संगीतका साधक उस्ताद यशराज

320

नेपालमा रही भारतीय संगीतको साधना गरिरहेका व्यक्ति हुन् उस्ताद यशराज । हिमालयको भूमि नेपालमा आफ्ना शिष्यहरुका साथमा उनी अनवरत रुपमा संगीत साधनामा लीन छन् । उस्ताद यशराजको संगीत साधना नयाँ पिँढीको लागि अनुकरणीय छ, जो निरन्तर कठोर साधना र लगनबाट निर्जीव वाद्ययन्त्रमा प्राण भर्दै आएका छन् ।
उस्ताद यशराज स्व. जलेशानन्द राजोपाध्यायका सुपुत्र हुन्, जो आफ्नो समयका प्रख्यात इसराज बादक थिए । त्यही कारण उस्ताद यशराजको बाल्यकाल सांगीतिक वातावरणमा बित्यो, अर्थात् उहाँको संगीत संस्कार नै आफ्नो पिताको सान्निध्यमा तबलावादनबाट आरम्भ भयो । तर, अल इण्डिया रेडियोबाट प्रसारित हुने विख्यात सरोद वादक उस्ताद अली अकबर सरोेदवादनबाट उहाँ प्रभावित हुनुभयो र सरोदवादनतर्फ तनमनले आकर्षित हुनुभयो ।

 
त्यसपछि त सरोद वादन सिक्ने १२ वर्षीय बालकको हठको अगाडि उहाँको पिता पनि झुक्न बाध्य भए । अझ यसो भनौं सरोदप्रति आशक्त आफ्नो छोरालाई देखेर उहाँले कोलकातामा रहेका प्रख्यात सरोदवादक उस्ताद अली अकबर खाँ साहबको भरोसामा छोडदिए । साथै ३ हजार रुपया र एउटा सरोद पनि किनिदिए । बालक यशराजलाई आफ्नो इच्छाअनुसार गुरु, प्रिय वाद्ययन्त्र सरोद र भारतको सपनाको शहर कोलकाता प्राप्त भयो ।
आफ्नो पिताको सहयोग तथा आशीर्वाद र गुरुको कृपाका कारण उनीसहित उनको वाद्यवादन कला पनि जवान र परिपक्व हुँदै गयो । अब उनी रेडियो नेपालको माध्यमबाट घरघरमा परिचित हुन थाले । आज उहाँ भारतीय संगीतको सुगन्ध नेपालको विशुद्ध हावाको माध्यमबाट विश्वका कुनाकुनामा फैलाइरहेका छन् ।

 
उस्ताद यशराज अनेक प्रतिष्ठित सम्मानद्वारा सम्मानित भइसकेका छन् । उनको विचारमा संगीत संस्कृतिको संवाहक हो, संगीतलाई आफ्नो परिवारमा मात्र सीमित राख्नु संगीतको भ्रष्टाचार गर्नु हो । त्यसैले उहाँ थुप्रै भारतीय तथा नेपाली शिष्यलाई विनाभेदभाव सरोदको शिक्षा र संस्कार प्रदान गर्दै आउनुभएको छ ।
हाल उहाँ नेपालमा रहँदै भारतसहित विश्वका अन्य देशका प्रतिष्ठित मञ्च तथा समारोहमा आफ्नो सरोदका साथ सशक्त रुपमा उपस्थित हुँदै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here