काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणमा हिजो नयाँदिल्लीतर्पm प्रस्थान गरेका छन् । देउवा हिजो बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट ४८ सदस्यीय प्रतिनिधिमण्डलसहित नयाँदिल्ली पुगेका छन् । देउवालाई नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वागत गर्न पुगेकी थिइन् । देउवा भारतीय राष्ट्रपति भवनमा पुगेका छन् । भ्रमण अवअधिभर देउवा सोही भवनमा बस्नेछन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै नयाँदिल्ली प्रधानमन्त्री देउवालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने विमानस्थलमा पुगेनन् । उनको यो व्यवहारले नेपालप्रतिको उनको दृष्टिकोणलाई स्पष्ट गरेको छ । आफैले आमन्त्रण गरेको अतिथि आफ्नो देशमा पुग्दा स्वागतका लागि स्वयं उपस्थित हुनुपर्नेमा देउवाले त्यो आतिथ्य सद्भाव प्रकट गर्न नसकेबाट उनको आलोचना सुरु भएको छ ।
प्रधानमन्त्री देउवाले आज बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा व्यस्त रहने जनाइएको छ । देउवालाई भारतमा यसपटक आमन्त्रण गर्नुको कारण र भ्रमणको मुख्य लक्ष्य पनि आज स्पष्ट हुने अनुमान गरिएको छ । आजै बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन् । महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले पुष्पहार अर्पण गरी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ ।
आज नै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेटलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच एक्ला–एक्लै भेटवार्ता हुने कार्यक्रम सार्वजनिक गरिएको छ । दुई देशका सरकारप्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नेछन् भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ त्यसैगरी देउवासँग भारतका गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
भोलि शुक्रबार अपराह्न प्रधानमन्त्री विशेष विमानबाट हैदरावादतर्फ प्रस्थान गरी तेलांगना र आन्ध्र्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने त्यसपछि आफ्नो सम्मानमा राज्यपाल नरसिंहनले आयोजना गर्नुहुने रात्रिभोजमा सरिक हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवा शनिबार बिहान विशेष विमानबाट तिरूपतितर्फ प्रस्थान गर्ने कार्यक्रम छ र अपराह्न तिरूपतिबाट बोधगयातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
आइतबार बिहान महावोधी मन्दिरमा पूजाअर्चना सकेर उहाँ विशेष विमानबाटै नयाँदिल्ली पुगी सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
यसैबीच प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणमा पुराना सम्झौता कार्यान्वयनका लागि जोड दिनुपर्ने सुझाव परराष्ट्रविद्हरूले दिएका छन् । हिजो भएको कार्यक्रममा भ्रमण दुई मुलुकका शीर्ष नेतृत्वबीच सद्भावपूर्ण बनाउन सकेमा विगतका सम्झौता क्रमिक रूपमा कार्यान्वयन हुँदै जाने विचार परराष्ट्रविद्हरूले व्यक्त गरेका थिए । कूटनीतिज्ञ डा.भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावपूर्ण हुनुपर्नेमा जोड दिँदै भ्रमणमा नयाँ विषय ल्याउन नहुने र अहिलेसम्मका सहमति तथा सम्झौता कार्यान्वयनमा सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । थापाले बाढी, जलस्रोत, सीमा, आपसी हितजस्ता विषयमा थप कुनै सहमतिभन्दा पनि भएकालाई कार्यान्वयन गर्ने र सुधार गर्ने विषयमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।
भारतका लागि पूर्वनेपाली राजदूत दुर्गेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्ध सद्भाव र विश्वासका आधारमा हुनुपर्नेमा जोडदिँदै नेपालको हितका लागि सबै राजनीतिक दल परराष्ट्र नीतिको बारेमा एक ठाउँमा उभिनुपर्ने सुझाव दिएका छन् ।
जनधारणा साप्ताहिक

















