हुकुमबहादुर सिंह
क्रान्तिकारी माओवादी पार्टीको पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनका अगाडि निम्न अहम् सवालहरू छन्, जसको माओवादी सिद्धान्त र कार्यदिशाका आधारबाट खौज्नै पर्दछ । ती हुन्: प्रथम पार्टी, मोर्चा र जवस नेतृत्वमा आमूल परिवर्तनको आवश्यकता र जरुरतलाई सम्बोधन गर्न, दोस्रो क्रान्तिकारी युवादस्ताको निर्माण तत्कालको विषयका रूपमा समाधान खोज्नु र तेस्रो देशभक्त जनगणतान्त्रिक मोर्चालाई क्रान्तिको तीन जादुगरी हतियारमध्ये एक हतियारको सहयोगी मोर्चाको रूपमा विकास गर्दै जनताको बीचमा स्थापित गर्ने कार्यनीतिको विकास गर्नु । यिनै कुराहरूलाई मध्यनजर गरेर क्रान्तिकारी माओवादीले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनको उद्देश्यलाई यसरी किटान गरेको थियो । जसमा भनिएको छ– ‘साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारी गरौं । दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्दै नयाँ एकतावद्ध र क्रान्तिकारी पार्टी निर्माण गर्न ऐतिहासिक राष्ट्रिय सम्मेलन सफल पारौं ।’
दक्षिणपन्थी संशोधनवादीहरू अहिले वाम एक ठामको नाममा एकीकृत र जनताको नजरमा बलिया देखिएका छन् । त्यसको नकारात्मक असर क्रान्तिकारी कम्युनिष्टहरू माथि बलियो गरी आउने छ । पार्टी समर्थक जनता र नेता तथा कार्यकर्ताको रक्षाका लागि प्रथम क्रान्तिकारी युवादस्ताको निर्माण आवश्यकता बनेको छ भने संसदवादीहरूको केन्द्र माके र एमाले भएझै नेपालका क्रान्तिकारीहरूलाई पनि एकतावद्ध गर्ने महान् अभियानमा पार्टी गम्भीर बनेर त्यसका लागि क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरणको आह्वान गरेको मात्रै छैन, इतिहासमै अबको क्रान्तिकारी नेतृत्व कस्तो हुने भनेर निम्न पााचवटा महत्वपूर्ण क्राइटेरियाहरू– प्रथम पूर्णकालीन हुनै पर्ने, दोस्रो नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्ति र आन्दोलनमा कम्तीमा दश वर्षको निरन्तरता भएको, तेस्रो पार्टीले खटाएको ठाउँमा जाने, चौंथो वैचारिक, राजनीतिक र सांगठनिक प्रष्टता भएको, पांचौं साम्राज्यवाद तथा विस्तारवादको आर्थिक भौतिक सहयोगमा सञ्चालित एनजीओ तथा आइएनजीओमा काम गरिरहेको हुन नहुने । तर तत्कालमा यदि कोही यो क्राइटेरियामा खरो उत्रिएको नदेखिएमा आगामी ६ महिनाभित्र यी सबै क्राइटेरियाहरूलाई पूरा गरेको हुने प्रतिबद्धतासहित नयाँ नेतृत्व निर्वाचित गरिएको छ । साथै केन्द्रीय समिति दुई अंक नबढाई जसमा एक चौथाई वैकल्पिक सदस्य जसमा उत्पीडित जाति, वर्ग, लिंग, मधेसी, थारु, मुश्लीम, उत्पीडित क्षेत्र आदिको प्रतिनिधित्व गर्ने युवाहरू रहने र त्यसबाट भविष्यमा अझ बढ्ता युवा क्रान्तिकारीहरू पार्टी नेतृत्वमा जाने एउटा दिशानिर्देश पनि गरेको छ ।
