काठमाडौं । उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त हुन पुगेको कार्गो विमानले बाङ्ग्लादेशका लागि विस्फोटक पदार्थसहित ११ टन हतियार बोकेको अधिकारीहरूले बताएका छन्। एन्टोनोभ १२ खस्न पुगेको क्षेत्रका दुई किलोमिटर वरपरका मानिसहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ। उक्त विमान सर्बियादेखि जोर्डन गइरहँदा कवाला सहर नजिकै दुर्घटनाग्रस्त भएपछि विमानमा सवार आठै जनाको ज्यान गएको थियो।
प्रत्यक्षदर्शीहरूले खिचेको भिडिओमा विमानमा आगो लागेको देखिन्छ। आइतवार बिहान दुर्घटना स्थलको सर्वेक्षण गर्न ड्रोनहरू प्रयोग गरिएको छ। राज्य सञ्चालित टेलिभिजनले उक्त स्थान सुरक्षित रहेको निश्चित नभएसम्म सेना, ‘हवाई नापहरूले दुर्घटनास्थलमा केही अस्थिरता देखिएको,’ सैनिक अधिकारी मारिओसएपोस्टोलिडिसले सञ्चारकर्मीहरूलाई बताए।
उनले भने, ‘बाक्लो धुवाँ र उच्च ताप तथा परिचय नखुलेको सेतो पदार्थ त्यहाँ देखिएको छ, त्यसैले सेनाको विशेष फौजले हामीलाई त्यो के हो भन्नुपर्छ र हामी त्यहाँ जान हुन्छ कि हुँदैन भन्नुपर्छ।’ प्रत्यक्षदर्शीका अनुसार जमिनमा ठोक्किनु अघि नै विमानमा आगो लागिसकेको थियो। विमान चालकले विमान उडेको केही बेरमै इन्जिनमा समस्या आएका कारण कवाला विमानस्थलमा आपत्कालीन अवतरण गर्नका लागि अनुमति मागेका थिए तर विमान रनवेमा पुग्नै नपाएको जनाइएको छ।
स्थानीय बासिन्दाले स्थानीय समय राति १०:४५ मा विमान देखेका थिए। अइमिलिया स्यापटानोभाले धन्न त्यो विमान आफूहरूको घरमा आएर नजोतिएको भनिन्। उनले भनिन्, ‘धेरै धुवाँ आइरहेको थियो, मैले भन्नै नसक्ने किसिमको आवाज आएको थियो र त्यो उता पहाडतिर लाग्यो। त्यसले पहाड पार गर्यो र जमिनमा गएर बज्रियो।’
‘आगो लागेको थियो त्यसैले हामी डराएका थियौँ। थुप्रै कारहरू आए तर नजिक जान सकेनन् किनभने त्यहाँ निरन्तर विस्फोट भइरहेको थियो।’ सर्बियाका रक्षा मन्त्री नेबोज्सा स्टफनोभिचका अनुसार एन्टोनोभ एएन १२ले सर्बियामा बनेको हतियार बाङ्ग्लादेश लगिरहेको थियो। त्यो विमान जोर्डन, साउदी अरेबिया र भारतहुँदै बाङ्ग्लादेश पुग्नु थियो। विमान युक्रेनी कार्गो विमान सेवा कम्पनी मेरिडिएनले चलाइरहेको थियो। तर त्यसको सम्बन्ध युक्रेन युद्धसँग रहेको सङ्केत नमिलेको बताइएको छ।


















