काठमाडौं÷ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कोशी उच्च बाँध निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग कुनै सम्झौता गरेको जानकारी आफूलाई नभएको जनाउनुभएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा मात्र त्यो विषय उल्लेख भएकोले त्यसलाई सम्झौता गरेको अर्थमा बुझ्न नहुने भन्दै प्रचण्डले भारतसँग समझदारी मात्र गरेको र यस भ्रमणमा कुनै पनि नयाँ विषयमा सम्झौता नभएको जानकारी आफूले पाएको स्पष्ट पार्नुभयो ।
विराटनगरमा सञ्चारकर्मीसित बोल्दै कोशी उच्च बाँधको विषयमा आफ्नो पार्टीको पुरानो अडान र दृष्टिकोण कायम रहेको स्पष्ट पार्दै प्रचण्डले भारतमा भएका समझदारी र संयुक्त वक्तव्यमा उल्लेख भएका विषयहरू बारे अध्ययनपछि अन्तिम टिप्पणी गर्ने उल्लेख गर्नुभयो ।
विराटनगरस्थित भारतीय कन्सुलर कार्यालय हटाउन पटकपटक निर्देशन दिइए पनि नहटेकोबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा अध्यक्ष प्रचण्डले कन्सुलर कार्यालय हटाउने निर्णयमा आफ्नो पार्टी कायम रहेको र निर्णय भएर पनि भारत पक्षबाट त्यसको कार्यान्वयन नहुनु विडम्बना भएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भने आफ्नो भारत भ्रमणबाट देशको शिर उच्च भएको दाबी गरेका छन् । पाँचदिने भ्रमण सकेर फर्कनुभएका प्रधानमन्त्री देउवाले विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका हुन् । भ्रमणका क्रममा भएका सम्झौता र दुईपक्षीय कुराकानीलाई लिएर केही मिडिया र राजनीतिक वृत्तमा आलोचना भइरहँदा त्यसको बचाउ गर्दै प्रमले भ्रमणमा हाम्रो मुख्य प्राथमिकता नेपाल र भारतबीच विश्वासको आधारशिलालाई मजबुत बनाउने रहेको दाबी गरे ।
संविधान संशोधनको आन्तरिक विषयमा भारतमा चर्चा भएको भन्ने नेपालमा उठेको विषयमा भारतमा जानकारी दिँदै प्रधानमन्त्री देउवाले त्यो विषय प्रश्नोत्तरका क्रममा प्रसंगवश आएको खुलासा गर्नुभयो ।
जनधारणा साप्ताहिक

















