डा. दीपेन्द्र रोकाया
यतिबेला प्रायः सबैले दशै तिहारको छुट्टि ब्यवस्थापन गर्न लागीरहेका छन् । उनीहरूले आफ्नो घर जाने र आफ्ना आफन्तसँग भेटघाट गर्ने योजना बनाउन थालेका छन् । यस पटकको दशै तिहार बहुआयामिक समय बनेर आएको छ । किनकि यसअघि स्थानीय तहको निर्वाचन भयो । अबको केही समयपछि संघ र प्रदेशको निर्वाचन एकै दिन हुँदैछ । यो निकै महत्वपूर्ण समय यसर्थ पनि बनेको छ कि आफ्नो घर परिवार र आफन्तसँग बसी विगतको समीक्षा र भावी दिनको कार्ययोजना बनाउने आधार बन्दैछ ।
मान्छेहरू हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गर्दछन् । समयले त्यो अवस्थाबाट मुक्त बनाउने आधार निर्माण गरेको छ । किनकि हिन्दुहरूको महान चाड दशै तिहारमा अधिकांशको फुर्सद लिएर भेटघाट, छलफल तथा मनोरञ्जन गर्ने समय आउँदैछ । यो समयले विगतमा भए गरेका कमी कमजोरीको समीक्षा गर्न उपयोगी बनोस् र आउँदो निर्वाचनमा देश, जनता, विकास र परिवर्तनको भविश्य निर्धारण गर्ने नेतृत्वलाई चयन गर्ने सन्दर्भमा चिन्तनमनन गर्न सफलता प्राप्त सकोस् । किनभने नेपालको नयाँ इतिहास रचना गर्ने बेला आएको छ ।
इतिहासका पानाहरू यतिकै थपिदैनन् । तिथीमितिको थुप्रो लगाएर मात्र उल्लेख्य बन्न सक्तैन । आजसम्म श्रमजीवीको इतिहास लेख्ने कार्य भएको छैन । जति अध्ययन गर्न पाइन्छ, त्यो हुनेखाने वर्गको इतिहास मात्र हो, त्यो पढेर धारणा बनाउन परिरहेको छ । यहाँ यो विषय उठाउनुको तात्पर्य यो हो कि नेपाल अव ब्यवहारिक रूपमा संघीय संरचनामा जाँदैछ । आफ्नो गाउँ ठाउँ, आफै विकास गराऔ भन्ने सामाजिक भावनाबाट अभिप्ररित भई समाजवादी अभ्यास गर्ने चरणमा प्रवेश गर्दैछौ । नेपालको संविधानको प्रस्तावनाले उल्लेख गरेको महत्व बुझ्न सकियो भने कालक्रमका हिसावले हामी इतिहासको नयाँ कालखण्डको आगमन भएको छ । यसका लागि केही नयाँ सुझबुझपनको आवश्यकता पर्दछ ।
स्थानीय तहको निर्वाचनको परिणामलाई हेरी देश कुन विचारबाट बढी प्रभावित छ ? भनी हेर्न त सकिन्छ तर यो प्रभावित पार्ने तत्व राजनीतिक विचारभन्दा पनि पैसा र नेटवर्किङ हो भन्ने देखिन्छ । उदाहरणका लागि गैससको सञ्जाल बिच्छ्याउन सफल भएकैले नेकपा एमालेले यही प्रक्रियाबाट जितेको देखियो । यसैगरी लामो समयदेखि खाइपाई आएको वर्गले आफ्नो निरन्तरता दियो । माओवादीले सत्तामा बसेर जति संघर्ष गरेपनि जनतासँग निरन्तर जोडिने कार्यक्रम दिन नसक्नुले तेस्रो स्थान हासिल गरेको पाइयो । तर बिर्सन नहुने कुरा के हो भने माओवादी केन्द्रकै पहलकदमीमा अहिलेसम्म जे जति उपलब्धी हासिल भएका छन्, तिनको संस्थागत गर्न माओवादी केन्द्रले नै नेतृत्व गर्न पर्दछ ।
यसैले चामलजस्ता अग्रगामी एजेण्डालाई माओवादी केन्द्रले जनताको बीचमा लिएर बुझाउन नसक्नु, बरु त्यसको सट्टा चार हजार जनालाई केन्द्रिय समिति सदस्य भोर आयोजक समिति बनाउने कायमा अल्झनु हो । मेरो बुझाइमा केन्द्रिय आयोजक समिति भनेको केवल सहयोग समिति मात्र हो । हरेकले पार्टी सदस्य हुँदा जति गर्व गरेका होलान्, त्यसको तुलनामा यो समितिमा नाम पर्दा माओवादीजनले हर्ष मानेका होलान् भन्ने कदापि लाग्दैन । ठट्टा गर्नेहरूले हजारीलाल भनी त्यतिकै भनेका छैनन् । हजारीलाल केन्द्रिय समिति भएपनि यसलाई विधि बनाएर प्रत्येक वडामा कार्यक्षेत्र बनाएर पठाएको भएपनि परिणाम सुखद आउनेवाला थियो, त्यो पनि भएको देखिएन ।
परिणाम जे जस्तो आएपनि माओवादी केन्द्रले स्थापित गर्न चाहेको एजेण्डाले जितिरहेको छ । जसको रगत, पसिना र अथक प्रयासले यो स्थिति निर्माण भएको छ, उसैले भौतिक रूपमा पराजय भोग्नपर्ने स्थिति आउनुको कारण खोतल्नै पर्दछ । विभिन्न प्रकारका सामाजिक अध्ययनबाट के देखिन्छ भने माओवादी २०६४ को जनमतबाट हौसियो, २०७० को जनमतबाट साइजमा आयो र २०७४ को जनमतबाट धरातलीय यर्थाथ बुझ्ने ठाउँमा पुग्दैछ । यो सबै देशी विदेशी चलखेलको परिणाम थियो । यस जाललाई माओवादीको नेतृत्व पंक्तिले पहिचान गर्न नसक्नाले पार्टी लथालिङ्ग भएको थियो । यद्यपि माओवादीका सबै तहलाई चेत खुल्दै गएको छ ।
अब सबैले बुझि सकेका छन् कि नेपालमा कस्को चलखेल के कार्यका लागि भइरहेको छ ? यसैले यस पटकको दशै तिहार विदाको समयमा अग्रगामी एजेण्डा निर्माणकर्ता को हो ? र त्यो कुन मर्मका साथ स्थापित गरिएको थियो भनी लेखाजोखा गरियोस् । साँच्चै भन्ने हो भने यसै कार्यका लागि माओवादीले धेरै ठाउँमा हण्डर ठक्कर खाएको छ । आलोचना भोगेको छ । यो ब्यक्तिगत स्वार्थका लागि भएको थिएन । यस कार्यमा कोही नेताहरू मन नपर्न सक्छ, तर छलफल अग्रगामी दिशा लिनका लागि नेतृत्व चयन गराउन र देशको सम्बृद्धि ल्याउने विषयवस्तुमा केन्द्रित गराउन आवश्यक छ । तपाई आम पाठकलाई यतैतिर केन्द्रित भई आफ्नो सुख, दुःख साँट्न हार्दिक अनुरोध गर्दै आउँदै गरेको दशै तिहार उल्लासमय बनोेस्, यसले जीवनमा उमंग छाओस् । यही छ, मेरा हार्दिक शुभकामना ।
-जनधारणा साप्ताहिकबाट

















