लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आएः प्रचण्ड

142

सिमरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुमा नै दस महिनामा प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आइपुगेको बताएका छन्।
सोमबार बिहान सिमरामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्ने बेला देशको विदेश नीति लड्खडाएको थियो, राष्ट्रिय एकता जोखिममा थियो । मधेश र पहाड एक आपसमा भिडेर देश नै भीडन्तमा जाने त होइन ? भन्ने परिस्थिति थियो। तर, मैले दस महिनामा जुन काम गरें, त्यसबाट एमालेका साथीहरु पनि मलाई प्रधानमन्त्री नछोड भन्ने ठाउँमा आई पुग्नुभयो । मलाई लम्पसारवादी भन्ने साथीहरु नै ठूलठूला षड्यन्त्र चिरेर स्थानीय तह र स्थानीय चुनाव गरेपछि राजनेता तपाईं नै हो भन्न थाल्नुभयो । यो सामान्य मेहेनतले भएको होइन ।’
‘माओवादीकै नेतृत्वमा निजगढ बिमानस्थल बन्दैछ, फास्ट ट्रयाक बन्दैछ, हुलाकी मार्ग बन्दैछ’, प्रचण्डले भने ‘७.५५ आर्थिक वृद्धि, मूल्य नियन्त्रण, विकास आयोजनाहरुमा तिब्रता, लोडसेडिङको अन्त्य जस्ता काम भएका छन्, यसलाई इतिहासले भुल्ने छैन ।’
प्रचण्डले भने, ‘अहिले देशमा दुई खाले अतिवादीहरु छन् । एउटा अतिवादले पहाडलाई मात्र देख्छ, अर्को अतिवादले मधेशलाई मात्र देख्छ । हामी यी दुवै अतिवादको विपक्षमा छौं, राष्ट्रिय एकताको पक्षमा छौं ।’
राजपा केन्द्रीय सदस्य सहित ५०० जना प्रवेश
कार्यक्रममा राष्टिय जनता पार्टी (राजपा) परित्याग गरी केन्द्रीय सदस्य योगानन्द चौहानसहित ५०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै राजपाका केन्द्रीय सदस्य चौहानले ‘मधेशवादी दलले मधेशी जनताको भावनालाई किनबेच गरेको बताए । उनले भने, ‘हामी मधेश र मधेशी जनताको अधिकारका लागि लाग्यौं । तर, नेताहरुले हाम्रो भावनाको व्यापार गरे, मधेशको मुक्तिका नाममा आफ्नो स्वार्थ पुरा गरे । हिमाल, पहाड, मधेश र जाति, जनजातिको अधिकार चाहने एक मात्र पार्टी भएकाले म माओवादीमा प्रवेश गरें ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here