हिन्दू भनेको भारतीय नागरिकलाई बुझाउने शब्द हो

360

चन्द्रप्रकाश बानियाँ

खास गरेर, नेपालको खस समाजमा आफ्नो बायोडाटा तयार गर्दा धर्मको महलमा ‘हिन्दू’ लेख्नु एउटा स्थापित परम्परा नै बनिसकेको छ । कहिलेदेखि यस्तो परम्परा चलेको हो कुन्नी ? जेहोस् त्यसको इतिहास त्यतिधेरै पुरानो होला जस्तो लाग्दैन । आफूले मान्ने धर्मसंस्कारको नाम हिन्दू हो भन्ने बुझाईका कारणले आफूलाई हिन्दू भन्ने गरेको हुनुपर्छं, सायद ! तर आफूलाई हिन्दू भनेर घोषणा गर्दा प्रकारान्तरले त्यसको अर्कै अर्थ लाग्न जान्छ भन्ने कुरातिर भने ध्यान नदिएर हचुवाकै भरमा लेख्नबोल्न थालिएको होला जस्तो लाग्छ । अमेरिकामा बस्ने मानिस अमेरिकी कहलिन्छ, पाकिस्तानमा बस्ने मान्छे पाकिस्तानी भनिन्छ । नेपालमा बस्ने मानिसहरूलाई नेपाली भनिएजस्तै हिन्दुस्तानमा बस्ने मानिसलाई हिन्दूस्तानी वा हिन्दू भनिन्छ । नेपालमा बस्ने मानिसहरू कहिलेदेखि कसरी हिन्दू भनिन थालेका होलान् अनि नेपाली र हिन्दूलाई पर्यायवाची कसले कुन उद्देश्यले बनाएको होला भन्ने स्वाभाविक जिज्ञासा सबैका मनमा उठ्छ होला ? हिन्दू नाम नेपालीहरू आफैले राखेका हो भने त्यो सुविचारित चेष्टाको परिणाम होइन भन्न धकमान्नु पर्दैन । ‘श्राद्धमा बिरालो बाँध्नु’ भनेजस्तै संस्कार, परम्परा र रीतिस्थितिप्रति जडताको हदैसम्मको कट्टरता नेपाली समाजको परिचय नै बनिसकेको छ ।

 

मेरा मावली रखाले कटवालहरूले ‘देवता रिसाउँछन्’ भनेर आफ्नो घरमा कमेरो पोत्दैनन् । मुडुला कार्कीहरूले ‘गाई भैसीहरू रुख चढ्न थाल्छन्’ भनेर तिहारमा सप्तरङ्गी ठाडो टिका लगाउँदैनन् । त्यस्ता रुढीवादी मान्यताहरूमा सत्यता छ कि छैन भनेर परीक्षण गर्ने हिम्मत समाजले आजसम्म गर्न सकेको छैन । त्यस्तै जड परम्पराहरूप्रतिको अन्ध आस्थाकै कारणले हिन्दू र नेपाली बीचको फरक छुट्याउने विवेक नेपाली समाजले गुमाएको होला ।
‘यो मुलुक (नेपाल) असली हिन्दूस्तान रह्या’छ’ भनेर पृथ्वीनारायण शाहले कुन आधारमा भनेका होलान् कुन्नी ? सायद, कहिल्यै पनि मुस्लिम र इसाइहरूको साम्राज्यअन्तर्गत नरहेको ‘चोखो भूखण्ड’ भन्ने अर्थमा नेपाललाई ‘असली हिन्दूस्तान’ ठह¥याएका होलान् । यवन र ल्मेच्छहरूका पाउले नकुल्चेको पवित्र माटोलाई चोखो अर्थात असल मान्ने कुरा एउटा हो तर नेपाललाई ‘हिन्दूस्तान’ मान्नु अर्को कुरा हो । निर्धक्क भन्न सकिने यथार्थ के हो भने हिमश्रृङ्खलाको काखमा अवस्थित यो भूमि कहिल्यै कुनै युगमा पनि हिन्दूस्तानअन्तर्गत रहेको इतिहास प्रमाण भेटिदैन । हिन्दू धर्मग्रन्थहरूले हिमालयको दक्षिणतिरको उपमहाद्विपलाई ‘भरतखण्ड’ वा ‘भारतवर्ष’ भन्ने नाम दिएको देखिन्छ । हिमाल वारी पारी फरक संस्कृति सभ्यता रहेको हुनाले भारतवर्षको उत्तरी सिमा हिमालय श्रृङ्खलालाई मान्ने गरिएको भए तापनि यो नेपाल नामको भूमिमा वैदिक धर्मसंस्कृति र जातिको शासन कहिल्यै कायम भएको थिएन । त्यसैले खस र मङ्गोल जातिको साझा फुलबारीको रूपमा रहेको यो भूखण्ड हिन्दूस्तान होइन । मुलुक हिन्दूस्तान नभएपछि त्यसका नागरिकलाई हिन्दू भन्न पनि मिल्दैन ।

