बारा पुगेर प्रचण्डले भने -अतिवाद छोडौं, पहाड–मधेश जोडौं

131

बारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडेर पहाड र मधेशलाई जोड्न राजनीतिक दलहरुलाई अपील गरेका छन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि शनिबार बारा जिल्लामा आयोजित विभिन्न जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहाड र मधेशलाई जोड्न अपील गरेका हुन्। अध्यक्ष प्रचण्डले भने, ‘पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाड उभ्याउने सोचले देशको हित गर्दैन, राष्ट्रिय एकता बलियो हुँदैन, जनताले अधिकार पाउन पनि सक्दैनन् । त्यसैले सबै राजनीतिक पार्टीले पहाड र मधेशलाई भिडाउने होइन, जोड्नेतिर सोच्नुपर्छ ।’
“हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामी बाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिक भन्ने हैसियत थिएन । हामीले जनयुद्ध लडेर, १३०० को रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमा पुगेपछि मधेशवादी दल पनि संघीयता भन्न सक्ने भए, प्रचण्डले थपे, “अहिले मधेशी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन् ।’’
सभामा प्रचण्डले माओवादी ठूलो दिलको पार्टी भएको बताए । सिम्रौनगढमा आयोजित सभामा प्रचण्डले भने, “माओवादीको दिल निकै ठूलो छ । हामीमा संकिर्ण र अतिवादी सोच छैन । हामी हिमाल, पहाड र मधेशका जनतालाई समान माया गर्छौं, सम्मान गर्छौं, हामी कसैलाई अपमान गर्दैनौं र संकिर्ण सोच राख्दैनौं ।’

‘माओवादी मात्रै जनताको असली मित्र हो, साथी हो । हामी मधेशमा पहिचान, अधिकार र आर्थिक विकासको नेतृत्व गर्न चाहन्छौं’, प्रचण्डले भने, “तपाईहरुमा जुन जागरण आएको छ, अब माओवादीले त्यसको नेतृत्व गर्नेछ र जनताको अधिकार र विकासको चाहना पुरा गर्नेछ ।’
कार्यक्रममा सहरी विकास मन्त्री एवं माओवादी केन्द्रका नेता प्रभु साहले मधेश र मधेशी जनतालाई विकास र रोजगारी चाहिएको बताए। साहले भने, “हामी हिजो राजनीतिक परिवर्तनमा लाग्यौं । देशमा गणतन्त्र आयो, संघीयता आयो । अब मधेशमा विकास र रोजगारी चाहिएको छ । मधेशी जनता रोजगारी चाहन्छन्, गरिबीबाट मुक्ति चाहन्छन्, विकास चाहन्छन्, समृद्धि चाहन्छन्, पूर्वाधार निर्माण भएको सुन्दर मधेश देख्न चाहन्छन् । यो मधेशी र पहाडियाका नाममा दुश्मनी गरेर बस्ने जमाना होइन, विकास र रोजगारीका लागि काम गर्ने जमाना हो ।’
शनिबार दिनभर अध्यक्ष प्रचण्डले बारा जिल्लाका विभिन्न जनसभालाई सम्बोधन गरे । शनिबार कलैयाको सिसुवा, कलैयाकै बलरामपुर, बाराको गढीमाई, बाराकै सिम्रौनगढ लगायतका ठूला जनसभालाई सम्बोधन गरेका थिए भने आधा दर्जन वडा स्तरीय सभाहरुलाई सम्बोधन गरेका थिए ।
विभिन्न स्थानमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिव १२०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्ने नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्ड, मन्त्री प्रभू साह, गोपाल ठाकुर लगायतका नेताहरुले पार्टी प्रवेश गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here