशमा कम्युनिष्ट मत बढेको र त्यसको कारक तत्वको रूपमा पार्टीनेतृत्वले पछिल्लो समयमा लिएका अलोकप्रिय निर्णयहरूलाई ठह¥याइएछ । काँग्रेसको निष्कर्ष आगामी दिनमा अवलम्बन गनुृपर्ने मार्गको दिशावोध गर्न गड्यौलाले गरेको अन्धचेष्टाभन्दा फरक रहेन भन्नु बढ्ता हुँदैन । अन्धकारमा छामछुम गरेरै काँग्रेसी मिटिङ तुरिएछ । त्यस्तो निष्कर्षमा आंशिक सत्यता होला तर सम्पूर्ण सत्य त्यति मात्र हो भन्न मिल्दैन ।
निर्वाचन परिणामले दुवै चरणमा काँग्रेसलाई दोस्रो बनायो । यो नाङ्गो सत्यले काँग्रेसको आफूलाई जेठो, बाठो र ठूलो ठान्ने अहममा ठेस पु¥याएको छ । त्यसको अर्थ काँग्रेसको परम्परागत मतभण्डारमा ठूलै पहिरो गयो भन्ने कुरा भने सत्य होइन । काँग्रेसको परम्परागत मत एमालेको पोल्टामा पर्नुभन्दा भुइँमा पोखिन रुचाउँछ भन्नु बढ्ता हुँदैन । हो, साझा पार्टीको झोलामा काठमाडौंमा झरेको मत त्यसको गतिलो उदाहरण होइन भन्न सकिन्न । साझा पार्टीको लोकप्रियताको नापो त्यो मत किमार्थ होइन । त्यो सरासर काँग्रेसी मतदाताहरूको असन्तुष्टिको प्रदर्शन थियो । त्यो जानीबुझी भुइँमा पोखिएको मत हो भन्ने कुरामा राइरत्ति शंका गर्न मिल्दैन । पोखिन खोजेको भुइँमै थियो, संयोगवश साझाको पोल्टामा परेको मात्र हो । काँग्रेसको असन्तुष्ट मत कम्युनिष्टको पक्षमा जाने वातावरण बन्न वर्तमान विश्वपरिस्थितिले नै दिँदैन । काठमाडौंमा त साझाको नांग्लोमा काँग्रेसको मत पोखियो बाँकी अन्यत्र काँग्रेसलाई एमालेले किन उछिन्यो भनेर उठ्ने स्वाभाविक प्रश्नको जवाफ एमालेकै खलोमा खोज्नु उपुयक्त हुनेछ ।
नेपाली काँग्रेसको शीर्ष नेतृत्वको गल्ती कमजोरीको कारणले कम्युनिष्टको पोल्टो भरियो । फेरि पनि नसच्चिने हो भने त्यो मतप्रवृत्तिले निरन्तरता पाउनेछ भन्ने काँग्रेसको निष्कर्षमा सत्यता छैन । काँग्रेसले चुनाव हारेको कुरा हजार प्रतिशत सत्य भए पनि कम्युनिष्टको मत बढेको भने हुदै होइन । एमालेले कम्युनिष्ट विचार, नीति, सिद्धान्त, कार्यक्रम र आदर्शको अब्बल प्रदर्शन गरेको हुनाले ठूलो संख्यामा मत बटुल्न सफल भएको होइन । न एमालेले कम्युनिष्ट भएकोले विजय प्राप्त गरेको हो न माओवादी केन्द्र कम्युनिष्ट भएको कारणले निर्वाचनमा पराजित भएको हो । एमालेले यसपटक तीनवटा चमत्कार ग¥यो र विजयश्री आत्मसात् गरेको हो । पहिलो कुरा आफ्नो परम्परागत मत रिठ्ठो नबिराई गनीटिपी आफ्नो बाकसमा पर्ने परिस्थिति निर्माण ग¥यो । उसको मतभण्डारबाट एउटै मत पनि अन्यत्र चुहिएन । दोस्रो कुरा, संविधानसभाको दोस्रो निर्वाचनमा माओवादी केन्द्रबाट फर्काएको मत पनि जस्ताको तस्तै जोगायो । त्यही दुईथरी मतले अघिल्लो चुनावमा काँग्रेसको हाराहारीको उचाइ बनाएको थियो । यसपटक काँग्रेसलाई माथ दिने कार्यमा काँग्रेसकै भकारी फोरिने स्वतस्फूर्त घटना सहयोगी बन्यो । तर त्यो पुरुषार्थ एमालेको थिएन । त्यो त यसपटक पक्ष परिवर्तन गरेको मतसमूहको आफ्नै स्वार्थरक्षाको खोजीको परिणाम थियो । परम्परागतरूपमा नेपाली काँग्रेसलाई आश्रयदाता मान्दै आएको देशको स्थायीसत्ता अर्थात् सदियौैंदेखि सत्ताको वरिपरि बसेर लाभ लिँदै आएको वर्गले आफ्नो स्वार्थरक्षा काँग्रेसबाट नहुने ठह¥याएपछि रोजाइको विकल्प एमाले बन्न गएको हो । अर्थात् त्यो मत एमालेले आकर्षण गरेको होइन, मतदाताले आफै एमालेको शरण मागेको हो ।
