काठमाडौं / आगमी दुई वर्षका लागि हुन गइरहेको गैर आवासीय नेपाली संघको चुनावमा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा भवन भट्टले गरेका छन् । अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेका भट्टले आज भदौ ३१ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका गरेका हुन् ।
गैर आवासीय नेपाली संघ जापानको स्थापनाकालदेखि सक्रिय रहेका भट्ट राष्ट्रिय समन्वय परिषदको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर काम सम्पन्न गरिसकेका छन् । आफू अबको कार्यकालमा अध्यक्षका लागि योग्य भएको दाबी भट्टले गरेका छन् । भट्टले भने –‘संस्थाको जिम्मेवारीमा स्वभाविक रुपमा खुट्किला उक्लिदै अगाडि बढेको अनुभव र यो अभियानमा आफ्नो तर्फबाट सक्दो योगदान गरिरहेको अवस्थामा अझ बढी जिम्मेदवारी सम्हाल्न मलाई सबैको सहयोग रहने विश्वास गरेको छु ।’
भट्टले गैर आवासीय नेपाली संघले अहिलेसम्म गरेका निर्णय र पूरा हुन बाँकी रहेका कामलाई निरन्तरता दिने बाचा गरेका छन् । लाप्राक नमुना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी–ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोषको विस्तार लगायतका कामलाई निरन्तरता दिने प्रतिबद्धता समेत भट्टले उमेदवारी घोषणा गर्ने क्रममा गरेका छन् ।


















