अर्को द्वन्द निम्त्याउने खेल

246

 डा. दीपेन्द्र रोकाया
मंगलवार उसै त खरो बारका रुपमा लिइन्छ, त्यसमा संघ र प्रदेश निर्वाचनको संवेदनशील मोडको ठीक अगाडि द्वन्द्वकालको मुद्दा ब्युँताएर माओवादीका नेता बालकृष्ण ढुङ्गेललाई गिरफ्तार गरी दुई घण्टाभित्र जेल चलान गरियो । घटनाक्रम हेर्दा लामो समयदेखिको पूर्व तयारीबाट मंगलवार निर्धारण गरिएझैं देखियो । यसलाई देशी विदेशी प्रतिगामी तत्वहरुको चलखेलको परिणाम हो भन्न पनि सकियो । हामी २००७ सालदेखिको संक्रमणकालको अन्त्य गरी देशको विकास र स्थायित्वका लागि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्नका लागि जनमतको परीक्षण गर्ने मुखमा छौं । माओवादीका नेता बालकृष्ण ढुङ्गेललाई गिरफ्तार गरी जेल चलान प्रकरणले निर्वाचनबारे जे जस्ता बजार हल्ला थिए, ती सत्य सावित हुँदै छन् । यसको तात्पर्य निर्वाचन बिथोल्नु हो ।
यस निर्वाचनलाई यो वा त्यो नाममा सार्न वा स्थगित गर्न चाहनेहरुले चुनावी सरकारमा रहेका माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाई सकेको अवस्था छ । माओवादीको दाबीअनुसार ‘सरकार छोड्न तयार छौं, तर निर्वाचन नगर्ने खतरा रहेकाले विना विभागीय भएर पनि बस्न पर्ने भयो’ भनेर बताइएको थियो । यस घटनाको पृष्ठभूमि भनेको वाम एकता प्रकरण हो । वाम एकताको घोषणाबाट आफूलाई प्रजातान्त्रिक धारको दाबी गर्नेहरुको होसहवास उडेझैं देखाए । यसकारण सत्ता साझेदार दल माओवादीलाई काँग्रेसले पेल्नुसम्म पेलिरहेको थियो, त्यसमा यो अर्को प्रकरण थपियो । यस घटनाको मतलब हुन्छ, एकातिर माओवादीको शक्ति परीक्षण गर्ने र अर्कोतिर द्वन्द्व चर्काउने ।
नेकपा (माओवादी केन्द्र) ले दुर्भाग्यपूर्ण घटनाका रुपमा लिएको छ । उसले औपचारिक निर्णयबाट जे कदम उठाउनेछ, त्यसलाई दोष थोपरेर सरकार निर्वाचनबाट भाग्न खोज्नेवाला छ । हेर्दै जानुहोस्, बालकृष्ण ढुङ्गेल प्रकरण लहरो तान्दै पहरो गर्जने अवस्थाको छ । यो सरासर सरकारले द्वन्द्व निम्त्याउने खेल खेलिरहेको छ । त्यसमा वाम एकताको सहयात्री दल नेकपा एमालेको भूमिका कस्तो रहन्छ भन्ने कुरा करिब करिब अनुमान रहेजस्तै हुन सक्छ । अर्थात् यस्ता सवालमा यतिबेला निर्वाचन भएकाले तटस्थ बस्ने, अघिपछि भने माओवादी नेता कार्यकर्ता भनेका सामाजिक अपराधी त हुन् जस्तै व्यवहार गर्न सक्छ । यसो भइदियो भने यसैपालिबाट माओवादीको हैसियत सक्ने योजनामा देशी विदेशी शक्ति लागे भनी जाने हुन्छ ।
मंगलवारकै दिन माओवादीको युवा भातृ संगठन वाईसीएलले एक कडा विज्ञप्ति प्रकाशित गर्दै भन्यो, ‘नेता ढुङ्गेललाई तुरुन्तै रिहाई नगरिए देशभरिका ७७ जिल्लामा द्वन्द्वकालीन मुद्दाहरु ब्युँताएर घटनामा संलग्न नेपाली काँग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाईसीएल मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछ ।’ सरकारी रवैयाको कडा प्रतिक्रिया आयो । यसले मुलुकको दशा कतातिर जान खोज्दै छ ? सहजै अनुमान लगाउन सकिन्छ । घटनाक्रमका हिसावले ओखलढुङ्गाका एक जना माओवादी नेता ढुङ्गेल पक्राउ गरी जेल हालिएको छ, तर यो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हल गर्ने विषयसँग जोडिएको मुद्दा हो ।
यो संवेदनशील मोडमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले जे जसरी भए पनि संघ र प्रदेशको निर्वाचन सम्पन्न गरी ऐतिहासिक जस लिने बेला अर्को द्वन्द्वको बीउ छरेर देशमा भाँडभैलो सिर्जना गर्ने अवस्था निर्माण गरेका छन् । बालकृष्ण ढुङ्गेललाई पक्राउ गर्ने हो भने उनी यसै मंगलवार आएर नेपालमा भेटिएका होइनन् । समय छनोटका हिसाबले सरकारको नियत कालो छ । यसमा माओवादीका जिम्मेवार नेताहरुको सुझबुझपूर्र्ण व्यवहार कस्तो रहन्छ, त्यसमा पनि भर पर्दछ । अहिले जे जस्तो परिवेश तथा परिस्थिति निर्माण भएको छ, त्यसको धेरै जिम्मेवार सरकार नै हो भन्ने अवस्था सिर्जना भएको छ । यही तरिकाले देश लथालिङ्ग बनाउने हुन् भने प्रायः नेताहरु सार्वजनिक रुपमा सुरक्षित रहने छैनन् । यसपछि राजनीति गर्छु भन्नेहरुप्रति जनताको आक्रोश बढ्न गई परिणामस्वरुप अर्को तानाशाहको खोजी हुन जानेछ ।
यसैले विगतको द्वन्द्व राजनीतिक द्वन्द्व हो, यसका घाउहरुमा मलम लगाउनपट्टि नगई बल्झाउनतिर लाग्ने हो भने परिस्थिति नराम्ररी बिथोलिने छ । आज जसरी ढुङ्गेलले हत्या गरिएका व्यक्तिका परिवारले न्याय पाए भनेर भन्दै गर्नेहरुले पनि सोचौं । यसैगरी हत्या गरिएका, बेपत्ता पारिएका र अनावश्यक जेलनेल खेप्न परेकाहरुको परिवारजनले के भनीरहेका होलान् ? द्वन्द्वको घाउ कोट्याउने हो भने अर्को महाभारत निर्माण हुन सक्तछ । सामाजिक सञ्जाल र मिडियामा आएका सबै कुरालाई पत्याउने हो भने मान्छेमा भ्रम मात्र थोपरिन्छ । सरकार, राजनीतिक दल, नागरिक समाज र आम जनताले समयमै सोचौँ र पहल गरौ, संभावित भाँडभैलोबाट देशलाई बचाऔं । यसैले राजनीतिक द्वन्द्वको व्यवस्थापन गर्दा यस्ता प्रकरणमार्फत् अर्को द्वन्द्वको निम्तो बनाउन दिनु हुँदैन ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here