
काठमाडौँ । मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरुलाई शुक्रबार जनही दुई लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । गुठीले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
मदन पुरस्कार विजेता कँडेलले मदन पुरस्कार जस्तो स्वच्छ, निष्पक्ष र गरिमायुक्त पुरस्कारद्वारा छन्दका कविता लेख्नेलाई दिएको सम्मानप्रति आफू निकै हर्षित भएको बताए। धादिङ जिल्लाको मलेखुमा जन्मिएका कवि कँडेलले वनारसबाट संस्कृतमा शास्त्री तथा नेपाली र अङ्गेजीमा स्नातकोत्तरसम्म शिक्षा प्राप्त गर्नाका साथै त्रिविमा नेपाली केन्द्रीय विभागका प्रमुखसमेत भइसकेका छन्छ । वनारसमा बस्दा उहाँले ‘उदय’, ‘आमा’, ‘छात्रप्रभा’ र ‘नयाँ पाइला’जस्ता साहित्यिक पत्रिकामा कविता लेख्न शुरु गरेका थिए ।
कवि कँडेलका ‘पच्चीस वर्षका खण्डकाव्य’, ‘देवयानी’, विश्वामित्र जस्ता कृति प्रकाशित छन् । ‘धृतराष्ट्र’ मा अपाङ्गता भएका र समाजमा हेलित भएकाहरुको पक्षमा आवाज उठाइएको छ ।
त्यसैगरी नेपाली व्यङ्ग्यचित्र विधा क्षेत्रका नक्षत्र वात्सायनले इतिहासमा पहिलो पटक ‘कार्टुनिष्ट’ले पुरस्कार पाउँदा ‘कार्टुन’ विधाका सबैलाई सम्मान गरिएको महसुस भएको बताए। नदीपुर पोखरामा जन्मिएका बराललाई सानैदेखि चित्रप्रति निकै शोख थियो । पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनःबहाली गर्न तथा उत्पीडन, शोषण, अन्याय, अत्याचार, विकृति र विसंगतिप्रति उहाँको कार्टुन निकै प्रखर मानिन्छ ।

















