गोरखा । तीन वर्षयता रोकिएको लिगलिगे दौडले यस वर्षदेखि निरन्तरता पाउने भएको छ । ११ औं संस्करणको ‘लिगलिगे दौड’ कात्तिक १ गते हुने आयोजक लिगलिगकोट विकास अभियानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । कोभिड महामारीका कारण रोकिएको लिगलिगे दौड २०७७ यता भएको छैन ।
यस वर्ष खुला, स्थानीय तथा विद्यार्थीको गरी तीन विधामा प्रतियोगिता हुने आयोजकले जनाएको छ । खुलातर्फ स्वदेशी तथा विदेशी खेलाडीले समेत सहभागिता जनाउन पाउने लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले बताए ।
स्थानीयतर्फ भने साविकको आँपपीपल, पालुङटार, खोप्लाङ, छोप्राक र हर्मी गाविसमा स्थायी बसोबास भएका पुरुष मात्र सहभागी हुन पाउनेछन् । खुला र स्थानीतर्फको दौडको दूरी समान छ । स्थानीयतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौं हुनेले तीन हजार पुरस्कार पाउनेछन् । विद्यार्थीतर्फको विधामा पहिलोले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ७ हजार, चौथोलाई ५ हजार र पाँचौंलाई तीन हजार नगदको व्यवस्था गरिएको छ ।
विद्यार्थीतर्फको प्रतियोगितामा १८ वर्ष उमेर नकटेका छात्रले सहभागिता जनाउन पाउनेछन् । सहभागीलाई विद्यालयको सिफारिसपत्र पेस गर्न अनिवार्य गरिएको छ । विद्यार्थीले तीन किलोमिटर दौड पूरा गर्नुपर्ने थापाले बताए । विद्यार्थीका लागि पालुङटार नगरपालिका–३ मैवलबाट तीन कालिका मन्दिरसम्म दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले असोज २५ गतेसम्म अनलाइन फाराम भर्न सक्ने पनि थापाले बताए ।


















