समाजवादका लागि माओवादी केन्द्र बिघटनः प्रचण्ड

156

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायतका वामपन्थी पार्टीहरुसँगको एकताले महान बहसको सुरुवात हुने बताएका छन्।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा वाइसिएलले आयोजना गरेको स्कूलिङ कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिलेको पार्टी एकता पनि द्धन्द्धात्मक भौतिकवादकै नियममा हुँदैछ, पुरानोको बिघटन र नयाँको निर्माण द्धन्द्धवादको नियम हो, मोटो मशाल बिघटन नगरी एकताकेन्द्र बन्ने थिएन । एकताकेन्द्र नभत्काई माओवादी हुने थिएन । माओवादी भत्काएर एमाओवादी र माओवादी केन्द्र बनाएका छौं’, अध्यक्ष प्रचण्डले भने, ‘अबको मिसन समाजवादी क्रान्ति हो । समाजवादका लागि माओवादी केन्द्र पनि बिघटन हुन्छ र नयाँ पार्टीको जन्म हुन्छ, यो विज्ञानकै नियम अन्तर्गत पर्छ । अहिलेको हाम्रो पार्टी एकताले महान बहसको सुरुवात गर्नेछ । हामी सबै समाजवादी क्रान्तिको तयारीका लागि एउटा ठूलो मिसन र बहसमा हेलिँदै छौं ।’
‘कम्युनिष्ट पार्टी जमेको पोखरी होइन, यो त गड्गडाउँदो नदीझैं अघि बढ्छ’, अध्यक्ष प्रचण्डले भने, ‘सिधा र सरल तरीकाले दुनियाँमा कहीँ पनि क्रान्ति भएको छैन । जोखिम मोल्न सक्ने र चूनौति झेल्न सक्ने पार्टी र नेतृत्वले मात्रै क्रान्तिको नेतृत्व गर्छ र समाज अगाडि बढ्छ, त्यसका लागि तपाईहरु सबै तयार हुनुपर्छ । युवाहरुले निरन्तरता होइन, क्रमभङ्गमा सोचेर मात्रै समाजको नेतृत्व गर्न सकिन्छ ।’
स्कूलिङ कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नै नेतृत्व र कार्यकालमा नेपालमा समाजवादी क्रान्ति हुने र आफूलाई समाजवादी क्रान्ति देखेर मर्ने मन भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here