राजनीतिमा महिला किन सधैं दोस्रो दर्जा ?

420

राज्यलक्ष्मी शाक्य

देशमा अहिले चुनावी माहोल छाएको छ । यो वर्ष नै लगभग चुनावी वर्ष जस्तो हुने भएको छ । वैशाखदेखि सुरु भएको चुनावी माहोल कात्तिक मंसिर हुँदै माघसम्म पुग्ने निश्चित छ । राजनीति देशकै प्रमुख नीति हो । यो देशका सबै पक्षसँग सम्बन्धित हुन्छ, कोही पनि यसबाट अछूतो हुन सक्दैन । राजनीतिले प्रभाव वा असर हरेक क्षेत्रमा पारेको हुन्छ । त्यसकारण पनि राजनीति सबैको केन्द्रविन्दुमा रहेको हुन्छ । राजनीतिले ठूलो संख्यामा रहेका देशका महिलालाई नछुने कुरै भएन । ठूलो संख्यामा महिलाहरू पनि राजनीतिक क्षेत्रसँग आबद्ध छन् । वर्षौंदेखि थुप्रै महिलाहरूले राजनीतिलाई आफ्नो कर्मक्षेत्र बनाइरहेका छन् । उनीहरूले आफ्नो महत्वपूर्ण र ऊर्जावान् समय राजनीतिक दलहरूलाई दिएका छन् । आफ्नो पार्टीका लागि उनीहरूले रगत पसिना बगाएका छन् । कतिपय महिलाले त पार्टी र देशका लागि सहादत पनि प्राप्त गरेका छन् । तर, के उनीहरूले देश र पार्टीका लागि भनेर गरेको योगदानको कदर भएको छ त ? के महिलाले राजनीतिक क्षेत्र जुन सम्मान र स्थान पाउनुपर्ने हो त्यो पाएका छन् त ? के उनीहरूले प्रशस्त अवसर पाएका छन् त ? उनीहरू पुरुषहरूको भीडमा आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित त भएका छैनन् ? यस्ता प्रश्नहरूको खोजी आजसम्म गरिएको छैन ।
नेपालको राजनीतिक क्षेत्रमा विभिन्न सामन्ती शासन ढाल्न आन्दोलनको अग्रमोर्चामा खटिनेमा महिलाहरू पनि ठूलो संख्यामा छन् । विद्रोह, सशस्त्र युद्ध, जनयुद्ध तथा क्रान्तिकारी भूमिकामा जहिले पनि महिलाले पुरुष समान भूमिका निर्वाह गरेका छन् । पुरुषहरूकै दाँजोमा त्याग, तपस्या र बलिदान पनि दिएका छन् । तर, दुर्भाग्यवश भन्नुपर्छ जुन योगदानबापत उनीहरूले स्थान पाउनुपर्ने हो त्यो स्थान अझै पाउन सकेका छैनन् । अझै पनि नेपालको राजनीतिक क्षेत्रमा महिलालाई दोस्रो दर्जाकै रूपमा राख्ने प्रचलन छ । उनीहरूलाई कमै मात्र प्रमुख जिम्मेवारी दिइने गरिन्छ । कुनै स्थान दिइए पनि त्यो एक÷दुई जनाले मात्र पाउँछन् । आजसम्म कार्यकारी भूमिकाको रूपमा चिनिने देशकै सर्वोच्च पद मानिने प्रधानमन्त्री बन्न महिला नसक्नुले पनि यो कुराको पुष्टि गरेको छ । यसको प्रमुख कारण महिलाहरूमाथि अविश्वासर र उनीहरूको योगदानको अवमूल्यन हो । पुरुषहरूको सिन्डिकेटका कारण वर्षौंदेखि महिलाहरूले राजनीति उचित स्थान पाउन सकेका छैनन् ।
वर्तमान समयमा महिला पनि पुरुष समान छिन्, पुरुषले गर्नसक्ने जुनसुकै काम महिलाले पनि गर्न सक्छन् भनेर पुष्टि गरिरहनुपर्ने आवश्यकता छैनन् । किनकि त्यसका थुप्रै उदाहरणहरू हाम्रासामु छन् । तर पनि महिलाको त्यो क्षमतालाई नेपालको राजनीतिक क्षेत्रले अझै बुझ्न सकेको छैन । अझै नेपालको राजनीति महिलालाई कमजोर र दोस्रो दर्जाको प्राणीकै रूपमा ठान्छ । महिला भनेका पुरुषभन्दा कमजोर रहेको भन्दै पितृसत्तात्मक अहंकार पालेर बसेको छ । यो कुरा कुनै भावनामा बगेर वा आवेशमा गरिएको होइन । किनकि स्थानीय तहको पहिलो र दोस्रो चरणको चुनावमा किन महिलाले केवल उपप्रमुख पदमा मात्रै टिकट पाएका छन् त ? के उनीहरूले एउटा गाउँ, नगरपालिका हाँक्न सक्षम छैनन् ? के महिला पुरुषसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ? महिलाप्रतिको यो कस्तो अनविश्वास हो ?
अब तेस्रो चरणको चुनाव प्रदेश नम्बर २ मा हुँदै छ । निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार घोषणा गर्दै छन् । तर, तिनीहरूको उम्मेदवारको अवस्था हेर्ने हो भने अधिकांश प्रमुख पदमा पुरुषहरूको नामावली छ । अनि मात्र महिलालाई स्थान दिइएको छ । के यो समग्र महिला शक्तिको अवमूल्यन होइन ? के यो प्रवृत्ति महिलालाई अझै पनि दबाएर राख्ने सोचको उपज होइन ? के यो पितृसत्तात्मक सोचको घिनलाग्दो पराकाष्ठा होइन ?
माथि भनिएझैं देशको प्रमुख नीति राजनीतिमा नै यसरी महिलालाई विभेद गरिन्छ, उसको कार्यक्षमतामाथि प्रश्न उठाइन्छ, महिलालाई हरेक पटक कमजोर साबित गर्ने प्रयास गरिन्छ भने अरु कुन ठाउँमा महिलालाई सबल र सक्षम बन्न सक्छन् ? यो कुरालाई हाम्रा कुनै पनि प्रजातान्त्रिक वा क्रान्तिकारी पार्टीले बुझ्न सकेका छैनन् । न त त्यस पार्टीमा रहेका महिला नेतृहरूले नै यो कुरालाई उठाउन सकेका छन् । अबका चुनावमा पनि यही अवस्था रहने लगभग निश्चित छ । तर, अब यस्तो नहोस् भनेर आवाजहरू उठून्, यही कामना छ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here