‘युद्धबाट युद्ध सिक्ने’ माओको दीर्घकालीन सैनिक रणनीतिलाई आत्मसात् गर्दै सर्वहारावर्गको रक्षाका लागि आफ्नै सेना आवश्यक छ भन्ने महान् अवधारणालाई सम्मेलनले आत्मसात् गरेको छ । वर्तमान प्रतिक्रियावादी संसदीय निर्वाचनलाई उपयोग गर्ने र बहिष्कार गर्ने सम्वन्धमा सम्मलेनमा उपयोग र बहिष्कारमा उठेका सबै मान्यताहरू र तर्कहरूलाई ठीक छन्न् भन्दै बहिष्कारको मान्यता राख्ने कमरेडहरूका मान्यतालाई पार्टीको सम्पत्तिका रूपमा राख्दै तत्कालका लागि ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा अहिले यो निर्वाचनलाई कार्यनीतिक रूपले जनताको बीचमा गएर उपयोगको कार्यक्रमलिएर समग्र संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय सम्मेलनले गरेको छ । निर्वाचन उपयोगका दौरानमा नेकपा नामका दुई पार्टीहरू– विप्लव महासचिव रहेको नेकपा र कट्टेल अध्यक्ष रहेको नेकपा, मोहनविक्रम नेतृत्वको मसाल र रोहित नेतृत्वको मजदुर किसान पार्टीलाई एउटा मित्र पार्टीका रूपमा व्यवहार गर्ने निर्णय पनि गरेको छ । त्यसबाहेक विगतमा राष्ट्रियता तथा जनताका जनजीविकाको आन्दोलनका लागि गठित ३३ दलीय मोर्चाभित्रका समूहहरूलाई पनि समेटेर लैजाने निर्णय पनि सम्मेलनले गरेको छ । यसरी प्रतिक्रियवादीहरूका ठूला दुई गठबन्धन–कांग्रेसको वरिपरिको तथाकथित लोकतान्त्रिक गठबन्धन र एमालेको वरिपरि रहेको माके लगायतको तथाकथित
वामपन्थी गठबन्धनका विरुद्ध नेपालका उत्पीडित वर्ग, समुदाय तथा क्षेत्रका जनताको मुक्तिका लागि गठित अर्को क्रान्तिकारी तथा देशभक्त तथा वामपन्थीहरूको गठबन्धनको आवश्यकतातर्फ सम्मेलनले संकेत गरेको छ । यसरी समग्रमा क्रान्तिकारी सिद्धान्त विचार, राजनीति तथा संगठनका हिसाब, अन्तरसंघर्षलाई लेनिनवादी संगठनात्मक हिसाबले हल गर्ने सम्बन्धमा यो सम्मेलन नेपाली क्रान्तिको रक्षा र विकसतर्फको एउटा कोशे ढुंगा सावित भएको छ । यसलाई कार्यान्वयनमा प्रभावकारी रूपले अगाडि बढाउन क.मोहवैद्य किरणको नेतृत्वमा गठित नयाँ केन्द्रीय समिति सफल हुनेछ भन्ने आशा तथा विश्वास अहिले यो सम्मेलनले मूर्तीकरण गरेको छ ।
यद्यपि अहिले जनताको नजरमा प्रतिक्रियवादीहरूका ठूला दुई गठबन्धन–कांग्रेसको वरिपरिको तथाकथित लोकतान्त्रिक गठबन्धन र एमालेको वरिपरि रहेको माके लगायतको तथाकथित वामपन्थी गठबन्धन भनेका नेपालको सन्दर्भमा माओले भनेझै दीर्घकालीन तथा रणनीतिक रूपमा ती सबै प्रतिक्रियावादीहरू तथा साम्राज्यवादीहरूका दलाल हुन् । त्यसैले ती केबल कागजी बाघ हुन् । यद्यपि तत्कालका लागि (यो निर्वाचनका लागि) ती सबै प्रतिक्रियावादीहरू सााच्चै बाघजस्ता भएर आएका छन् र हामीले पनि तत्कालमै तिनको सामना गर्ने हैसियतको पार्टी, मोर्चा र जवस निर्माण गर्न आवश्यक छ । यो काममा सम्मेलन अगाडि बढेको छ । नाम र काम दुवैबाट माओवाद हटाउने चिन्तन र प्रवृत्तिका विरुद्ध दृढतापूर्वका संघर्ष गर्दै माओवादको झण्डालाई अझ उचाइमा उठाउन यो सम्मेलन सफल भएको छ । [email protected]
(- जनधारणा साप्ताहिक)















