काठमाडौं । पासपोर्टले तपाईं विश्वका कति भागहरूमा पुग्न सक्नुहुन्छ र कति देशमा भिसाविना प्रवेश (भिसा-फ्री इन्ट्री) पाउन सक्नुहुन्छ भन्ने तय गर्छ । कुनै देशका नागरिकहरूले भिसाविना कतिवटा देशमा जान सक्छन् भन्ने आधारमा विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन सार्वजनिक भएको छ।
गत वर्षको तुलनामा विश्वको पासपोर्ट र्यांकिङमा धेरै फेरबदलहरू देखिएका छन् । प्रतिवेदन अनुसार, गत वर्ष १०१ स्थानमा रहेको नेपाल ९७औं स्थानमा उक्लिएर केही सुधार गरेको छ ।
सन् २०२५ मा शीर्ष १० बाट बाहिरिएको अमेरिका फेरि शीर्ष १० भित्र पर्न सफल भएको छ ।
यस वर्षको प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना (भिसा-फ्री) पहुँच पाएका छन्। त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्। यी तीन देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन्।
तेस्रो स्थानमा १८६ स्कोरका साथ स्विडेन रहेको छ। गत वर्ष (सन् २०२५ मा) ३६ देशमा पहुँचसहित १०१ औं स्थानमा रहेको नेपालले यस वर्षको सूचीमा केही सुधार गरेको हो। सन् २०२६ को इन्डेक्समा नेपाल ९७औं स्थानमा उक्लिएको छ।
नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्, जसको भिसा-फ्री स्कोर ३५ रहेको छ। यस वर्षको सूचीमा भारत ७८औं स्थानमा रहेको छ। भारत, बोलिभिया र सेनेगलका नागरिकले ५७ देशहरूमा भिसाविना पहुँच पाएका छन्। गत वर्ष भारत ७७औं स्थानमा रहेको थियो।
अर्को छिमेकी राष्ट्र चीन ८२ भिसा-फ्री स्कोरका साथ ५६औं स्थानमा रहेको छ। गत वर्ष चीन ६४औं स्थानमा थियो।
त्यस्तै, पाकिस्तान ३० स्कोरका साथ १००औं स्थानमा रहेको छ।
अमेरिका र बेलायतको पुनरागमन
धेरै देशहरूले अमेरिकी नागरिकहरूका लागि भिसा नियम कडा बनाएका कारण गत वर्ष २० वर्षको इतिहासमै पहिलो पटक अमेरिकी पासपोर्ट शीर्ष १० सूचीबाट बाहिरिएर १२औं स्थानमा पुगेको थियो।
तर, सन् २०२६ को सूचीमा अमेरिका पुनः शीर्ष १० मा प्रवेश गर्दै आइसल्यान्डसँगै १०औं स्थानमा रहेको छ। अमेरिकाको भिसा-फ्री स्कोर १७९ रहेको छ।
गत वर्ष कमजोर बन्दै आठौं स्थानमा पुगेको बेलायत (यूके) को पासपोर्ट यस वर्ष १८३ स्कोरसहित छैटौं स्थानमा उक्लिएको छ।
सबैभन्दा कमजोर कहाँको ?
विश्वकै सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान सबैभन्दा पुछारमा अर्थात् १०३औं स्थानमा रहेको छ। अफगानिस्तानका नागरिकले जम्मा २३ देशमा मात्र भिसाविना प्रवेश पाउँछन्।
त्यसभन्दा एक स्थानमाथि सिरिया (१०२औं स्थान) रहेको छ, जसको स्कोर २६ छ। इराक २९ स्कोरसहित १०१औं स्थानमा रहेको छ।


















