प्रचण्ड तरंगमा सम्पन्न निर्वाचन गणतन्त्रको टेको

236

सूर्य खड्का

(युवाधारणा)

धेरै आशंका र आरोपहरू खेप्दै चुनावी महासंग्राममा उत्रेको वर्तमान कांग्रेस माओवादी सत्ता गठबन्धन सरकारले अन्ततः चुनावी मिसनमा बाजी मारेको छ । हुन्न हुन्न भन्ने आशंकाका बीचमा ३१ वैशाख, १४ असार र असोज २ मा तीन चरणको स्थानीय चुनाव सम्पन्न गरेको छ ।
२०५० को दशक आरम्भदेखि २०७४ सम्मको करीब २५ वर्षे नेपाली राजनीतिक आकाशलाई सकारात्मक वा नकारात्मक रूपमा प्रत्यक्ष तरंगित गरिरहेको एक जबर्जस्त पात्र हुन् पुष्पकमल दाहाल प्रचण्ड । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु नगर्दासम्म प्रचण्ड एक सामान्य नाम थियो, खासै महत्वपूर्ण नाम थिएन । तर जसै नेपाली आकाशमा हतियार युद्धको विनाशक अभ्यास फैलिँदै गयो, उसै उसै प्रचण्डको राप र तापले नेपाली सत्ता राजनीतिलाई प्रभावित गर्दै गयो । खासगरी ५० को मध्यसम्म आइपुग्दा तत्कालीन माओवादी जनयुद्ध राज्यका लागि मुख्य चुनौती बन्यो । प्रचण्ड माओवादीका लागि शक्तिका स्रोत र राज्यका लागि मुख्य टाउको दुखाइ बने ।

 
जनयुद्धरूपी विद्रोहको जहाज आफ्नै कप्तानीमा उडाएका तर सुरक्षित अवतरण गराउन नसकेका क्याप्टेनका रूपमा प्रचण्डले १० वर्षसम्म नेपाललाई हिंसात्मक संघर्षमा नराम्ररी फसाए । १७ हजार बढीको ज्यान गयो, हजारौं अंगभंग भए, सयौं त बेपत्ता भए । देश र जनताकै सातो लिने बिनासक जनयुद्ध फेरि उनै प्रचण्ड करामत र पौरखमा शान्तिमा बदलियो । तत्कालीन सात राजनीतिक दलका सर्वसम्मत नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालासँगको सहकार्यमा उनै प्रचण्डले फेरि युद्धलाई शान्तिमा बदले । २०६३ को जनआन्दोलनको सफलताको जगमा २०६४ मंसिर ५ को बृहत् शान्ति सम्झौताले नेपाललाई दशक लामो हिंसाबाट मुक्ति दियो । त्यसमा तत्कालीन विद्रोही कमाण्डरका रूपमा उनै प्रचण्डले नेतृत्व गरे ।
शान्तिपूर्ण राजनीतिमा आएपछिका १० वर्षमा पनि नेपाली राजनीतिलाई कुनै न कुनै रूपमा तरंगित गर्ने पात्र उनै प्रचण्ड भैरहे । जनयुद्धकालमा बोकेको बन्दुक बिसाएका प्रचण्डले शान्तिपूर्ण संसदीय राजनीतिक अभ्यासमा पनि आफूलाई कमाण्डरका रूपमा स्थापित गर्न निकै कोसिस गरे । पहिलो संविधानसभाको चुनावपछि सत्ताको नेतृत्व गरेका प्रचण्डले शासकीय अनुभवको अभावमा पहिलो संविधानसभालाई संविधान बनाउने र असल सरकार दिने मामलामा आफूलाई आफैले फेल गरे ।

 
तर शासकीय हार र संविधानसभाको उपलब्धिहीन दुई कार्यकालका बाबजुत उनले आफ्नो मिसन र संघर्षलाई जारी राखे । दोस्रो संविधानसभाको निर्वाचन जबर्जस्तै गराएर उनले मुस्किलसंग दुई वर्षअघि जसै देशलाई नयाँ संविधान दिए, तब उनको संघर्षका उपलब्धिहरू संस्थागत हुने क्रम बल्ल सुरु भयो । अहिले नयाँ स्थानीय तहको सबै चरणका सफल चनावले प्रचण्ड मिसनको लोकतान्त्रिक यात्रा एउटा निष्कर्षमा पुगेको छ । स्थानीय चुनावी सफलता प्रचण्डले २५ वर्षअघि देखेको सपनाको सार्थक रूप हो । जनता नै सार्वभौमसत्ताका असली मालिक हुन भन्ने मान्यता यसै स्थानीय तह चुनावमार्फत संस्थागत भएको छ ।