 
असली हिन्दूस्तान निर्माण गर्ने चाहना राख्ने पृथ्वीनारायण शाहले आफूले आर्जेको राज्यको नाम ‘नेपाल’ राखिदिए । उनले अधुरो छोडेको काम उनका नवौ पुस्ताका सन्तति महेन्द्रले पूरा गरिदिएका हुन् । अर्थात २०१९ सालको पञ्चायती संविधानमा पहिलोचोटि नेपाललाई ‘हिन्दू राष्ट्र’ को संवैधानिक मान्यता दिइएको हो । संविधानमा राजा हुनका लागि ‘हिन्दू धर्म मान्ने शाहवंशी राजाको जेठो छोरा’ हुनुपर्ने कुरा किटान गरियो । राजाले मान्ने धर्म स्वतः राज्यधर्म घोषित भयो । राजाले मान्ने धर्म हिन्दू भएको हुनाले नेपालमा बसोबास गर्ने सबै नागरिकहरू हिन्दू भनिए । यसरी नेपाली र हिन्दूलाई पर्यायवाची संज्ञा बनाउने कोशिस गरिएको हो । सायद तत्कालीन दरबारीया पण्डितहरूको अज्ञानताकै कारणले राजाले मान्ने धर्मलाई हिन्दू नामाकरण गरिएको होला । नेपाललाई हिन्दूराष्ट्र घोषित गर्ने गराउने त्यो चेष्टा एउटा गल्ती थियो । २०६४ को अन्तरिम संविधानले त्यो ऐतिहासिक गल्ती सच्याइदिएको थियो । तर फेरि पनि त्यही गल्ती दोहो¥याउनुपर्ने ढिपी नेपाली समाजले गर्न थाल्नु विडम्बना नै हो ।

 
हिन्दू एउटा राष्ट्रियता हो । त्यो एउटा जाति वा नश्ल पनि हो । पश्चिमका फारसी, अरबी, वेलायती र पुर्तगालीहरूले सिन्धुघाँटी पूर्वको भारतीय उपमहाद्विपमा बस्दै आएको जाति ‘वैदिकआर्य’लाई हिन्दू नाम दिएका हुन् । भारतीय उपमहाद्विपमा विस्तारित त्यस जातिको साइनो सम्बन्ध नेपालका खस–मङ्गोलहरूसँग थिएन । त्यसैले नेपालमा हालसम्म अस्तित्वमा रहेका सयभन्दा बढी जाति जनजातिहरू हिन्दू थिएनन्, होइनन् । हिन्दू भनेको त भारतीय नागरिकलाई बुझाउने संज्ञा हो । नेपालीहरूले आफूलाई हिन्दू भनाउन गौरव मान्नु अराष्ट्रवादी सोचको परिणाम हो । नेपालीहरू गोर्खाली, लिम्बुवानी, मधेसी, सिञ्जाली आदि हुनसक्छन् तर हिन्दू कीमार्थ हुन सक्तैनन् । नेपाली खसहरूले हामीले मान्ने धर्म हिन्दू हो र हिन्दू धर्मालम्बी भएको कारणले हामी हिन्दू हौं भन्नु एउटा नितान्त भ्रान्त धारणा हो । भारतवर्षमा विकसित भएको धर्म ‘वैदिक’ हो, हिन्दू होइन ।

