काठमाडौँ⁄ बाढी प्रभावित क्षेत्रमा छ महिनाभित्र घर बनाउने गरी योजना तयार गर्न गृहमन्त्रीले मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ ।
आज गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठक रहेको थियो । सो बैठकमा मन्त्री शर्माले उक्त निर्देशन दिँदै “तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा छ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउन समेत निर्देशन दिनुभयो ।
उहाँले बाढीका कारण विस्थापितहरुको तथ्यांक तयार गर्न निर्देशन दिँदै अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री अहिले नै किन्नुपर्ने जनाउनुभएको हो ।
मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवीप्रकोप उद्धार समितिले स्याउला, खरलगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि दुई बण्डल जस्तापाता वितरण गर्ने निर्णयसमेत गरेको छ । यस्तै बाढी आएको बेला राहत र उद्धारमा विशेष भूमिका खेल्ने संघ संस्थालाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरुले आ–आफ्नो मन्त्रालय मातहतको क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको जनाइएको छ ।














