काठमाडौं/ लोकमान सिंह कार्कीको नियुक्ति अवैधानिक ठहर भएपछि नयाँ नियुक्ति पाएका दीप बस्न्यात पनि भ्रष्टाचारको आरोपमा छानबिनमा तानिएका छन् । व्यवस्थापिका संसद्को अर्थ समितिले २०५८ सालपछि गठन भएका सबै कर फछ्र्योट आयोगहरूका फाइलमाथि छानबिन अघि बढाएको छ । समितिको साउन २ गते बसेको बैठकले गठन गरेको ‘राजस्व छली र कर असुली अनियमितता अध्ययन सुझाव उपसमिति’ले २०५८ साल पछि गठन भएका तीनवटै कर फछ्र्याेट आयोगका फाइलमाथि अध्ययन थालेको छ । बस्न्यातले २०६३ मा गठन भएको कर फछ्र्याेट आयोगको जिम्मेवारीमा काम गरेका थिए ।
व्यवस्थापिका–संसद्को अर्थ समितिले गठन गरेको उपसमितिको संयोजकमा एमाले नेता सुरेन्द्र पाण्डे रहेका छन् । दुई महिने अवधिका लागि गठन गरिएको यो उपसमितिले २०५८, ६१, ६३ र ७१ को कर फछ्र्याेट आयोेगका फाइलहरू मगाइसकेको छ । कर फछ्र्याेट आयोग २०५८ को अध्यक्ष अनुपराज शर्मा थिए भने सदस्यमा किशोर बाँस्कोटा र सदस्य सचिवमा विद्याधर मल्लिक थिए । त्यसैगरी कर फछ्र्याेट आयोग २०६१ मा पवन कुमार सिंह अध्यक्ष थिए भने सदस्यमा केके सिंह र सदस्य सचिवमा अवनिन्द्र कुमार श्रेष्ठ थिए । त्यस पछिको कर फछ्र्याेट आयोग २०६३ को अध्यक्षमा नारायणराज तिवारी थिए भने सदस्यमा लुम्बध्वज महन र सदस्य सचिवमा रणबहादुर श्रेष्ठ र दीप बस्न्यात रहेका थिए । त्यस्तै, चर्चित कर फछ्र्याेट आयोग २०७१ को अध्यक्षमा लुम्बध्वज महत, सदस्यमा उमेश ढकाल र सदस्य सचिवमा चूडामणि शर्मा थिए । छानबिन समितिमा सांसदहरू गौरा प्रसाईं, जगदीश्वरनरसिंह के.सी, दीपकप्रसाद कुइँकेल, रत्न शेरचन, ल्हारक्याल लामा, शक्ति बस्नेत, शेरबहादुर तामाङ, सुरेन्द्र पाण्डे र श्रीकान्ती पासी रहेको थाहा भएको छ ।
जनधारणा साप्ताहिक


















