काठमाडौं । ग्यास व्यवसायीहरुले आगामी कात्तिक पछि खाना पकाउने ग्यासको अभाव हुन सक्ने चेतावनी दिएका छन् । आगामी नोभेम्बरपछि नेपाली नम्बर प्लेटका ग्यास ढुवानी गर्ने बुलेट सञ्चालन गर्ने पूर्वसहमति कार्यान्वयन नहुने परिस्थिति बनेपछि व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भ्रमणका क्रममा नेपाली नम्बर प्लेटको बुलेट सञ्चालन गर्ने सम्बन्धमा सहमति नगरे पछि बुलेटमा लगानी गरेका नेपाली व्यवसायी निरास भएर यस्तो चेतावनी दिएका हुन् ।
सरकारकै स्वीकृतिमा बुलेट निर्माणमा गरेको लगानी डुबेपछि भारतीय ढुवानी कर्ताबाट ग्यास आयात गर्ने भन्ने कुरा नरहने कुरा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले जनाएका छन् । आगामी नोभेम्बरपछि भारतीय ग्यास खरिद नगर्ने पनि घिमिरेको भनाई छ ।
संघका अनुसार ग्यास बुलेट निर्माणका लागि व्यवसायीले करीव ५ अर्ब रुपैयाँ लगानी गरिसकेको जनाएका छन् । नेपाल आयल निगमले गत ०७३ असार २७ गते ७ सय ७५ थान नेपाली नम्बर प्लेटका बुलेट निर्माणका लागि व्यवसायीलाई स्वीकृति दिएको थियो । बुलेट आयातका लागि सरकारले ६६ प्रतिशत भन्सार छुटसमेत दिने निर्णय गरिसकेको छ ।
संघका अनुसार हालसम्म करीब ४ सय थान ग्यास बुलेट निर्माण भइसकेका छन भने बुलेटमा करीब ३ अर्ब रुपैयाँको लगानी पनि भइसकेको छ । विष्फोटनमुक्त प्रमाणपत्रका नाममा भारतले नेपाली नम्बरप्लेटका निर्माण भइसकेका बुलेट सञ्चालनमा अवरोध गरिरहेको छ । भारतको ‘एक्स्प्लोसिभ’ डिपार्टमेन्टले उक्त प्रमाणपत्र जारी गरेपछिमात्र भारतीय आयल निगमले ग्यास लोड गर्न दिन्छ ।
प्रधानमन्त्री देउवाको हालै भएको उच्चस्तरीय भारत भ्रमणमा पनि बुलेट सञ्चालन गर्न सहमति कायम गर्ने सम्बन्धी मुद्दालाई प्रमुखताका साथ समेटिएको थियो । तर, उक्त विषयमा भारतले चासो नदेखाएपछि व्यवसायी यसबाट रुष्ट भएका छन् ।
भारतले ग्यास ढुवानीमा रहेको आफ्नो एकाधिकार कायमै राख्न खोजेको व्यवसायीको बुझाई छ ।
यसअघि परराष्ट्रमन्त्री कृष्णबहादुर महराको भारत भ्रमणमा पनि विदेशमन्त्री सुष्मा स्वराजले नेपाली नम्बर प्लेटका बुलेट सञ्चालन गर्न नदिने मनसाय व्यक्त गरेकी थिइन् ।
हाल भारतीय नम्बरप्लेटका झण्डै ६ सय बुलेटले नेपालमा ग्यास ढुवानी गर्छन् । ती बुलेटमार्फत हाल मासिक करीव ३० हजार मेट्रिक टन ग्यास आयात हुन्छ ।


















