काठमाडौँ ः स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि भएको निर्वाचनअन्तर्गत आज बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको छ ।
प्रदेश नं २ मा १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा यो निर्वाचन भएको हो ।
मतदानका लागि निकै उत्साहका साथ मतदाता बिहान सबेरै मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नुभएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राससलाई जानकारी दिनुभयो । अहिले अधिकांश मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ । तराई–मधेशमा दिउँसो गर्मी हुने भएकाले पनि मतदाताको बिहान उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।
यस निर्वाचनबाट छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । गोप्य मतदानको प्रक्रियाद्वारा ‘एक पद एक मत’का आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ । तेस्रो चरणको निर्वाचनमा झण्डै छ गुणाभन्दा बढी कूल ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनुहुने हँुदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ ।
गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि यो मतदान हुन लागेको हो ।
मतदाताले कुनै कारणबसः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले वैकल्पिक व्यवस्थासमेत गरेको छ ।
नेपाली नागरिकताको प्रमाणपत्र वा विसं २०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले मिलाएको छ ।
स्थानीय तह निर्वाचनमा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई प्रदेश नं २ का जनकपुर, बर्दिवास, वीरगञ्ज र सिमरामा मतदानको दिन अवलोकन भ्रमण गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
पर्सामा मतदान शान्तिपूर्ण
पर्सा जिल्लामा आज बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ ।
पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्णरुपमा शुरु भएको छ ।
वीरगञ्ज महानगरपालिका–३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्नुभएको छ ।
यसैगरी सोही मतदान केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो मताधिकारको प्रयोग गर्नुभयो ।
जिल्लामा दुई लाख ८० हजार २१२ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा जम्मा हुनेक्रम बढ्दै गएको छ ।
सुरक्षा व्यवस्था अति नै कडा पारिएपछि मतदाता निर्धक्क भई शान्तिपूर्णरुपमा मतदान गरिरहेका सुरक्षा अधिकारीले बताएका छन् । जिल्लामा १६७ मतदान स्थल र ३४४ मतदान केन्द्रबाट मतदातामा आफ्नो मत हाल्न शुरु गरेका छन् ।
सप्तरीमा शान्तिपूर्णरुपमा मतदान ,प्रमुख निर्वाचन आयुक्तद्वारा मतदान
तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदानको कार्य शुरु भएको छ ।
अत्यन्तै हर्षोल्लासका साथ बिहान ५ बजेदेखिनै लामबद्ध भई मतदाता मतदान कार्यमा धैर्यतापूर्वक लागेका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७ः०० बजे मतदान गर्नुभएको छ ।
उहाँले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गर्नुभएको हो । सो केन्द्रमा सर्वप्रथम उहाँले मतदान गर्नुभएको थियो ।
बीस वर्षको प्रतीक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आआफना उम्मेदवारलाई विजयी गराउन मतदान गर्न लागेको राजविराज– ३ वडाका समाजसेवी सुशीललाल दासले बताउनुभयो ।
यता कुनै पनि घटना हुन नदिन र शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय मतदानस्थल र मतदान क्षेत्रमा अनुगमनका लागि खटिएको बताउँदै सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले मतदातालाई निर्धक भई मतदान गर्न आग्रह गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहका लागि ८५६ जनप्रतिनिधि चयनका लागि मतदान शुरु भएको हो ।
–––


















