प्राधिकरणमा कुलमानको एकवर्षः चुहावट तीन प्रतिशतले घटाउने योजना

133

काठमाडौं : एउटा मान्छे बदलिँदा सरकारी संस्थान सफलताको दिशामा जाँदो रहेछ भन्ने पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरणले।

सरकारले गत वर्ष आजैका दिन प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो। उनी कार्यकारी निर्देशकमा नियुक्त हुनु अगाडि प्राधिकरणले हिउँदमा सात घण्टा दैनिक विद्युतभार कटौती हुने प्रक्षेपण गरेका थिए।

प्राधिकरणको आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा थियो। सञ्चित घाटा बढ्दै गएको थियो। सञ्चालन खर्चसमेत बढिरहेको थियो।

विद्युतभार कटौतीका कारण मुलुकको आर्थिक, सामाजमा नराम्ररी प्रभावित भएको थियो। दैनिक जीवन कष्टकर थियो। मुलुकको आर्थिक अवस्थामा नराम्ररी प्रभावित भएको थियो।

गत वर्ष लक्ष्मीपूजाको दिनदेखि काठमाडौं उपत्यका र प्रमुख सहरमा विद्युतभार कटौतीको अन्त्य आज मुलुकभर फैलिएको छ। नागरिकमा सरकार र प्राधिकरणप्रतिको विश्वास बढेको छ। अँध्यारोको व्यापार गर्ने भनेर आरोप खेप्ने प्राधिकरणलाई हेर्ने दृष्टिकोण आज बदलिएको छ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा आज प्राधिकरणको प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर घिसिङले भने,‘म प्राधिकरणको नेतृत्व संहाल्न आउँदा समस्या नै समस्या थियो, तर आज एउटा नयाँ अवस्थामा आइपुगेका छौँ। विद्युतभार कटौतीको अन्त्य भएको छ। नागरिकमा एउटा नयाँ विश्वास पैदा भएको छ।’

उनले आर्थिक वर्ष २०७२र७३ मा तीन अर्ब छ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको प्राधिकरण दुई अर्ब ४० करोड ७३ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए।

आर्थिक वर्ष २०७२र७३ मा आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३र७४ मा ९७ करोड ८९ लाखमा सीमित भएको छ।

प्राधिकरणको वार्षिक बजेटमै आर्थिक वर्ष २०७३र७४ को घाटा करिब सात अर्ब ५० करोड हुने प्रक्षेपण गरिएको थियो।

अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खुद वार्षिक घाटा अझै कम हुने अनुमान गरिएको घिसिङले जानकारी दिए।

प्राधिकरणले नेपाली जनताको लगानी सुनिश्चित गर्न कम्पनी मोडलमा जलविद्युत् आयोजना निर्माण गर्ने निर्णय गरेको जानकारी दिँदै माथिल्लो अरुण, दूधकोशी, तमोर, उत्तरगंगा, आँधीखोला, राहुघाट, मोदी र तामाकोसी पाँचौँ जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिएको सो अवसरमा जानकारी दिइयो।

जलविद्युत् आयोजनामा परामर्श सेवा उपलब्ध गराउनका लागि प्राधिकरणको ५१ प्रतिशत, विद्युत् उत्पादन कम्पनी तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको १७र१७ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीको १५ प्रतिशत शेयर लगानी रहने गरी ‘एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड’ स्थापना गरी क्रियाशील बनाइएको समेत घिसिङको भनाइ छ।

देशलाई ऊर्जामा आत्मनिर्भर बनाई आर्थिक रुपमा समृद्ध बनाउन जनताको समेत लगानीमा जलविद्युत् आयोजनाको द्रुत गतिमा विकास गर्ने लक्ष्य राखेको छ। जलाशययुक्त र पिकिङ आयोजना निर्माणमा विद्युत् प्राधिकरणले विशेष पहल गर्ने तथा अन्य वैकल्पिक ऊर्जाको उचित समिश्रणलाई हुने गरी उत्पादन समिश्रण कायम गर्ने योजना अगाडि सारेको छ।

यस्तै पूर्व–पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारण लाइन निर्माण सम्पन्न गर्ने । छिमेकी देशसँग जोड्ने अन्तरदेशीय उच्च भोल्टेजका प्रसारण लाइन निर्माण गर्ने कार्यलाई जोड दिइएको छ।

ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने र प्राधिकरणलाई आर्थिक रुपमा सक्षम र सवल बनाउँदै व्यावसायिक संस्थाका रुपमा विकास गर्ने समेत कार्यकारी निर्देशक घिसिङको नयाँ कार्ययोजना रहेको छ।

प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वः उत्पादन वृद्धि, विद्युत् चुहावट घटाउँदै विद्युत्को बिक्री परिमाण बढाउने उपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने।

आगामी वर्ष पनि विद्युत् चुहावट करिब तीन प्रतिशतले घटाउने लक्ष्य राखिएको छ। गत आर्थिक वर्षमा तीन प्रतिशत नै चुहावट घटाउन सफल भएको प्राधिकरणले जनाएको छ।

आगामी दिनमा रातको समयमा खेर जान सक्ने विद्युत् र बढी विद्युत् माग हुने समयमा माग र आपूर्ति बीचको सन्तुलन कायम गर्न रुपा बेगनास पम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गर्ने प्रणालीको विकास गर्न लागिएको प्राधिकरणको भनाइ छ।

आगामी १० वर्षभित्र करिब १२ हजार मेगावाटसम्मको विद्युत् खपत गर्न सक्ने गरी मुलुकका प्रमुख सहरी तथा औद्योगिक क्षेत्रमा वितरण प्रणाली विस्तार गर्ने नीति प्राधिकरणले लिएको छ।

विद्युत् चुहावट घटाउन, सेवा प्रवाहमा दक्षता अभिवृद्धि गर्न तथा ग्राहकलाई थप सुविधा उपलब्ध गराउन स्मार्ट मिटर र स्मार्ट ग्रिडलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने, अनलाइन तथा एकीकृत भुक्तानी प्रणालीलाई अवलम्बन गरी ग्राहकलाई थप सुविधा उपलब्ध गराउने पनि प्राधिकरणको लक्ष्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here