देशभक्त बुद्धिजीवीहरू सचेत बन्नुपर्ने बेला आएको छ

175

राधा बुढाथोकी मगर 

माओवादीले सुरु गरेको सशस्त्र युद्धपछि देशले राजनीतिक रूपमा ठूलो परिवर्तन प्राप्त गरेको छ । तर राजनीतिक परिवर्तनले जनताका आवश्यकताहरू पूरा गर्न नसकिरहेको हुनाले जनतामा असन्तुष्टि व्यापक देखिन्छ । शान्तिसम्झौता भएको पनि एक दशक बितिसकेको छ । एक दशक भन्ने कुरा सामान्य समय होइन, यो अवधिभित्र राजनीतिक दलहरूले इच्छाशक्ति देखाएका भए नेपालको आर्थिक अवस्था पनि धेरै माथि पुगिसक्ने थियो । पञ्चायतकालको ३० वर्ष र त्यसपछिका १२ वर्षजस्तै गणतन्त्रका लागि ११ वर्ष तुलनात्मक रूपमा जनताका लागि फरक देखिंदैन । यो अवस्था वर्तमान राजनीतिक प्रणालीको लागि ठूलो चुनौतीको विषय हो ।
सशस्त्र युद्धको स्थगन पछि देशका शान्ति कायम भएको भनिएको छ । शान्ति के लाई भन्ने ? हत्या, अपहरण बेरोजगारी, महँगी, अभाव अस्वस्थता, अशिक्षा र गरिबीलगायतका विसंगतिहरू नेपाली जनताका दैनिक बनेका छन् । यस्तो अवस्थालाई शान्ति कसरी भन्ने ? शान्तिका निम्ति त माथि उल्लेख गरिएका सबै विसंगतिहरूको अन्त्य आवश्यक शर्त हुन्छ । समानता, वर्गीय द्वन्दको अन्त्य, राष्ट्रिय स्वाधीनता, जनताको जनजीविकाको सवाललगायतलाई सम्बोधन गर्नसक्ने राज्यप्रणालीको खोजी र प्राप्तिको लागि नै २०५२ सालदेखि तत्कालीन माआवादीले जनयुद्धको घोषणा गरेको हो । सबैले बुझ्ने गरी माओवादीले सार्वजनिक गरेका उसको दस्ताबेजहरूबाट यही कुरा बुझ्न सकिन्छ । आफ्ना इच्छा र आवश्यकता परिपूर्ती हुने आशामा हजारौं नेपाली जनता माओवादीको पछि लागेर सहिद भएका छन् । तर ती सहिद भएका परिवारहरूको अवस्था पञ्चायतकालको भन्दा कहालीलाग्दो पाइन्छ । सहिदका परिवार मात्र होइन आम नेपाली जनताको अवस्था पञ्चायतकालको भन्दा चिन्ताजनक छ ।
सर्वहारा वर्गको उन्मुक्तिको नारालाई लिएर अगाडि बढेको सशस्त्र युद्ध १० वर्षसम्म चल्यो । त्यस युद्धमा १६ हजार नेपालीले ज्यान गुमाए र अपांग अनि बेपत्ताको संख्या अझै राज्यले सार्वजनिक गर्न सकेको छैन । लगभग ३० हजार जनसेना आवश्यकता परे आफ्नो बलिदानी दिन तत्पर भएर युद्धमा लामबद्ध भएको कुरा स्वयं माओवादीका नेताहरूले दाबी गरिरहेको पाइन्छ । तर, युद्धमा ज्यान गुमाएकाहरूले जुन उद्देश्यका लागि ज्याद गुमाएका थिए, त्यो प्राप्ति नहुँदै देशले नयाँ मोड लिएको छ । आज ती योद्धाहरू बाँचेका भए देशभित्र भइरहेको गतिविधिप्रति अवश्य पनि सन्तुष्ट हुने थिएन । देशमा विकल्प देखापर्न छोडेको छ । यो अवस्था अवश्य पनि राम्रो होइन । विकल्प देखिएन भने नयाँ खालको समस्या सृजना हुन सक्छ भन्ने कुरातर्पm समयमै देशभक्त नेपाली जनता, खासगरी बुद्धिजीवी नेपाली जनता सचेत बन्नु जरुरी छ ।  radhabudhathoki@hotmail.com

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here