काठमाडौं⁄ तेस्रो चरणमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले भदौ ३० देखि असोज १ गते सम्म मतदाता परिचय वितरण गर्ने जनाएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते मतदान हुने भएको हो । मतदान कार्य सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म छ हुने जनाइएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता रहेका छन् ।
निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ । गैरसरकारी संघ संस्थामार्फत पनि यस पटकको निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडक नाटकलाई पनि जोड दिइएको छ ।
आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै प्रवक्ता ढकालले भने, ’तेस्रो चरणको निर्वाचनमा आयोगबाट मतदाता शिक्षालाई बढी फोकस गरिएको छ । यस पटकको मतदाता शिक्षाले प्रभावकारी परिणाम दिनेछ ।’
तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधिको चयन हुनेछन । स्थानीय तहका विभिन्न पदमा ३७ हजारभन्दा उम्मेदवारी रहेको छ ।
निर्वाचनका लागि आवश्यक जनशक्ति, शान्तिसुरक्षा र निर्वाचन सामग्रीको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ । प्रदेश नं २ को निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन आचारसंहिता परिपालनमा पनि आयोगले निकै जोड दिँदै आएको छ । मतदाता परिचयपत्र लिन भरसक आफैँ मतदान केन्द्रमा पुग्न आयोगले मतदातालाई आग्रह गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here