चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा ३६ अर्ब लगानी गर्ने

480

काठमाडौँ । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो ।

सम्झौताअनुसार ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

परियोजना लगानी सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र कम्पनीका तर्फबाट निर्देशक लाइ वेईपेङले हस्ताक्षर गरे। हस्ताक्षर समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनियाँ राजदूत यू होङको उपस्थिति थियो ।

परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको करार हो । सम्झौतामा दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानीको सुरक्षाको प्रत्याभूति गरिएको उल्लेख गरे । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा कारखाना स्थापना गर्नेछ । कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ । आयोजनामा नेपालको शिवम् होल्डिङ समूहको लगानी रहेको छ । कम्पनीले सन् २०१८ भित्र उत्पादन सुरु गर्नेछ । शुरुमा दैनिक ६ हजार टन क्षमताको हुने सो उद्योगको उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पुर्याउने लक्ष्य रहेको छ ।

आयोजनाका लागि तत्काल नेपाल विद्युत् प्राधिकरणले दुई मेगावाट विद्युत् उपलब्ध गराएको छ । कारखानाका लागि करिब १२ मेगावाट विद्युत् जरुरी रहेको छ । परियोजनामा चिनियाँ कम्पनीको ७० प्रतिशत र नेपाली साझेदारको ३० प्रतिशत लगानी रहनेछ ।

नेपालमा नै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने र सिमेन्ट उद्योगमा पूर्णरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कारखाना स्थापना गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here