राज्यलक्ष्मी शाक्य
केही दिनअघि प्राकृतिक तथा सांस्कृतिक रूपले धनी रहेको टिस्टुङ क्षेत्रको भ्रमण गर्ने मौका पाइयो । काठमाडौंको नजिकै रहेको यो क्षेत्र मकवानपुर जिल्लाअन्तर्गत पर्छ । निकै पुरानो नेवार बस्ती रहेको यस क्षेत्र प्राकृतिक रूपले पनि उत्तिकै मनमोहक तथा आकर्षक लाग्यो । काठमाडौ नेवा मिडिया प्रालिले ज्यापु साँस्कृतिक विकास कोषको सहकार्यमा थाहा नगरपालिकामा अवस्थित प्राचीन बस्ती टिस्टुङका १० गुठीलाई सांस्कृतिक बाजा वितरण गर्ने कार्यक्रमको सिलसिलामा पंक्तिकार पनि त्यहाँ पुग्ने मौका पायो । संस्कृति बुझ्ने क्रममा यहाँ लिच्छवीकालीन समयअघि ७ सय बस्ती रहेको र राज्य पुनःसंरचनाको क्रममा एउटै टिस्टुङ बस्तीमा ती बस्ती समाहित भएको रहेछ । पछि वज्रबाराही हुँदै हाल यो क्षेत्रलाई थाहा नगरपालिका भनिन्छ । निकै पुरानो यो बस्तीमा नेवारी समुदायको बाहुल्य छ । यहाँको बासिन्दाको संस्कृतिप्रतिको मोहले अझै लिच्छवी र मल्लकालीन संस्कृतिको झझल्को दिन्छ ।

यहाँ निकै नै महत्वपूर्ण र प्राचीन विभिन्न धार्मिक स्थलहरू रहेका छन् । बज्रबाराहीसहित चम्केश्वर महादेव, पालुङको ऋषेश्वर महादेवको मन्दिर र चित्लाङका सातधारा, अंशुबर्माको पालाका शिलालेखहरू यस क्षेत्रका साँस्कृतिक सम्पदा हुन् । बौद्ध र हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर वज्रबाराही मन्दिरमा तीन वर्षमा ठूलो मेला लाग्ने गर्दछ । राजा अंशु बर्माले यहाँ कोटदरबार स्थापना गरेको भग्नावशेष हाल पनि देख्न सकिन्छ । तर, त्यसको संरक्षणमा भने कसैको चासो पुग्न सकेको छैन ।
यहाँका नेवार समुदायले आफ्नो पुर्खाको धर्मसंस्कृति जोगाउँदै आएका छन् । उनीहरूको आफ्नो संस्कृतिप्रतिको मोह साँच्चै नै प्रेरणादायी पनि छ । उनीहरूको त्यही सत्कर्ममा सहयोग पु¥याउने विचारले काठमाडौ नेवा मिडिया प्रालिले ज्यापु साँस्कृतिक विकास कोषको सहकार्यमा टिस्टुङका १० गुठीलाई सांस्कृतिक बाजा वितरण गरिएको हो । कार्यक्रममा थाहा नगरपालिका वडा नं.१का कुन्छाल बाजं खलः र पालुङ्ग बाजं खलः, थाहा नगरपालिका वडा नं.६ का तेष्टुङ्ग बाजं खलः, द्योला बाजं खलः, लिलाखेल बाजं खल), थाहा नगरपालिका वडा नं.९का चित्लाङ्ग बाजं खलः(टौखेल) गरी ६ वटा खलःलाई खिं बाजा, ताः र बबूचा एक–एक सेट, थाहा नगरपालिका वडा नं.१का कुलगांउ बाजं खलः)लाई खिं बाजा १ थान, थाहा नगरपालिका वडा नं.६का कोठननी बाजं खलःलाई धाःबाजा १ थान, कपाली समाजलाई म्वायली बाजा १ थान र बौद्ध गुम्बा (ओखर गाउं)लाई परम्परागत लामा झ्याम्टा १ थान हस्तान्तरण गरिएका थिए ।
टिस्टुङ हाम्रो प्राचीन संस्कृति र सभ्यताको धरोहर हो, परिचायक हो । धर्मसंस्कृतिप्रति बढ्दै गएको बेवास्ताका कारण यस्ता प्राचीन स्थलहरू ओझेलमा पर्दै गएका छन् । टिस्टुङको जुन इतिहास रहेको छ, त्यो अहिले ओझेलमा पार्ने प्रयास हुँदै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । हाल यो क्षेत्रलाई थाहा नगरमा नामकरण गरिँदा टिस्टुङको इतिहास नै लोप हुनसक्ने गुनासो छ । त्यसकारण यस्ता पक्षमा पनि सम्बन्धित निकायको ध्यान जानुपर्ने उनीहरको भनाइ छ ।
टिस्टुङ जस्तै प्राचीन सभ्यता बोकेका धेरै स्थान नेपालभर रहेका छन् । तिनीहरूले इतिहास, जातजाति, धर्मसंस्कृतिको प्रतिनिधित्व गरेका छन् । त्यस्ता क्षेत्रको संरक्षण गर्नु हामी सबैकौ कर्तव्य हो । समयक्रमअनुसार परिवर्तन आवश्यक छ । तर, त्यस्तो परिवर्तनले हाम्रो इतिहास नमेटोस्, परिचय नै नबदलियोस्, त्यसतर्फ भने हामी सचेत हुनै पर्छ । [email protected]
जनधारणा साप्ताहिक















