काठमाडौं । नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ वटाले लाभांश घोषणा गरेका छन्। बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस सेयर लाभांश दिने घोषणा गरेका हुन्।
लाभांश घोषणा गरेकामध्ये केहीका साधारण सभामार्फत वितरणको निर्णयसमेत पारित भइसकेका छन् भने केही बैंक साधारण सभाको तयारीमा छन्। अब सेयरधनीलाई लाभांश वितरणको घोषणा गर्न बाँकी रहेका बैंकमा सेञ्चुरी, सिभिल र कृषि विकास छन्। घोषणा भएका लाभांश नियामकको अनुमति र साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन्।
सबैभन्दा कम लाभांश घोषणा गर्नेमा नेपाल एसबिआइ बैंक रहेको छ। बैंकले ३ दशमलव ५ प्रतिशत बोनस सेयर र १ दशमलव ८१ प्रतिशत नगद गरी जम्मा ५ दशमलव ३१ प्रतिशतमात्र लाभांश वितरण गर्ने घोषणा गरेको छ।
त्यस्तै, हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१ दशमलव ३८ प्रतिशत बोनस सेयर तथा ४ दशमलव ६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश घोषणा गरेको छ। सानिमा बैंकले १७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९ प्रतिशत नगदसहित १७ दशमलव ८९, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा ३ प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा शून्य दशमलव ६३ प्रतिशत नगद गरी कुल १६ दशमलव ६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेका छन्।
त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट बैंकले १२ दशमलव ६१ प्रतिशत बोनस तथा तीन दशमलव ३८ प्रतिशत नगदसहित १६ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ बोनस तथा ३ दशमलव शून्य ८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने बताएका छन्।
लाभांश घोषणा गरेको एनएमबि बैंकले आफ्ना सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनस सेयर तथा ३ दशमलव ३ प्रतिशत नगदसहित १५ दशमलव ८ प्रतिशत, एनआईसी एशिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८ प्रतिशत नगद गरी १५ दशमलव ७८, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३ दशमलव ५ प्रतिशत नगद, सिद्धार्थ बैंकले १४ दशमलव २५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माछापुच्छ्रे बैंकले १३ दशमलव ३ बोनस तथा शून्य दशमलव ७ प्रतिशत नगदसहित १४ प्रतिशत, बैंक अफ काठमाण्डूले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत, ग्लोबल आईएमइ बैैंकले १० प्रतिशत बोनस तथा ३ दशमलव ५ प्रतिशत नगदसहित १३ दशमलव ५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस तथा तीन दशमलव शून्य ६ प्रतिशत नगद गरी १३ दशमलव शून्य ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ।
लाभांश घोषणा गरेकामध्ये १४ वटा बैंकले साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) को समय तोकेकामा ११ वटा बैंकको बुक क्लोज भइसकेको छ। बुक क्लोजको दिनसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन्छन्। घोषित लाभांशमध्ये नगद लगानीकर्ताले उपलब्ध गराएको बैंक खातामा र बोनस सेयर डिम्याट खातामा सोझै जम्मा हुने व्यवस्था छ।


