 
यो चुनाव सिंगो देशको प्रजातान्त्रिक संघर्षको असली अभ्यास नै हो । यसका नायक पात्रहरू सबै दलका सबैजसो नेता र जनता नै हुन् । तैपनि यी सबै नायकहरूको वीचमा मुख्य नायक भने प्रचण्ड हुन् । किनभने उनले गत साउनमा आफैले बनाएको नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई चर्को आलोचनाबीच पतन गराएर आफै सरकारको नेतृत्वमा नगएको भए ३१ वैशाख, १४ असार र २ असोजले सफलताको नयाँ इतिहास बनाउन सक्ने संभावना लगभग शून्य थिए । एमाले भर्सेज मधेशी दलको शक्ति संघर्षको चरमोत्कर्षमा गत साउनमा प्रचण्डले गरेको क्रमभंगताको परिणाम नै हो चुनावी महासंग्रामको सफलता ।

 
विनाशक कहालीलाग्दो जनयुद्धको आलोकमा प्रचण्डलाई खलनायक देख्ने ठूलो तप्का देशभित्रै छ । जनयुद्धकै सारथीहरू डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवहरू र थुप्रै अधिकारकर्मीहरू प्रचण्डलाई गाली गरिनै रहेका छन् । तर शान्ति राजनीतिमा आए यता र खासगरी गत साउनमा सत्तामा दोस्रो पट्क गएपछिका दिनमा नै प्रचण्डको लामो राजनीतिक संघर्ष संस्थागत हुन पुगेको छ ।
वास्तवमा साढे दुई दशक प्रचण्ड लडे र लडिरहे । तर ती सबै संघर्षको उपज भने यही चुनावी सफलतासंग मात्रै हात पारे । प्रचण्डकै शब्दमा यो महोत्सवमा जनता सार्वभौमसत्ताका असली मालिक भएको प्रमाणित भएको छ ।
संविधान जारीपछि बनेका नयाँ स्थानीय तहमा जनताको अपार उत्साहपूर्ण सहभागितामा चुनाव सम्पन्न गर्न सक्नु यो सरकार र सत्ता गठबन्धनकै ऐतिहासिक सफलता हो । र, त्यो सफलताका मुख्य कारक पात्र प्रचण्ड नै हुन् । प्रचण्डले नयाँ संरचना खडा गर्नेदेखि देशलाई चुनावी रोडम्यापमा लैजाने काम अरुभन्दा बढी नै गरे प्रधानमन्त्रीको कुर्सीमा बसेर । प्रचण्डको सट्टा अरु कुनै पनि दलका शीर्ष नेता प्रधानमन्त्रीका कुर्सीमा भएका भए यति धेरै प्रतिकूलताबीचमा पनि निर्वाचन हुन सक्ने सम्भावनाहरू निकै कम हुन सक्थे ।

 
नयाँ स्थानीय तहले पाएका असीमित अधिकारहरूको कारण, देशैभरका ७४४ स्थानीय निकायमा चुनिएर आउने करीब ३६ हजार बढी जनप्रतिनिधिहरूले नै अब ती स्थानीय अधिकारहरूको प्रयोग गर्ने भएका कारण नै यो चुनाव विशेष छ । यो अधिकार सम्पन्न स्थानीय सरकारको चयन गर्ने पहिलो स्थानीय तह चुनाव पनि हो । यो चुनावमा जनताको अपार सहभागिताले बल्ल जनताको दैलोमा गणतन्त्र र संघीयताको उपहार स्वीकृत भएको छ । यस अर्थमा एउटा भूतपूर्व विद्रोही साम्यवादी कमाण्डरलाई राजनीतिक जीवनको सबैभन्दा बढी खुसी, संतोष र जीतको अनुभव भएको हुनुपर्छ ।
चुनावमार्फत जनताद्वारा संविधान र संघीयतालाई स्वीकृत गराउन सक्नु नै दोस्रोपटक सत्तारोहण गर्नुको समग्र सफलता थियो प्रचण्डका लागि । यो चु्नाव विगतका जस्ता स्थानीय चुनावहरूको नियमितता मात्रै थिएन, अधिकार सम्पन्न स्थानीय तहको जग बसेको चुनाव पनि हो यो । यसैकारण स्थानीय चुनावमा जनता जितेको चुनाव पनि हो यो । जनताका लागि जनयुद्ध र शान्ति संघर्ष गरेको बताउने प्रधानमन्त्रीका लागि जनता जीतको लाइनमा लामबद्ध भएर प्रतिनिधि छानेपछि अब उनले थप संघर्षको ऐलान गर्नुपर्ने जरुरत बाँकी रहेन ।