 
यतिबेला नेपालका धर्मधुरन्धरहरूले आफूहरूलाई हिन्दू भनाइमाग्ने मात्रै होइन मुलुकलाई समेत ‘हिन्दूराष्ट्र’को परिचय दिनुपर्ने आग्रह राखेर अभियान चलाउन थालेका छन् । त्यसको कारणका रूपमा आफूहरूले मान्ने धर्म हिन्दू हो र हिन्दूहरूको संख्या ठूलो रहेको कारण मुलुक नै हिन्दू धर्मसापेक्ष रहनुपर्ने तर्क अघि सार्छन् । वास्तवमा हामीले मान्ने धर्म हिन्दू हो भन्ने कुरा नै विवादास्पद मान्यता हो । संसारमा हिन्दू नामको कुनै धर्मको अस्तित्व छैन । हिन्दू धर्मग्रन्थको रूपमा परिचित वेद, पुराण, ब्राह्मण, उपनिषद आदि सबै वैदिक धर्मग्रन्थहरू हुन् । ती कितावहरूमा हिन्दू नामकोे शब्दको अस्तित्वसम्म पनि फेला पर्दैन । हिन्दूधर्मको नाममा एउटा सम्म पनि पुस्तक लेखिएको छैन । अस्तित्वमा हुँदै नभएको धर्मको सती जानुभन्दा मूर्खतापूुर्ण व्यवहार अरु के हुन सक्छ र ?

 
पाकिस्तानमा बस्ने मानिसहरूको धर्म इस्लाम हो, पाकिस्तानी होइन । अमेरिकीहरूको धर्म पनि अमेरिकन भनिदैन, इसाई भनिन्छ । त्यसै गरेर हिन्दूस्तानमा बस्ने मानिसहरूको धर्म पनि हिन्दू होइन, वैदिक हो । आर्यहरूले विकास गरेको धर्मसंस्कृतिलाई वैदिक धर्मसंस्कृति भनिन्छ । आर्यहरूको वासस्थानमा हिन्दू नामको कुनै धर्म विकसित भएको थिएन, छैन । हिन्दूस्तान एउटा राज्यको नाम हो । हिन्दू भन्नाले हिन्दूस्तान भन्ने देशको नागरिक भन्ने अर्थ लाग्दछ । नेपालीहरू हिन्दूस्तानका नागरिक होइनन्, कहिल्यै बनेका थिएनन् र बन्न पनि चाहँदैनन् भने उनीहरूलाई हिन्दू किन कसरी भन्न मिल्छ र ?

 
जुनसुकै धर्मसंस्कृति मान्ने भए पनि नेपालमा बस्ने जातजाति, भाषाभाषी र धर्मसम्प्रदायीहरू सबै नेपाली नै हुन् । तिनलाई हिन्दूस्तानी वा त्यस्तै अर्थ लाग्ने अर्को कुनै सम्बोधन गर्न मिल्दैन । गर्नु हुदैन । हिन्दू भन्ने शब्दावलीले नेपालेत्तर कुनै अर्को देशको नागरिक भन्ने अर्थबोध गराउने भएको हुनाले सबै नेपालीहरूले आफूलाई हिन्दू भनाउन छोड्नुपर्छ । हिन्दू र हिन्दूत्वप्रतिको मोह त्याग गर्नुपर्छ । धर्मकै नाममा किन नहोस् नेपालीहरूलाई हिन्दू भनाउने प्रपञ्चभित्र नेपालको स्वतन्त्र अस्तित्व समाप्त पार्ने षडयन्त्रको गन्ध आउँछ । नेपाललाई सांस्कृतिक रूपमा मात्र होइन भौगोलिक दृष्टिले पनि भारतबाट अलग होइन भनेर सिद्ध गर्ने प्रयत्नको छनक मिल्दछ । बेला बेलामा सार्वजनिक हुने लुम्बिनी र सगरमाथामाथिको अनाधिकार हक दावीबाट त्यही आशय प्रमाणित हुन्छ । पहिलो कुरा त हिन्दू नामको कुनै धर्मविशेष छँदै छैन । सनातन वैदिक धर्मलाई नै हिन्दू धर्म हो भनेर मान्ने हो भने संसारमा रहेको करिब एकअरबको हिन्दू धर्मावलम्बीहरूको संख्यामध्ये ९९ प्रतिशत भारतमा मात्रै छ । त्यस धर्मको उद्गमस्थल पनि भारत नै हो र असी करोड भन्दा बढी हिन्दूधर्मावलम्बीहरू रहेको मुलुकको संविधानले आधिकारिकता नदिएको धर्मलाई नेपालले शिरमा बोक्नुपर्ने आग्रहमा कुनै तुक छ जस्तो लाग्दैन ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here