योग्यता क्षमताकै माध्यमबाट सत्ताको मह चाट्ने स्थानमा पुगेको भए पनि त्यो स्वार्थ समूह एउटा विशिष्टवर्गको रूपमा विकसित भएको छ । देशमा अनेकौं पटक राजनीति परिवर्तन भए पनि त्यो स्वार्थसमूह सधै सत्ताको लाभ लिने स्थानमा कायम रहँदै आएको छ । राजनीतिक परिवर्तनले आजका दिनसम्म उसको स्वार्थमा धक्का पु¥याउन सकेको थिएन । मुलुकमा पछिल्लो पटक उठेको पहिचान र अधिकारको आन्दोलनले त्यो वर्गले सुमर्दै आएको सत्ताको खेलमैदानलाई संकुचित बनाउने खतरा उत्पन्न गरेको थियो । खासगरेर, जनजाति, मधेसी, दलित र पिछडिएको वर्गको रूपमा उदाएको नयाँ शक्तिले राज्यमा आफ्नो हिस्सा माग्न थालेको थियो । त्यस्तो माग सम्बोधन हुँदाको दिन शासकवर्गले घाटा व्यहोनुपर्ने अवस्था उत्पन्न हुन्थ्यो । जनजाति र दलित आन्दोलन सुस्ताउदै गए पनि मधेसले आफ्ना मागमा दरोसँग अडिनु खतराको घन्टी बज्नु थियो । त्यो वर्गको दृष्टिमा आसन्न खतराबाट जोगाउन सक्ने एकमात्र शक्तिको रूपमा एमाले देखाप¥यो । त्यसैले आफ्नो अगाडिको थाल लतार्न खोज्ने मधेसलाई तह लगाउने एमालेलाई मतदिनु उसको रहर भन्दा वाध्यता बन्यो । हो, काँग्रेसबाट उछिट्टएको त्यही मतले एमालेलाई पहिलो बनायो । त्यो मत न सिलवालकाण्डका कारणले विरक्तिएको हो न प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावबाट विच्किएको हो । हो त केवल मधेसले खोस्न खोजेको भाग जोगाउने तागतको खोजी ! त्यसैले कम्युनिष्टको मत बढ्यो भनेर काँग्रेसले लिएको चिन्तामा सत्यता छैन भन्नु अत्युक्ति हुँदैन जस्तो लाग्दछ ।
रह्यो कुरा माओवादी केन्द्रको ! संविधानसभाको दोस्रो निर्वाचनमा जहाँ थियो आज पनि माओवादी केन्द्र उहीँ थचारिएको छ । उसको खातामा न मत थपियो न कटौती भयो । उसले जति गुमाउनुपर्ने हो त्यति संविधानसभाको दोस्रो निर्वाचनमै गुमाइसकेको हो । एकपटक गुमेको विश्वास र भरोसाको क्षतिपूर्ति हुन निकै गाह्रो पर्छ । पहिलो संविधानसभामा संसदीय हैसियत भएर पनि तोकिएको मितिमा संविधान बनाउने जिम्मेवारी पूरा गर्ने हिम्मत र सुझबुझ देखाउन सकेन । जनताले अपेक्षा गरेजस्तो जनवादी चरित्र कायम गर्न पनि सकेन । पहिलो संविधानसभाको कार्यकाल लम्बिने परिस्थिति बनेपछि स्थानीय निकायको निर्वाचन गराउनुपर्ने कुरामा ध्यान पुगेन । सेना समायोजनमा अनावश्यक विलम्व गरेर आर्थिक वदनामी कमायो । पार्टीलाई एकीकृत राखिरहन सकेन । १० वर्षमा पन्ध्र टुक्रा बनेर माओवादी पार्टी होइन, अराजक समूहहरूको भीड हो भन्ने कुरा प्रमाणित ग¥यो । पाइतालादेखि टुपीसम्मकै नेताकार्यकर्ताहरू सबै पैसाको पछि दौडने लज्जाजनक चरीत्रको नाङ्गो प्रदर्शन ग¥यो । प्रमाणित नभए पनि भ्रष्टाचारको वात लाग्यो । शासकीय क्षमता र परिपक्वता प्रदर्शन गर्न सकेन । यतिका कमजोरी गरिसकेपछि भरोसा गर्ने ठाउँ कहाँ बाँकी थियो र जनताको मतसमर्थन पाओस् त ? धन्न अन्य संसदवादी पार्टीहरूमा मुलुक चलाउने ह्याउ, हुति, मति र बुद्धि भएको अर्को नेता जन्मेको रहेनछ र माकेका सुप्रिमोले सदावहार हिरो बन्ने अवसर पाएको देखिन्छ । काठको त्यो पनि खिइएर सतहमै धसिने अवस्थामा पुगेको भए पनि ‘मानी’ले झाँतोलाई आफ्नै परिधिमा रिगाउँछ । माकेको आमद हैसियत खुम्चिएर झाँतोको खिइएको मानीजस्तो भैसकेको भए पनि देशको राजनीति उसको वरिपरि घुमेजस्तो देखिनुको कारण त्यही हो । कथम् एमाले र काँग्रेसको बुद्धि पलायो र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको संवैधानिक व्यवस्था कायम गरियो भने ‘तेल पानी मिलीगयो, पिना बाहिर’ भनेजस्तो हरिविजोग माकेको हुन्थ्यो होला ।
अन्तमा नेपाली काँग्रेसको जानकारीको लागि फेरि एकपटक दोहो¥याउँ– न एमालेको जीतको कारण कम्युनिष्ट हुनु हो । न त कम्युनिष्ट भएकै कारणले माओवादी केन््रद्रको पराजय भएको हो । काँग्रेसको हारको कारण काँग्रेस नै हो । काँग्रेसको पराजयको कारण काँग्रेसकै मतदाताको पक्षपरिवर्तन हो । त्यो परम्परागत किल्ला भत्कनुको कारण काँग्रेसप्रतिको भरोसा उठेको उदाहरण हो । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here