सडक दुर्घटना कि हत्या ?

226

राज्यलक्ष्मी शाक्य
गत हप्ता पंक्तिकार मनकामना मन्दिर दर्शनका लागि पुगेको थियो । मन्दिर दर्शनपश्चात् काठमाडौं फर्किने बेलामा एउटा दुःखद खबर आगोसरि फैलियो । सप्तरीबाट काठमाडौंका लागि छुटेको बस धादिङको घाटबेसीमा दुर्घटना भयो । सिंगो बस नै त्रिशूली नदीमा खसेको थियो भने अधिकांश यात्रु हराइरहेका थिए । यो खबर सुन्नेबित्तिकै पंक्तिकार पनि सोही बाटो हुँदै घटनाक्रम हेर्न र बुझ्न धादिङको घाटबेसी पुगेँ । उसै त नेपालको सडक, त्यसमाथि ओभरलोड र चालकको लापरबाहीका कारण उक्त दुर्घटना भएको थियो । यो दुःखद घटनामा ३१ जनाको मृत्यु भयो । काठमाडौं आएको केही दिनभित्रै देशका अन्य जिल्लामा भएको दुर्घटनामा परी कम्तीमा डेढ दर्जनभन्दा मानिसहरुको मृत्यु भएको छ । दुर्घटनाका यी समाचारहरु पढ्दै गर्दा पंक्तिकार सोच्न बाध्य भयो, आखिर यो दुर्घटना हो कि हत्या ?
नेपालमा सानाठूला सडक दुर्घटनामा परी ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाउँदै आएका छन् । सरकारी तथ्यांकअनुसार गत वर्ष सडक दुर्घटनाबाट दुई हजार ४४ जनाले ज्यान गुमाएका छन् । २०७२ मा एक हजार सात सय १४ जनाले ज्यान गुमाएको तथ्यांक छ । त्यस्तै, गत वर्षको १० हजार १३ वटा दुर्घटनामध्ये सात हजार चार सय ८७ दुर्घटना चालककै लापरबाहीले भएको देखिन्छ । प्रहरी प्रधान कार्यालयको ट्राफिक प्रहरी निर्देशनालयका अनुसार कुल दुर्घटनाको ७३ दशमलव ६ प्रतिशत चालकको लापरबाहीले भएको देखिन्छ । त्यस्तै, तीव्रगतिका कारण १३ दशमलव ७ प्रतिशत दुर्घटना भएको छ ।
यसरी सवारी दुर्घटनाकै कारण वर्षेनि हजारौं मानिसहरुको ज्यान जानु सामान्य कुरा होइन । यसप्रति सरकार सचेत हुनुपर्ने हो, तर त्यसतर्फ ध्यान दिइएको देखिँदैन । पछिल्लो समय काठमाडौं–मुग्लिन हुँदै नारायणघाटतर्फ जाने सडक मृत्युमार्ग बन्दै गएको छ । तर, सरोकारवाला निकायले समस्या समाधान गर्न सकेका छैनन् । यातायात व्यवस्था विभागका अनुसार १० वर्षमा झन्डै पाँच गुणा सवारीसाधन थपिएका छन् । ०६३ मा नेपालमा कुल सवारीसाधन संख्या ६ लाख २६ हजार एक सय ७४ थियो । १० वर्षपछि यो संख्या पाँच गुणा बढेर ०७३ मा २७ लाख ८३ पुगेको छ । एक लाख ४० हजार सवारी साधन दर्ता भएको बेला बनेको सवारी ऐन करिब १९ लाख सवारी दर्ता भएको अवस्थासम्म कार्यान्वयनमा छ । सडक र कानून उही अवस्थामा छ भने यातायातका साधनहरुको संख्या बढ्दो छ, जसले गर्दा दुर्घटना पनि बढिरहेको छ । यात्रुवाहक र मालवाहक अधिकांश सवारीसाधन काठमाडौंलाई मुख्य केन्द्र बनाएर सञ्चालन हुन्छन् । सवारीसाधनको अनुपातमा सडकको भौतिक अवस्थामा भने कुनै परिवर्तन आएको देखिँदैन ।
दुर्घटना हुनुका विभिन्न कारण हुन्छन् । सडकको अवस्था, चालकको मनोदशा, यात्रुको संख्या, सवारीसाधनको प्राविधिक पक्ष, मौसमलगायत कुराले दुर्घटनामा हुने र नहुने कुरालाई निधारर्ण गर्छ । तर, एक प्रतिवेदनका अनुसार सडक र चालकको कारण नेपालमा बढी दुर्घटना भइरहेको पाइन्छ । विशेषगरी भौगोलिक रुपमा कठिन, साँघुरा र गुणस्तरहीन सडकका कारण दुर्घटना बढिरहेको छ । त्यस्तै, चालकहरुले लापरबाही प्रदर्शन गर्दा पनि दुर्घटना भइरहेको छ । अत्यधिक तीव्रता, ओभरलोड, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने जस्ता कारणहरुले पनि सवारी दुर्घटना बढेका हुन् । तर चालकहरुलाई शिक्षा दिने काममा भने सरकारले ध्यान दिन सकेको छैन । ठूला दुर्घटना हुनेबित्तिकै राजनीतिक, प्रशासनिक क्षेत्र तातेजस्तो देखिन्छ तर त्यो धेरै टिक्दैन । दुर्घटनाको पूर्ण नियन्त्रण असम्भव भए पनि सक्नेसम्मको नियन्त्रणका लागि ठोस पहल हुँदैन । त्यसकारण दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान नदिएसम्म यो दुर्घटना नभई हत्याको रुपमा विकसित भइरहेको अनुभव गर्न सकिन्छ ।
सरकारले जुनसुकै व्याख्या गरेर सडक दुर्घटनामा चालकको लापरवाही भन्दै पन्छिने कोसिस गरे पनि चालकको लापरवाहीमा पनि सरकारी गैरजिम्मेवारीपनको सीमा रहेकै हुन्छ । चालकलाई लापरवाहीबाट जिम्मेवार बनाउने कर्तव्य पनि सरकारको हो । सरकारले कानुन बनाउन नसक्ने, बनेको कानुनलाई कार्यान्वयन गर्न नसक्ने आदि कारणले गर्दा सडकमा गुड्ने गाडीहरुमा चालकहरुको लापरवाही बढेको हुन्छ । यो यथार्थलाई सरकारमा बसेका जिम्मेवार व्यक्तिहरुले स्वीकार गर्नु आवश्यक छ । जनताको जिउधनको सुरक्षा कसरी गर्ने भन्नेबारे सरकारको महत्वपूर्ण जिम्मेवारी हुनुपर्दछ ।
[email protected]                                                                  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here