उधौली पर्व धुमधामसँग मनाइँदै

122

काठमाडौं । नेपालका किरात समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौं लगायत देशभर आइतबार मनाइँदै छ।

नेपाली किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको उधौली पर्व देशभर पूजाआजा गरी मनाइँदै छ। मूलरुपमा यी जातजातिले आ-आफ्नो पुख्र्यौली थलोमा उधौली पर्व मनाउने गरेपनि पछिल्लो समय विभिन्न शहरमा पनि मनाउन थालिएको छ। आइतबार किराती समुदायले ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक रुपमा पूजाआजा गरेका उधौली पर्व मनाएका छन्।

यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पूजाआजा गर्ने गरेका छन्। खेतमा लगाएको बाली भित्र्याइसकेको यो समयमा बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म प्रकृतिले वातावरण अनुकूल पारिदिएको भन्दै प्रकृतिलाई धन्यवाद दिनु यस पर्वको विशेषता भएको किरात राई यायोक्खाका महासचिव जनक राई बताउँछन्।

उनले भने– ‘किराती समुदायहरु पितृ र प्रकृतिलाई मान्छन्। पितृलाई आज पूजा गर्ने र पितृ पुर्खाबाट सधैँ आर्शिवाद लिइराख्ने र पितृ पुर्खालाई सम्झना सम्मान गर्ने हो। उधौली भनेको जाडो महिना लाग्यो, अन्नबालि खेतमा पाक्यो र थन्क्याइसकियो भनेपछि थन्काउने सम्मको अवधिसम्ममा प्रकृति जुन अनुकुल भयो, त्यसले गर्दाखेरी अन्न ढिकुटीमा थन्क्याउन पायौँ । यसले गर्दा प्रकृतिलाई धन्यवाद दिने हो।’

आइतबार हात्तिवनस्थित किरात माङहिममा सामूहिक रुपमा पूजा गर्न किराती समुदायआ–आफ्नो मौलिक पहिरन र पहिचानमा भेला भएका थिए। पछिल्ला दिनहरुमा पुख्र्यौली थलोमा मात्र होइन यो समुदायका मानिसहरु जहाँ जहाँ छन् त्यहीँ सामूहिक रुपमा पर्व मनाउन थालेका छन्। किरात राई यायोक्खाका अध्यक्ष दिवस राई शहरकेन्द्रीत भएर पर्व मनाएपनि मौलिकतालाई मर्न नदिने बताउँछन्।

पूजा गर्दाखेरी पूजारीले मात्रै पूजा गर्नुपर्ने चलन रहिआएकोमा आजभोलि पूजारी(नछुङ)को अभाव हुने गरेको उनले बताए। यद्यपि नछुङलाई खोजेर ल्याएर भएपनि पूजाआजा गर्ने गरिएको र उनीहरुको प्रोत्साहन र वृति विकासका लागि समुदायले योजना बनाइरहेको उनको भनाइ छ।

नयाँ पुस्तालाई पनि यस पर्व मनाउनका लागि उत्प्रेरित गरिरहेको र मौलिक संस्कृतिलाई बचाउनका लागि नयाँ पुस्तालाई पनि सिकाएर अघि बढ्ने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here