प्रचण्डले भने -अहिलेसम्मका उपलब्धि गुम्न नदिन पनि माओवादीले चुनाव जित्नुपर्छ

200

लहान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताएका छन्।

सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता, समावेशीता, धर्मनिरपेक्षता माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएको र त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने दाबी गरे।

संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता विरोधी पार्टीलाई मत दिएर ठूलो बनाए नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धि उल्टिने र पुनः २०४६र४७ सालको अवस्थामा मुलुक फर्किने खतरा रहेको उनले बताए।

प्रचण्डले भने,‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी शक्ति माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेसी जनताको हातमा आएको छ।

त्यसैले यो अवसरलाई सही ढंगबाट सदुपयोग गर्नुहोला।’ मधेसको सच्चा हिमायती आफ्नो पार्टी मात्र रहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेसी नेता आफ्नो पार्टीमा प्रवेश गरिरहेको उल्लेख गरे।

आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेसलाई विश्वासमा लिन र त्यहाँका जायज माग सम्बोधन गर्न धेरै मिहिनेत गरेको बताउँदै उनले मधेसी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेसी दलको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबीसमेत गरे।

तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको पनि अध्यक्ष प्रचण्डले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here