 
वर्तमान राजनीतिमा परिवर्तनकारी शक्तिका अगुवा माओवादी र प्रचण्ड नै हुन । कांग्रेससंगको दिगो सत्ता साझेदारी र चुनावी तालमेलबाट उनले आफ्नो खस्केको साख र शक्ति पुनार्जनमा पनि निकै चलाखीपूर्वक बाजी मारेका छन् । अराजनीतिक र अप्राकृतिक जस्तो लाग्ने कांग्रेस र माओवादीको सहकार्यले परिवर्तनकारी कित्ताको शक्तिमा पल्लाभारी गरिरहेका बेला स्थानीय तहको चुनावी सफलताले त्यसलाई थप मजबुत बनाएको छ । शान्ति सम्झौताका मुख्य दुई शक्ति कांग्रेस र माओवादी संविधान कार्यान्वयन र जनआन्दोलनका उपलब्धि जोगाउन हातेमाले गर्न तयार रहेको सन्देश पनि गएको छ । अब स्थानीय चुनावले स्थापित गराएका जनप्रतिनिधिहरूले नै शेरबहादुर देउवा वा प्रचण्डका बाँकी कार्यभारहरूलाई स्थानीय तहमा लागू गर्ने गराउने छन । यस अर्थमा अब प्रचण्डले राजनीतिक जीवन त्यागेर जोगी बनेछन भने पनि संघीयता, गणतन्त्र र स्थानीय सरकारको उच्च अधिकार पुनः कुनै पनि बहानामा अपहरित हुने खतरा लगभग छैन । किनभने आफ्ना हातमा आएका अधिकारहरूको रक्षा र सम्मानमा अब स्थानीय जनता र जनप्रतिनिधि नै प्रचण्डहरूको रूपमा खडा हुनेछन् ।

 
दोस्रो सत्तारोहणका नौ महिने कार्यकालमा प्रचण्डले गरेका कति कामहरूका बारेमा निरन्तर इतिहासले समीक्षा गरिरहला । तर पहिलो पटक अधिकार सम्पन्न स्थानीय सरकार गठनका लागि पाएको उनको सरकारको सफलता नै वास्तविक प्रचण्ड युगलाई स्थापित गरेको छ । यो देश र जनताकै लागि लामो राजनीतिक संघर्षको चेपमा परेर विकास र समृद्धि यात्रामा जान नसकेको देशका लागि एक निकासको द्वार पनि हो ।
स्थानीय सरकार स्थापनार्थ चुनावी कार्यसूची पूरा गरेसँगै सरकारले आफ्नो वाचा पूरा गरेको छ भने संविधान कार्यान्वयनको कार्यलक्ष्य थप सहज र निरन्तर गर्न सकेको छ । पहिलोपटक सिंहदरबारका धेरै अधिकार स्थानीय तहका निर्वाचित प्रतिनिधिको हातमा हस्तान्तरण भएको छ । यो चुनावी सफलताले जनता चुनावका लागि सधैं तयार थिए भन्ने सिद्ध गरेको छ । २० वर्षे चुनावी ब्रेकमा क्रमभंगता गर्दै पहिलो चरणको स्थानीय तह चुनावले राजनीतिक परिवर्तनका उपलब्धिहरू पुनः धरापमा पर्न सक्ने खतरालाई टारेको छ । त्यसले यो चुनावी सफलता प्रचण्ड तरंगको गणतान्त्रिक टेको हो । –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here