काठमाडौं,नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मंगलबार बिहान वसन्तपुर दरबार क्षेत्रस्थित भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गरेको जनाइएको छ ।
समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत उपस्थित रहेको जनाइएको छ ।
दरबार शतप्रतिशत चिनियाँ सहयोगमा पुनर्निर्माण हुन लागेको हो ।यसको लागत करिब १६ करोड रुपैयाँ अनुमानित छ । पुनर्निर्माण क्रममा विभागको परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरीवेक्षणको भूमिका रहने जनाइएको छ । ‘
चिनियाँ उपप्रधानमन्त्रीले ११ बजे उनका समकक्षी उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँग द्विपक्षीय वार्ता गर्ने बेहोरा जनाइएको छ । साढे १२ बजे नेपाल र चीनबीच तीन वटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
अपरान्ह तीन बजे माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ३.५० मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग चिनियाँ उपप्रधानमन्त्री वाङले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
















