नेपाल सरकारबाट राष्ट्रिय सम्मान पाएका नेपाली भारतमा पक्राउ

509

काठमाडौं / नेपालको तराई क्षेउमा अवस्थित सप्तरी जिल्लको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सप्तरी सीमा पारी भारतको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेको जानकारी पाए पछि सोही विषयमा बुझ्न गएका देवनारायणलाई प्रहरीले पक्राउ गरेको हो । देवनारायणका छोरा अजयले भारतीय चेली भगाएर ल्याएको आरोपमा भारतीय प्रहरीमा मुद्दा परेकाले सोही घटनामा अजयलाई पक्राउ गरेको प्रहरीले दावी गरेको जनाइएको छ । बाबुछोरा दुवैलाई भारतको विहार राज्यको सुपौल जिल्लास्थित विरपुर जेल चलान गरिएको जनाइएको छ ।
देवनारायण यादव आफ्ना छोरा अजयलाई छुटाउन जाँदा भारतीय प्रहरीबाट पक्राउ परेको सप्तरीका एसपी मुकेश सिंहले पुष्टि गरेका छन् । ‘किन पक्राउ गरिएको भन्ने हामीलाई जानकारी आएको छैन ।’ एसपी सिंहले आफूहरुले बुझ्ने प्रयास गरिरहेको जनाएका छन् । यादव गत बर्ष सप्तरीको तिलाठी सीमास्थित दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा भारतीयसँग झडप हुँदा देवनारायण घाइते भएका थिए ।

 

खाँडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा तिलाठीबासी जनता भारतीय पक्षको विरोधमा उत्रिएका थिए । भारतीय पक्षको विरोधमा उत्रिएकाबेला भारतीय पक्षको कुटाइबाट यिनै देवनारायण घाइते भएका थिए । देवनारायणलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । देशभक्त नागरिकको रुपमा सम्मान गर्दै नेपाल सरकारले देवनारायणलाई त्यतिबेलो उपचार खर्चसमेत व्यहोरेको थियो । गत वर्षको खाँडो नदीको बाँधको विवादले चर्चित यादवलाई नियोजित रुपमा भारतीय प्रहरीले पक्राउ गरेको तिलाठीबासीको ठहर छ ।

यादवको गिरफ्तारी प्रति नेपाली जनता आक्रोसित

यसैबीच भारत सरकारले विनाकारण पक्राउ गरी भारतमा बन्दी गरेका नेपाल सरकारबाट सम्मानित देशभक्त व्यक्तित्व सप्तरी निवासी देवनारायण यादवलाई अविलम्ब रिहा गर्न सामाजिक सञ्जालमा व्यापक दवाब परेको छ । राष्ट्रिय सचेतना मञ्चमा आवद्ध देशभक्त सचेत नागरिकहरुले देवनारायण यादव र उनका छोरालाई भारत सरकारले अविलम्ब रिहा नगरे चर्काे विरोधको सामना गर्न चेतावनी दिएका छन् । मञ्चले नेपालका परराष्ट्रमन्त्री, प्रधानमन्त्री र भारतीय दुतावास मार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने तयारी गरेको थाहा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here